अमेरिकामा एसाइलम आवेदकलाई धरौटीमा छाड्ने १४ बर्षदेखिको अभ्यास अन्त्य, अब जेलमै बस्नुपर्ने
प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

अमेरिकामा सिमाक्षेत्रबाट विनाकागजात प्रवेश गरेका एसाइलम आवेदकलाई अदालती सुनुवाईसम्मका लागि धरौटीमा रिहा गरिने १४ बर्षदेखिको अभ्यास अन्त्य गरिएको छ । अब एसाइलम आवेदकले अदालती सुनुवाईसम्म अध्यागमन जेलमा नै बिताउनुपर्ने भएको छ । नयाँ रुलिङको कार्यान्वयन भने ९० दिनपछि हुने भएको छ । अध्यागमन हिराशतमा धेरै आप्रवासीहरुलाई राख्ने क्षमता आइससँग नभएकाले बिस्ताराका लागि थप स्थान बनाउनका लागि यो समय प्रदान गरिएको जनाइएको छ ।
अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले खसोखाससँग कुरा गर्दै भन्नुभयो –‘महान्यायाधिवक्ताको मंगलबारको रुलिङले सिमाक्षेत्रबाट विनाकागजात प्रवेश गरेर एसाइलम दावी गर्ने एसाइलम आवेदकलाई धरौटीमा छाड्ने पुरानो प्रावधानलाई उल्टाइदिएको छ । सिमाक्षेत्रबाट विना कागजात प्रवेश गरेका एसाइलम आवेदकहरुले एसाइलमको मुद्दा अध्यागमन जेलमा नै बसेर लड्नुपर्नेछ ।’
अमेरिकामा सन् २००५ भन्दा अगाडि मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलम दावी गर्नेहरुलाई धरौटीमा छाडिने प्रावधान थिएन । तर सन् २००५ मा बोर्ड अफ इमिग्रेशन अपिलले गरेको एउटा फैसलापछि सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलमको दावी गर्ने कागजपत्रविहिनहरुलाई धरौटीमा रिहा गर्न थालिएको थियो ।
सन् २००५ अगाडि अमेरिकामा दुईबर्षभन्दा धेरै बसेको व्यक्ति सिमाक्षेत्रको एकसय माइलभन्दा पर पक्राउ परेमामात्र अदालती सुनुवाई पूरा नहुँदासम्म धरौटीमा रिहा हुनसक्ने प्रावधा रहेको थियो । अब झण्डै १४ बर्षपछि अब अमेरिकामा त्यही प्रावधान उल्टिएको छ ।
श्रेष्ठले भन्नुभयो –‘सिमाक्षेत्रबाट पक्राउ पर्नासाथ व्यक्तिलाई तीब्र प्रकृयाको देशनिकालाको प्रकृयामा राखिन्छ । त्यसपछि उसँग एसाइलम अफिसरले क्रेडिबल फियर अन्तरवार्ता लिन्छन् । उक्त अन्तरवार्ता सकारात्मक भएमा नोटिस टु अपियर जारी गरेर अदालतमा एसाइलमको मुद्दा चलाइन्छ । एसाइलमको मुद्दा अदालतमा सुरु भएपछि एसाइलम आवेदक धरौटीमा रिहा हुनसक्ने प्रावधान थियो । तर अब त्यो प्रावधान समाप्त भएको छ ।’
महान्यायाधिवक्ताको रुलिङको पूर्ण पाठ यहाँ पढ्नुहोला ।
अमेरिकी कानुन अनुशार अध्यागमन न्यायाधिसको फैसलालाई महान्यायाधिवक्ताले उल्टाउनसक्ने प्रावधान रहेको छ । विगतमा एसाइलमको सुनुवाई कुर्नेलाई बण्डमा रिहा गरिदै आएपनि महान्यायाधिवक्ताले त्यसलाई उल्टाइदिएका छन् ।
सन् २००५ मा यो फैसलापछि अदालती सुनुवाईसम्मका लागि धरौटीमा रिहा गर्न थालिएको थियो ।
अमेरिकाका विना कागजात प्रवेश गरेकाहरुलाई सुरुमा शीघ्र प्रकृयाको देशनिकालामा राखिन्छ । क्रेडिबल फियर अन्तरवार्ताका क्रममा यदि उनीहरुले एसाइलम अफिसरलाई आफ्नो देशमा फर्कन खतरा रहेको चित्त बुझाउन सकेमा उसको मुद्दा न्यायाधिससमक्ष पेश हुने अवशर प्रदान गरिन्छ । यही प्रकृयाका क्रममा बण्ड सुनुवाईको आग्रह गरेमा त्यस्तो सुनुवाई प्रदान गरिने र अदालती सुनुवाईसम्मका लागि बण्डमा रिहा गरिदै आएको थियो ।
तर अब यो प्रकृयालाई महान्यायाधिवक्ताले उल्टाएका कारण एसाइलमको सुनुवाई कुर्नेहरु जेलमै बस्नुपर्ने भएकोछ । यद्यपी १८ बर्षभन्दा कम उमेरका बच्चाबच्चीसहितका परिवारका सन्दर्भमा भने यो नियम लागु हुनेछैन । किनभने संघीय अदालतको फैसलाले बालबालिकालाई २० दिनभन्दा धेरै हिराशतमा राख्नमा रोक लगाएको छ ।
अमेरिकाको अध्यागमन जेलहरुमा हाल झण्डै ३ सय नेपालीहरु रहेका छन् । कैयन नेपालीहरु बण्डमा समेत रिहा भएर एसाइलमको सुनुवाई कुरिरहेका छन् ।