गैरकानुनी कृयाकलाप गर्नेलाई सामान्यतया जनता भन्दैनौं : गृहमन्त्री
प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार
गृहमन्त्री रामबहादुर थापाले आइतबार विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको दोहोर्याएका छन् । प्रतिनिधिसभाको सोमबार भएको बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै थापाले भने, ‘विस्फोटमा मारिने सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो । ती जनता होइनन् । ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो ।’
उनले राजधानीमा भएका दुई ठाउँमा बम बनाउने क्रममा प्राविधिक त्रुटीले विस्फोट हुँदा चार जनाको ज्यान गएको अनुसन्धानबाट देखिएको बताए । मारिनेहरु गैह कानुनी र अपराधीक क्रियाकलापसँग सम्बन्धित भएको उनले स्पष्ट पारे । ‘त्यसकारणले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौ,’ उनले भने, ‘उनीहरु घटनासंग सम्बन्धीत् व्यक्ति नै हुन् । ती सामान्य नागरिक होइनन् । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’
उनले सरकार र विप्लव समुहबीच साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्न नाजायज भएको बताए । उनले प्रश्नलाई उल्टाएर हेर्दा ती प्रश्नहरुको सम्बन्ध प्रश्नकर्ता तर्फ त छैन भन्दै प्रतिप्रश्न गरे ।
उनले समस्याको समाधान शान्तिपूर्ण गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै कानुन मिच्ने, जनतालाई आतंकित पार्नेजस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।
उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दाबी गरे । सरकार गठन गर्नु अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको उनको भनाई थियो ।
गृहमन्त्रीको जवाफमा कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाए । उनले आइतबारको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने गैह् जिम्मेवारी शब्द प्रयोग प्रति आपत्ति जनाउँदै सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गरे । लगत्तै सभामुख कृष्णबहादुर महराले सो बारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो ।






