आइसको पालना गर्नु नपर्ने भन्दै नवनिर्वाचित मेयर माम्दानीद्वारा आप्रवासी न्युयोर्कवासीका अधिकारबारे भिडियो जारी


प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान माम्दानीले अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सी (आइस) का एजेन्टहरूसँग कुरा गर्न वा उनीहरूको आदेश पालना गर्न अस्वीकार गर्ने आप्रवासीहरूले पाउने अधिकारबारे जानकारी दिँदै आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन्। यो भिडियो संघीय एजेन्टहरूले म्यानहटनमा छापा मारेको केही दिनपछि प्रकाशित भएको हो।

भिडियोमा माम्दानीले सहरका करिब ३० लाख आप्रवासीको संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै, आफ्ना अधिकारबारे जानकारी भएमा सबै मिलेर आइसको सामना गर्न सकिने बताएका छन्। उनले अमेरिकामा रहेका मानिसहरूले संघीय अध्यागमन एजेन्टहरूसँग नबोली मौन बस्ने अधिकार प्रयोग गर्न सक्ने, उनीहरूको काममा बाधा नपुर्‍याई भिडियो खिच्न सक्ने र निजी स्थानमा प्रवेश गर्नका लागि गरिएको उनीहरूको अनुरोध अस्वीकार गर्न सक्ने स्पष्ट पारेका छन्। माम्दानीका अनुसार न्यायाधीशद्वारा हस्ताक्षर गरिएको वारेन्टबिना आइस एजेन्टहरू घर, विद्यालय वा कार्यस्थलको निजी क्षेत्रमा प्रवेश गर्न सक्दैनन्।

जनवरी १ मा मेयरका रूपमा शपथ लिन लागेका माम्दानीले आइसलाई कानुनी रूपमा आप्रवासीहरूलाई झूट बोल्ने अनुमति रहेको भन्दै, आप्रवासीहरूलाई मौन बस्ने अधिकार प्रयोग गर्न आग्रह गरेका छन्। नियन्त्रणमा लिइँदै गर्दा पनि उनीहरूले ‘के म जान स्वतन्त्र छु?’ भनेर बारम्बार सोध्न सक्ने उनले बताएका छन्।

उनको यो टिप्पणी न्युयोर्कको चाइनाटाउन नजिक क्यानल स्ट्रिटमा आइसले मानिसहरूलाई नियन्त्रणमा लिने प्रयासपछि प्रदर्शनहरूले तातेको एक हप्ता नबित्दै आएको हो। गत अक्टोबरमा पनि सोही क्षेत्रमा भएको यस्तै अध्यागमन कारबाहीको विरोधमा आन्दोलन भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माम्दानीले आइतबारको भिडियोमा न्युयोर्क सधैं आप्रवासीहरूको स्वागत गर्ने सहर भएको भन्दै, आफू आप्रवासी दिदीबहिनी र दाजुभाइहरूको संरक्षण, समर्थन र सम्मानका लागि हरेक दिन लड्ने बताए। यसअघिका हप्तामा माम्दानीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा अचम्मलाग्दो रूपमा सौहार्दपूर्ण भेट गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com