अमेरिकामा प्रचण्डको विरोध गर्ने नाममा नेपाली समुदायकै बदनाम गर्नेहरु
प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

– राधाकृष्ण देउजा
नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा उनकी जीवन संगिनी सिता दाहालको स्वास्थ्य परिक्षण गराएर नेपाल फर्किरहेका छन् । हुन त आफ्नो जीवनसाथीको उपचार गराउन सम्भव सवै उपाय गर्नु सामान्य विषय हो र हुनुपर्ने हो तर प्रचण्डको हकमा चाहिं श्रीमतीको स्वास्थ्य उपचारको निम्ती गरिएका अक्सर सबै जस्ता भ्रमणहरु उनि विरुद्ध प्रहार गर्ने माध्यम बन्दै आएका छन् ।
झन यसपटकको अमेरिका भ्रमणमा त उनले केहि वर्ष अगाडीनै हिंशात्मक युद्ध छोडेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको , जनताको मतबाट निर्वाचित भएको र नेपालको कुनै अदालतमा उनको विरुद्ध मुद्दा नरहेको अनि उनी विरुद्ध कुनै फैसला नभएको सत्य समेतको व्यवास्ता गर्दै बिभिन्न वहानामा उनलाई थुन्न नै सकिन्छ कि भन्ने कोरा कल्पना सहितको कोशिसलाई आधार मानेर व्यापक अफवाह फैल्याउने काम समेत भएको देखियो ।
त्यति मात्रै नभएर तथ्यहरु नहेर्ने , स्थापित विधि र अभ्यास नहेर्ने अनि हल्लालाइ नै सत्य मान्ने ठुलो पङ्क्ति पुष्पकमल दाहाल पक्राउ पर्नेनै भएछन कि भन्नेमा परेको बुझ्न गार्हो थिएन । उनका समर्थक शुभेच्छुकमा देखिएको चिन्ता अनि विरोधीहरुमा देखिएको हर्षले त्यही संकेत गर्थ्यो । अनि नेपालको कुटनीतिक संयन्त्र देखि राजकीय निकायहरु चलेको हल्लाजस्तो अवस्था नरहेको र नभएको जानकारी गराउन नसकिरहेको मात्रै हैन , अध्ययन र अनुसन्धान सहितको ब्याख्या गर्दै सत्य कुरो राख्न समेत सकिरहेका थिएनन् । बरु उनिहरुको गतिविधिले आफैंमा अन्योलमा भएको झल्को दिन्थ्यो ।
धन्न त्यही नालायकी र असक्षमता बुझेर होला अमेरिकी दुतावासले आफ्नो श्रीमती उपचारार्थ अमेरिका पुगेका पुष्पकमल दाहाल विरुद्ध कुनै अनुसन्धान गर्नु पर्ने नभएकोले कहीं कतै पक्राउ नपर्ने भनेर स्पष्टिकरणनै सार्वजनिक गर्नु पर्यो । यसो भैरहँदा स्वयं पुष्पकमल दाहाललाइ के फरक पर्यो वा पार्यो त्यो त थाहाभएन तर समग्र नेपाली समुदायको छवि भने राम्रो बन्न पक्कै सकेन ।
अफवाह अनि कुप्रचारको शृंखला यतिकैमा रोकिएन बरु त्यो अविवेक र असंवेदनशिलता तर्फ अगाडी बढेको समेत देखियो , त्यसले मानवीयताको घेरा समेत तोडेको प्रष्ट थियो । हो जे जसरी अविवेकी, असंवेदनशिल प्रतिक्रियाहरु आएका देखिए त्यसले समग्र नेपाली चिन्तनको प्रतिनिधित्व गर्दैन , त्यसले त अत्यन्त सानो पङ्क्तिको मात्रै प्रतिनिधित्व गर्छ तर दुखका साथ भन्नुपर्छ त्यो सानो पङ्क्तिले चलाएको अविवेकी अफवाहको खेतिले समग्र नेपाल र नेपालीको परिचयलाइ नै नकारात्मक ढंगले प्रभावित पारिरहेको छ ।
कतिपयलाइ लाग्न सक्छ किन यस्तो भनिएको होला ? के कसैको वारेमा आक्रोश व्यक्त गर्न नपाउनु , विरोध गर्न नपाउनु भन्ने पनि लाग्न सक्छ । त्यस्तो विल्कुल हैन , विरोध गर्न पाइन्छ , आलोचना गर्न पाइन्छ अझै राज्य संचालकहरुको त हरेक गतिविधिहरुमा प्रश्न उठाउन पाइन्छ । तर कोहि कसै प्रति गरिने सवालहरु आधारहीन हुनुहुदैन, आरोपहरु तथ्यहीन हुनुहुदैन अनि दुरासयबाट ग्रस्त हुनुहुदैन । पुष्पकमल दाहालको यो भ्रमणको बारेमा पनि मनमा आएजत्तिका सवाल गर्न पाइन्छ, उनि स्वयं वा उनि सम्वद्ध दलले हिजो गरेका , अहिले गरिरहेका वा भोलि गर्ने कामहरुको बारेमा पनि आलोचना , विरोध गर्न पाइन्छ र पाउनु पर्छ ।
