सुकुम्बासी समस्या समाधान हुँदैछ – अध्यक्ष प्रचण्ड
प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।
चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिए । अध्यक्षले भने, ‘माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको छ ।’
उनले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्ने देखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, ‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ । पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरु पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ । यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मिहेनत गर्नुपरेको छ ।’
स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र राप्रपाबाट नेकपामा प्रवेश गर्नेहरुलाई टीका तथा हसिया हतौडा अंकित टोली लगाएर पार्टीमा प्रवेश गराएका थिए ।