अझै खुलेन डिभी लोटरी २०२७, ढिलाईबारे के भन्छ अमेरिकी विदेश मन्त्रालय?


प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

सामान्यतया प्रत्येक वर्ष अक्टोबरको पहिलो साताबाट खुल्ने डिभी लोटरी यसपटक अझै खुलेको छैन । डिभी लोटरी २०२७ खुल्न नियमित भन्दा करिब दुई महिना ढिलो भइसक्दा पनि अमेरिकी विदेश मन्त्रालयले अझै दर्ता खुल्ने मिति घोषणा गरेको छैन भने ढिलाईको कारणबारे पनि प्रष्ट पारेको छैन । खसोखासले अमेरिकी विदेश मन्त्रालयसँग डिभी लोटरी खुल्नमा ढिलाई हुनुको कारणबारे जानकारी मागेको थियो ।

विदेश मन्त्रालयका प्रवक्ताले डाइभर्सिटी भिसा कार्यक्रम अमेरिकी कानुनद्वारा स्थापित भएकाले कानुनअनुसार अनिवार्य रूपमा सञ्चालन हुने जवाफ दिएका छन् । उनले यस वर्ष डिभी भर्ने प्रक्रियामा केही परिवर्तनहरू ल्याइँदै गरेको बताए। दर्ता मिति र अन्य विवरण तयार भएपछि अमेरिकी विदेश मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिने उनले खसोखासलाई जानकारी दिए ।

नभेम्बर ५ मा विदेश मन्त्रालयले डिभी २०२७ दर्ता ढिलाइ हुने औपचारिक घोषणा गरेको थियो। मन्त्रालयले प्रवेश प्रक्रियामा “केही परिवर्तन” लागू भइरहेको र त्यसकै कारणले यस वर्ष दर्ता सामान्य अक्टोबर सुरुआतमा खुल्न नसकेको जनाएको थियो। मन्त्रालयले नयाँ दर्ता मिति “जति सकिन्छ छिट्टै” घोषणा गरिने बताएको छ। साथै, नतिजा उपलब्ध हुने मिति पनि समयमै सार्वजनिक गरिने बताएको थियो ।

यद्यपि दर्ता ढिलाइ भए पनि विजेताहरुले भिसाका लागि आवेदन दिन पाउने एक वर्षे समयावधि भने परिवर्तन नहुने अमेरिकी विदेश मन्त्रालयले प्रष्ट पारेको छ । जुन अक्टोबर १, २०२६ देखि सेप्टेम्बर ३०, २०२७ सम्म रहनेछ । अर्थात् यो अवधिभित्र विजेताहरुले भिसा लिइसक्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिभी लोटरी सामान्यतया अक्टोबरको सुरुमा खुल्ने भएकाले यस वर्षको लामो ढिलाइले विश्वभरका लाखौँ सम्भावित आवेदकमा अनिश्चितता बढाएको छ। डिभी २०२६ का लागि दर्ता अक्टोबर २ देखि नोभेम्बर ७, २०२४ सम्म खुला थियो। डिभी २०२५ को दर्ता अवधि अक्टोबर ४ देखि नोभेम्बर ७, २०२३ सम्म र डिभी २०२४ को दर्ता अवधि अक्टोबर ५ देखि नोभेम्बर ८, २०२२ सम्म खुला थियो। २०१७ मा पनि प्राविधिक समस्याका कारण डिभी २०१९ को दर्ता अवधि पुनः सेट गर्नुपरेको थियो।

अक्टोबर महिनामा कन्सुलर अफेयर्स ब्युरोले डिभी २०२७ को दर्ता मिति आगामी महिनाहरूमा व्यापक रूपमा सार्वजनिक गरिने उल्लेख गरेको थियो। यही कुरा नोभेम्बरको भिसा बुलेटिनमा पनि दोहोरिएको थियो । तर घोषणा नजिकिएको हो वा सामान्य सूचनामात्र हो भन्ने विषयमा अझै स्पष्ट छैन।

डिभी २०२७ मा लागू भएको ठूलो परिवर्तन नयाँ १ डलर अनिवार्य इलेक्ट्रोनिक दर्ता शुल्क हो। यो शुल्क सम्बन्धी अन्तिम नियम सेप्टेम्बर १६, २०२५ मा फेडरल रजिस्टरमा प्रकाशित भएसँगै लागू भएको हो। मन्त्रालयका अनुसार यो शुल्कबाट वार्षिक करिब २५ मिलियन डलर संकलन हुने अनुमान छ। पहिले डिभी परेका आवेदकहरूले मात्र ३३० डलर आवेदन शुल्क तिर्नुपर्थ्यो, जसबाट सञ्चालन खर्च धानिन्थ्यो। नयाँ शुल्कले खर्च सबै आवेदकमा समान रूपमा बाँडिने मन्त्रालयको तर्क छ।

विश्वभर एकैसाथ इलेक्ट्रोनिक भुक्तानी प्रणाली सुरु गर्नु नै ढिलाइको संभावित कारण हुनसक्ने कानुन व्यवसायीहरुको अनुमान छ । न्यूयोर्कका अध्यागमन वकिल केशब सेडाईका अनुसार नयाँ इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्म लागू गर्न समय लाग्नु स्वाभाविक हो।

डिभी २०२७ को दर्ताका लागि पासपोर्ट अनिवार्य हुने सम्भावना न्यून छ। २०२५ अगस्टमा ट्रम्प प्रशासनद्वारा प्रस्तावित पासपोर्ट अनिवार्यताको नियम अहिले पनि समीक्षा प्रक्रियामा छ । प्रशासनिक तथा कानुनी समयरेखा अनुसार यो नियम यस चक्रमै लागू हुने अवस्था छैन। २०१९ मा जारी गरिएको पासपोर्ट अनिवार्यताको अन्तरिम नियमलाई अमेरिकी अदालतले खारेज गरिसकेको थियो भने २०२२ मा बाइडेन प्रशासनले औपचारिक रूपमा फिर्ता गरिसकेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com