हिजो हिंशात्मक युद्धको दौरान भए गरेका घटना उचित थिएनन, १७ हजार नेपाली जनताको रगत बग्ने अवस्था बन्नु राम्रो थिएन भन्ने विषय त कसैलाइ नभन्दा पनि आफैं स्थापित सत्य हो , र त्यत्रो मानिसहरुको मृत्यु अनुचित र अपुरणीय हो । त्यसको विरोध हुनु सामान्य रुपमा नै लिनुपर्छ भने त्यसको दौरान विभिन्न ढंगले पिडित भएकाहरुको आक्रोशलाइ सामान्य मान्नु पर्छ तर त्यो सबै गर्दा पनि केहि तथ्यहरु भुल्नु हुदैन । हिंशात्मक द्वन्द्धको सुरुवातको जस अपजसको जिम्मेवार प्रचण्ड हुन त्यसैगरि हिंशाको बाटोबाट शान्तिपूर्ण राजनीति तर्फ आफ्नो पङ्क्तिलाइ ल्याउने विषयको जस पनि प्रचण्डलाइ नै जान्छ ।
त्यसभन्दा महत्वपूर्ण अर्को सत्य के हो भने नेपालले अर्को द्वन्द्ध धान्न सक्दैन अनि नेपालीहरुले अरु रक्तपात सहन गर्न सक्दैनन तर त्यसो नहुन शान्ती विरोधीहरु प्रति खवरदारी जति जरुरी छ । त्यतिनै जरुरी हुन्छ युद्धबाट शान्ती तर्फ आएकाहरुको संरक्षण र सुरक्षाको प्रत्याभूति । यद्धपि यसको मतलव कथित युद्धको नाममा निर्दोष र निहत्थाहरुको कत्लेआममा प्रत्यक्ष सहभागी अपराधीहरुले उन्मुक्ति पाउनु पर्छ भन्ने चाहिं बिल्कुल हैन । तर हिंशात्मक युद्ध छोडेर शान्तिपूर्ण राजनीतिमा वैधानिक रुपमा अवतरण गरिसकेका , कहीं कतै मुद्दा परेको वा विरुद्धमा फैसला नभएको अवस्थामा कसैलाइ थुन्नै पर्छ भन्ने भनेको चाहिं केवल अराजकता हो ।
गलत गरेका छन भने पुष्पकमल दाहाल हुन , केपी ओली हुन शेरबाहादुर हुन वा अरु कोहि कसैलाइ छोडनु हुदैन । आलोचना गरिनु पर्छ , भण्डाफोर गरिनुपर्छ । तर त्यसो गर्न हुँदै नभएको तर्क , बनावटी तथ्य प्रमाण पेश गर्ने काम चाहिं अनुचित हुन्छ । अहिलेनै पनि स्वास्थ्य उपचार भ्रमणमा आएर डिसी , बाल्टिमोर , न्युयोर्क र बाटोमा पर्ने अन्य राज्यमा नगएका प्रचण्ड र उनकी अस्वस्थ श्रीमती सम्भवत केही बर्ष पहिले सिंगापुरको यूनिभर्सल स्टुडियो अगाडी उभिएको तस्विरलाई लस एन्जलस घुमेको जस्तो थरी सामाजिक संजालमा हालेर भ्रम फैल्याउने कोशिस गरियो ।
उक्त तस्विर र तत सम्वन्धि सामग्री बनावटी भन्ने राम्रोसंग बुझेको पंक्तिकारले स्वयं पनि सिता दाहालको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने अनुमान गर्न सकको थिएन । जव उनि नेपाल फर्कँदै गर्दा न्युयोर्कको जोनएफ केनडी विमानस्थलमा उनलाइ देखियो तव सोचेको , देखेको र अनुमान गरेको भन्दा उनको स्वास्थ्य गम्भीर रहेको बुझ्न गार्हो थिएन । छोटो अवधिमा दुइटा सन्तान गुमाउनुको पिडाबाट गुज्रियेकी एक आमाको जिर्ण शरीर देख्दा जति दुख लाग्यो , त्यो भन्दा दुख राम्ररी बोल्न , हिडन समेत असहज हुने एक अस्वस्थ महिलालाइ मोजमस्ती गरेर हिंडेको भनेर कुप्रचार गराउन उद्धत हुने हाम्रो संस्कार देखेर सम्झेर दया लाग्यो ।
भ्रम , अफवाह र कुतर्कको खेति गर्ने अनि त्यसैलाई देश प्रेम, सकारात्मकता अनि नैतिकता ठान्नेहरुलाइ सोध्न मन लाग्यो, कसैले यस्तै अविवेकी टिप्पणी , भ्रमपूर्ण प्रचार आफु र आफ्नाको विरुद्ध गरे के होला ? अझै अर्को प्रश्न पनि सोध्न मन लाग्यो, पुष्पकमल दाहाल र सिता दाहाल यूनिभर्सल स्टुडीयो अगाडी उभिएको तस्विर राख्दै तपाईंले लेखेका आदर्शवाणीहरु पढेर मक्खा परेको तपाईंको आफन्तजनले त्यो तपाईंले हालेको तस्विरनै बनावटी भन्ने थाहा पाए तपाईंको इज्जत कहाँ जाला ? खैर जे होस, यो प्रसंगमा त जे हुनु थियो भैहाल्यो तर अव त्यस्तो नहोस भन्नेमा सचेत रहनु उचित होला ।
जोसुकैको आलोचना गरौँ , विरोध गरौँ तर तथ्यहीन हैन तथ्यसम्मत ढंगले गरौँ । लसएन्जलस जाँदै नगएको पुष्पकमल र सिता दाहाललाइ लसएन्जलसको यूनीभर्सल स्टुडीओ अगाडी उभिएको जस्तो देखिने बनावटी तस्विर सिर्जना गरेर अरु त अरु आफैंलाइ समेत भ्रमित चाहिं नपारौं ।