गुठी विधेयक विरुद्ध प्रर्दशनमा उत्रिए, नेकपाकै नेताहरु
प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले आईतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाउनु भएको हो । सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उहाँले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिनु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गर्नु भयो । उहाँले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिनु भयो ।
समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाउनु भयो । उहाँले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।
अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो ।






