सरकारले संसदमा पेश गरेको विधेयक फिर्ता हुदैन् :अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिईरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाउनु भएको हो ।

उहाँले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पार्नु भयो । कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि स्मरण गराउनु भयो ।
)
कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदमा पेश गरिएका सबै विधेयक संविधान र अन्तराष्ट्रिय मान्यता विपरित हुने गरी नल्याएको दावी गर्नु भयो । उहाँले संचार क्षेत्रको समृद्धि हुने गरी आएको मिडिया काउन्सिल सम्बन्धि विधेयकलाई विरोध गर्नेहरु एनजीओ र आईजीओबाट परिचालित भएको आरोप पनि लगाउनु भयो ।

कार्यक्रममा अध्यक्ष दाहालले पत्रकार तथा लेखक सूर्य थापालाई ५० हजार नगदसहितको ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ र पत्रकार चन्द्रमान श्रेष्ठलाई २५ हजार नगदसहित ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्नु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com