अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइयो
प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार
Photo by Khasokhas
अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइएको छ । बिहीबार बोस्टनको फ्यानुएल हलमा अमेरिकाको नागरिकता लिने लामो यात्राको अन्तिम चरणशपथ लिने बेलामा सरकारी अधिकारीहरूले आप्रवासीहरूलाई अचानक लाइनबाट हटाएका हुन् ।
अमेरिकी नागरिकताका लागि पहिले नै आवेदन स्वीकृत भइसकेकाहरु लाइनमा उभिँदा युएससीआइएएसका अधिकारीहरूले आप्रवासीहरुलाई उनीहरु जन्मेको देशका कारण सपथ दिलाउन नसक्ने जानकारी दिएका थिए । युएससीआईएसले आफ्ना कर्मचारीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा अन्तर्गत यात्रा प्रतिबन्धहरूको सामना गरिरहेका १९ देशका नागरिकहरूका लागि सबै अध्यागमन आवेदनहरू रोक्न निर्देशन दिएपछि लाइनबाट व्यक्तिहरूलाई हटाइएको थियो । ट्रम्प प्रशासनले यी धेरैजसो अफ्रिकी र एशियाली राष्ट्रहरूको सूचीलाई उच्च जोखिमयुक्त भनी तोकेको छ।
केही आप्रवासीहरुले शपथ समारोह र अन्य अप्वाइन्टमेन्ट रद्द भएको सूचना प्राप्त गरेपनि त्यस्ता सूचनाहरु धेरै ढिलो आएका थिए। बोस्टनमा पूरै समारोह रद्द भने गरिएको थियो । केबल १९ देशमध्येबाट पर्ने आप्रवासीहरुलाईमात्र लाइनबाट हटाइएको थियो । देशभरका नागरिकता सपथ समारोहहरूमा यस्तै दृश्यहरु देखिएको जनाइएको छ । २००० को दशकको सुरुदेखि ग्रीन कार्डवाहक भएकी एक आप्रवासीले समयमै रद्द भएको सूचना प्राप्त नगरेकाले शपथ समारोहमा गएको तर आफूलाई लाइनबाट हटाइएको बताएकी थिइन् ।
हैटी, अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलासहित १९ देशहरू पूर्ण वा आंशिक प्रतिबन्धहरूको सामना गरिरहेका छन्। लाइन लागेकाहरुलाई अधिकारीहरूले उनीहरू कुन देशबाट हुन् भनेर सोधिरहेका थिए । यदि उनीहरूले कुनै निश्चित देशको नाम लिए भने उनीहरूलाई लाइनबाट बाहिर निस्कन भनिएको थियो भने उनीहरूको शपथ समारोह रद्द भएको बताइएको थियो ।
मानिसहरू अत्यन्त दुःखी भएका थिए भने निकै डराएका थिए । अधिकारकर्मीहरुले यी घटनालाई अनावश्यक रूपमा क्रूर भनी वर्णन गरेका छन् । नागरिकता आवेदन स्वीकृत भइसकेकाहरुको समेत अन्तिम चरण रद्द गर्नु अनावश्यक रूपमा क्रूर रहेको उनीहरुको भनाई छ । युएससीआईएसले मंगलबार डिसेम्बर २ मा जारी गरिएको एउटा मेमोमा ग्रिनकार्ड र नागरिकता लगायतका आवेदनहरू रोक्ने घोषणा गरेको थियो।
ूयुएससीआईएसले यो निर्देशनले केही विचाराधीन आवेदनहरूको निर्णयमा ढिलाइ गर्न हुनसक्ने उल्लेख गरिएको थियो । साथै एजेन्सीको लागि आवेदकहरूलाई अधिकतम हदसम्म जाँच र स्क्रिन गर्ने तत्काल आवश्यकता भएकाले त्यस्तो ढिलाइका तुलनामा जाँच नै महत्वपूर्ण रहेको बताइएको थियो । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले ट्रम्प प्रशासनले नागरिक बन्ने व्यक्तिहरू उत्कृष्टभन्दा उत्कृष्ट भएको सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको बताएका छन् । उनले अमेरिकी नागरिकता एक सुविधा भएको र अधिकार नभएको उललेख गर्दै अमेरिकाको भविष्य दाउमा भएकाले कुनै जोखिम नलिने बताएका थिए ।






