खोटाङकाे विद्यालयमा कुटो-कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिइन्छ


प्रकाशित मिति : १९ माघ २०७३, बुधबार

विद्यालय भन्नेबित्तिकै बिहान बेलुका घरको काम भ्यायो, दिउँसो कक्षामा सरहरुले पढाएको किताबको पाठ पढ्यो र फक्र्यो । बेलुका घरमा आएर गृहकार्य ग¥यो अनि फेरि भोलिपल्ट विद्यालय गएर सरलाई बुझायो ।

नेपालको शिक्षा नीति यसैको परिधिभित्र रुमल्लिएको छ । अहिलेको पुस्ताले आर्जन गरेको शिक्षा किताबी ज्ञानमा मात्र सीमित छ, व्यावहारिक छैन । देशविदेशका ठूल्ठूला शिक्षाविद्ले लेखेका पुस्तक पढ्यो, अन्त्यमा पढायो–पढायो पाठ, सोह्र दुना आठ…भन्ने उखान मै चरितार्थ हुनपुग्छ । धेरैले भन्ने गर्छन्, नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना मात्र हो ।

हुन पनि हो, प्राथमिक तहदेखि उच्च शिक्षासम्म हासिल गरेका एउटा विद्यार्थीले काम कसरी गर्ने ?, प्रक्रिया के के हुन् ? कसरी काम गर्दा नयाँ/नयाँ वस्तुको आविष्कार गर्न सकिन्छ ? भनेर कहिल्यै सिकेका हुँदैनन् । यही पुरातन शैलीको शिक्षाका कारण आज लाखौँ युवाशक्ति विदेश पलायन हुनुपरेको छ । तर, पछिल्लो समय जिल्लामा एउटा यस्तो विद्यालय स्थापना भएको छ कि जहाँ कुटो कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिइन्छ ।

दुई वर्षअघि विद्यार्थी नभएर खारेजीमा परेको दिक्तेल नगरपालिका–५ सोल्मास्थित जनजागृति प्राविमा व्यावहारिक शिक्षा दिन थालिएपछि उदाहरणीय विद्यालयका रूपमा परिणत भएको छ । अहिले उक्त विद्यालयमा पुग्दा सबै विद्यार्थी आ–आफ्नै काममा व्यस्त हुन्छन् । कोही खेतीकिसानी, कोही कम्प्युटर, कोही डकर्मी त कोही आरनमा व्यस्त रहेका हुन्छन् । इन्जिनियर, पाइलट, प्रोफेसर, धनी, गरिब, कर्मचारी, नेता, कलाकार, दैवीप्रकोपमा परेका व्यक्तिलगायतका छोराछोरी अध्ययन गर्ने विद्यालयको नाम राखिएको छ ‘नयाँ विद्यालय’ । नयाँ विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने ५० जना शिक्षकले अध्यापन गराइरहेका छन् ।

काठ चिर्ने मेशिनमा धार लगाउन सिक्दै

काठ चिर्ने मेशिनमा धार लगाउन सिक्दै

व्यावहारिक शिक्षा दिइने विद्यालयका भित्तामा लेखिएको छ ‘कोदालोमा क्रान्ति, कलममा क्रान्ति, कम्प्युटरमा क्रान्ति’ । ‘ध्यान दिएर सुनौँ, नियालेर हेरौँ…, काममुखी शिक्षा, शिक्षामुखी विकास…, मानवद्वारा सिर्जित दिसा, पिसाब र पसिना बिरुवाका लागि अति राम्रो
खाना हो…, हुलको हैन रुलको शासनमा मरिमेटौँ… आदि ।’

विद्यालयको भित्तामा यसरी लेखिएका नारा पढ्नेबित्तिकै कमै मानिस मात्र प्रभावित नहोलान् । विद्यालयमा पुग्ने अधिकांशले विद्यालय सञ्चालकलाई सोध्ने गरेका छन्, “यी विद्यार्थीले पढ्नुपर्दैन ?, कतिबेला पढ्छन् ?, उत्तीर्ण हुनलाई परीक्षा दिनुपर्दैन ?” तर, कुरा अर्कै रहेको छ । उनीहरुले जुन काम गरिरहेका हुन्छन्, त्यो उनीहरुको व्यावहारिक शिक्षा हुन् । त्यहाँ अध्ययन गर्ने विद्यार्थी कोही असफल हुँदैनन् । उनीहरु अन्य विद्यालयका विद्यार्थीभन्दा सैद्धान्तिक विषयमा पनि अब्बल छन् ।

