अमेरिकामा ‘अनुचित ‘सम्बन्धमा जोडिएपछि मुख्य फुटबल प्रशिक्षक बर्खास्त
प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार
अमेरिकाको मिशिगन विश्वविद्यालयले आफ्ना मुख्य फुटबल प्रशिक्षकलाई बर्खास्त गरेको छ।
मिशिगन विश्वविद्यालयले मुख्य फुटबल प्रशिक्षक शेरोन मूरलाई “कर्मचारीसँग अनुचित सम्बन्धमा संलग्न भएको आरोप लगाउँदै” पदमुक्त गरेको घोषणा गरेको हो।
विश्वविद्यालयले जारी गरेको वक्तव्यमा आन्तरिक अनुसन्धानपछि प्रशिक्षक मूरले एकजना स्टाफ सदस्यसँग अनुचित सम्बन्ध कायम गरेको विश्वसनीय प्रमाण भेटिएको उल्लेख गरेको छ।
“यो आचरणले विश्वविद्यालयको नीतिलाई स्पष्ट रूपमा उल्लङ्घन गर्छ, र यस्ता व्यवहारप्रति विश्वविद्यालयको शून्य सहनशीलता छ,” वक्तव्यमा उल्लेख छ।
मूर २०२४ मा जिम हारबफका उत्तराधिकारीका रूपमा मिशिगन वल्भरिन्सका मुख्य प्रशिक्षक बनेका थिए। उनी इतिहासमा पहिलो अश्वेत मुख्य प्रशिक्षक बनेका थिए। तर उनका लागि यात्रा भने सामान्य कहिल्यै पनि रहेन।
२०२३ मा हारबफलाई दुईपटक निलम्बन गरिएपछि मूरले कार्यवाहक मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी लिएका थिए।
उनले पेन स्टेट, मेरिल्यान्ड तथा नम्बर २ ओहायो स्टेटविरुद्ध नाटकीय जित दिलाउँदै तीनै खेलमा टोलीलाई विजय दिलाए।
पोस्ट–सिजनमा हारबफ फिर्ता आएपछि मूर अफेन्सीभ कोअर्डिनेटरका रूपमा फर्किएका थिए। उनले मिसिगनलाई राष्ट्रिय उपाधि जिताउन सहयोग गरे।
कलेज फुटबलमा प्रशिक्षकहरूको ‘क्यारोसेल’ (एकपछि अर्को परिवर्तन) बाट गुज्रिरहेको बेला उनको बर्खास्तीको घोषणा भएको हो।
मूरको नेतृत्वमा वल्भरिन्सले यो सिजन ९–३ को रेकर्ड बनाएको थियो।
नयाँ प्रशिक्षक नियुक्त नहुँदै, मिशिगनले नयाँ वर्षको अघिल्लो दिन टेक्सास विश्वविद्यालयसँग सिट्रस बाउल खेल्ने तयारी गरिरहेको छ।