विद्यालयका सञ्चालक सूर्यबहादुर राई भन्नुहुन्छ – “सरकारी विद्यालयमा पढाइने शिक्षा र यहाँको शिक्षामा आकाशपातालको फरक छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले चौबीसै घन्टा सबैखाले शिक्षा लिन्छन् । तर, त्यो शिक्षा बेरोजगारी शिक्षा भएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले कामसँगै शिक्षा लिन्छन्, उनीहरुले भविष्यमा बेरोजगार बस्नुपर्ने अवस्था हुन्न ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तत्कालीन अवस्थामा तीन शिक्षकको दरबन्दी भएको त्यस विद्यालयमा सात जना मात्र विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेज गरेको थियो । बाह्र वर्षपछि खोला पनि फर्किन्छ भन्ने उखान झँै समयले यसरी कोल्टे फे¥यो कि उक्त विद्यालयमा पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला हुम्लासम्मका ३२ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

विसं २०६१ बाट शैक्षिक गतिविधि सुरु गरेको विद्यालयमा अहिले १५० जना विद्यार्थी रहेका छन् । उनीहरुका लागि बिना शुल्क आवासीय सुविधासमेत व्यवस्था छ । अभिभावक र विद्यालय व्यवस्थापन समितिको मेहनतले यतिखेर कुटो कोदालोदेखि कम्प्युटरसम्मको दिने विद्यालयका रूपमा नाम कमाएको छ । खारेजीमा परेको विद्यालय अभिभावकको पहलमा विद्यार्थी खोजी गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले त्यस विद्यालयमा शिक्षाप्रेमी तथा अभियन्ता सूर्यबहादुर राई व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् ।

                              विद्यार्थी कुचो बुन्ने अभ्यास गर्दै

“विद्यालयमा जमिन, जङ्गल र जलसम्मको पठनपाठन हुन्छ,” अध्यक्ष राईले भन्नुभयो – “विद्यार्थीलाई बारीमा गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ । खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ । यसो गर्दा विद्यार्थीले कहिल्यै भुल्दैनन् ।”

विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप गर्न एक हजार २०० रोपनी जग्गा उपलब्ध गराइएको छ । तलदेखि माथिसम्म औद्योगिक क्षेत्र जस्तै देखिने विद्यालयमा विद्यार्थी–विद्यार्थी मिलेर आन्तरिक आयस्रोत बढाउन कुखुरा फार्मसमेत खोलिएको छ ।

विद्यालय परिसरभित्रै विभिन्न जातका हाँस, कुखुरा, परेवा, सुँगुर, बाख्राखसी, गाईभँैसी, घोडाजस्ता पशुपक्षी पालिएका छन् । तिनीहरुको हेरचाह विद्यार्थी आफैँले रुटिङअनुसार गर्ने गरेका छन् । यतिसम्म कि उनीहरु गाडी चलाउन, बिग्रेका गाडी आफँै बनाउन, त्यहाँ चाहिने विभिन्न औजार आफैँ बनाउन सक्छन् ।

विद्यालयमा आर्थिक स्थिति निम्न भएका र भूकम्पपीडितलाई विशेष प्राथमिकता दिएर भर्ना गरिएको सञ्चालक समितिले जनाएको छ । त्यहाँ अध्ययनरत विद्यार्थी सबै खुसी छन् । तीन वर्षअघिदेखि त्यहाँ अध्ययनरत डोल्पाका अति विपन्न परिवारका टेकबहादुर खाती भन्छन् – “हाम्रा लागि सीपसँगै शिक्षा आर्जन गर्न अत्यन्तै सहज भएको छ । अहिले म कक्षा ६ मा अध्ययन गर्छु । मेरा लागि स्वर्गमा पुगे जस्तो भएको छ ।”

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताउनुभयो । “पाठ्यक्रमकै आधारमा कृषि, पशुपक्षी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने विधि अपनाइएको पाइयो,” उहाँले भन्नुभयो – “यहाँको शिक्षण विधि अपनाउने हो भने शैक्षिक क्षेत्रमा परिवर्तन गर्न धेरै समय लाग्दैन ।”

विद्यालयको शिक्षकमध्ये सरकारी दरबन्दीमा अहिले प्रावि तहका एक जना (सविता ढकाल) मात्र छन् । विद्यालय सञ्चालनका लागि कृषिविज्ञ मदन राईले खोल्नुभएको शुभम् फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।

विद्यार्थीका लागि हरेक शुक्रबार साँझ ‘गुड फ्राइडे’ भनेर साङ्गीतिक, सांस्कृतिक, साहित्यिक तथा मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ । विद्यार्थीले आयोजना गर्ने कार्यक्रममा केन्द्र तथा जिल्लास्तरका राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुख पनि बेलाबेला सहभागी हुने गरेका छन् । तस्बिर : केदार मगर/खोटाङ, रासस

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com