यस्तो कार कुदाएर हिँड्ने २२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली


प्रकाशित मिति : चैत्र २, २०७५ शनिबार

आजभोलि बुटवलमा एकजना ह्याण्डसम युवक थोत्रो जस्तो देखिने सानो कार कुदाएर बजारमा गुडेका भेटिन्छन् । बजारमा देखिनेभन्दा अलि सानो आकारको पूरै फिनिसिङ नभइसकेको उनको कार देख्ने जो कोही एकछिन अचम्म पर्छन् । कसैले दुर्घटनामा परेर स्वरुप बिग्रेर डेन्टिङ-पेन्टिङ गर्दै होला भन्ठान्छन् भने कतिपयले त उनलाई ‘बौलाहा’ अनुमान गर्न पनि भ्याउँछन् ।

यस्तो कार कुदाएर हिँड्ने २२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली । उनले दुई वर्ष लगाएर व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । स्पोर्टस् मोडेलको कारलाई उनले ‘ड्रिम कार’ नाम दिएका छन् । यद्यपि कारलाई अन्तिम स्वरुप दिन अझै बाँकी छ ।

कारको माथिल्लो भाग (छत) राख्न र ‘बडी’ पेन्टिङ गर्न उनले भ्याएका छैनन् । बराइली आफैंले कारको स्वरुप डिजाइन गरेर यसको चेसीस, फेब्रिकेसन, सस्पेन्सन सिस्टम जडान गरेर कार बनाएका हुन् । ब्रेक र स्टेरिङ्ग पनि आफैंले बनाएका हुन् ।

ग्राउण्ड क्लियरेन्स १ सय ५० एमएम, साढे ३ मिटर लम्बाइ, १.२५ मिटर उचाइ र ४५ इन्च चौडाइ भएको यो कार दुई सिट क्षमताको हो ।कारको डिजाइनलाई मुर्तरुप दिन बराइलीले चेसिसलाई एक वर्षसम्म विशेष प्रकारको माटोले पुरेर आकार निकाली डाइ बनाएर फाइबर ग्लासको ‘बडी’ बनाएका छन् ।

विद्युत चार्ज गरेर र पेट्रोल दुवैबाट चल्ने यो कार प्रतिघण्टा करिब ४० किलोमिटर गुड्ने बराइली बताउँछन् । यद्यपि कारमा गति मापन गर्ने उपकरण भने जडान गरेका छैनन् ।

विशेषखालको मेसिननरी यन्त्रविना स्थानीयस्तरमा उपलब्ध लेथ मेसिनको प्रयोगबाट वेल्डिङ, वायरिङ गरेर कार तयार गरेको बराइलीले बताए ।

चारवटै पांग्रामा ब्रेक सिस्टम राखेका उनले यो कारलाई उकालोमा पनि कुदाएका छन् । बुटवलको सबैभन्दा उकालो सडक लक्ष्मीनगर र हिलपार्कको डाँडोसम्म चालकसहित दुईजनालाई कारले सजिलैसँग पुर्‍याएको बराइलीले बताए ।

कार बनाउन अहिलेसम्म करिब ६ लाख रुपैयाँ मात्र खर्च भएको र फिनिसिङसहित अन्तिम रुप दिन अझै २ लाख रुपैयाँ जति लाग्ने उनले बताए । कारको छत गर्मी याममा निकालेर खुल्ला राख्न मिल्ने र जाडो याममा पुनः राख्न मिल्ने गरी डिजाइन गरिएको उनले सुनाए ।

कारमा १२ भोल्टका ५ वटा ब्याट्री राखिएको छ । ब्याट्रीबाट कार १ सय ५० किलोमिटर गुड्छ । १५ लिटर पेट्रोलबाट झन्डै २ सय किलोमिटर यात्रा गर्न सकिने बराइलीको दावी छ ।

पर्याप्त पुँजी र उपकरण भए नेपाली मौलिकता अनुसारको विद्युतीय सवारी साधन नेपालमै बनाउन सकिने उनी बताउँछन् ।

रुपन्देहीको रुद्रपुरमा जन्मेका बराइली विगत १५ वर्षदेखि बुटवलमा बस्दै आएका छन् । २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण बराइलीले कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा तीन वर्षे डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कोर्स पढेका हुन् ।

यो पनि पढ्नुहोस कोरियन कम्पनीले चारपांग्रे गाडी नेपालमै बनाउने, साढे १० अर्बको लगानी स्वीकृत पढाइ सकेपछि बराइलीमा आफूले पढेको सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्ने रुचि पलायो । घरको आर्थिक अवस्था कमजोर रहेका उनलाई कार बनाउने रुचिलाई सार्थक बनाउन बुटवलकै युवा व्यवसायी सुशील सारुले साथ दिए । कार बनाउन अहिलेसम्म लागेको खर्च सुशीलले नै जुटाइदिएका छन् । ‘उसको पढाइ र क्षमता देखेर केही गर्न सक्छ भन्ने विश्वास लागेर कार बनाउने खर्च दिएको हुँ,’ सुशीलले भने, ‘अहिले उसले आफैंले बनाएको कार कुदाएको देख्दा असाध्यै खुशी लागेको छ ।’

निरन्तरको प्रयास र मेहनतले कार बनाएर कुदाउन सफल भएपछि अंकित दंग छन् । ‘थोरै लगानीले पनि कार बनाएर कुदाउन सफल भएपछि अब थप राम्रो गर्न सक्ने आत्मविश्वास पलाएको छ,’ उनले भने, ‘राज्यले वा निजी क्षेत्रले साथ दिने हो भने नेपालमै व्यवसायिकरुपमा उत्पादन गर्ने गरी विद्युतीय कार बनाउन सकिन्छ ।’

तर सरकारका मन्त्रीहरु र नीति निर्माण तहमा रहेका कर्मचारीहरु नेपालमा सवारी साधन वा अन्य वस्तु उत्पादन गर्न भन्दा आयात गरेर बेच्नमै रमाउने प्रवृत्ति हावी भएकाले उत्साहित हुने अवस्था नभएको उनी बताउँछन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमै बनेको मुस्ताङ म्याक्स गाडी चढ्दा उक्त कार्यलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित बनाउने काम भएको र अन्ततः मुस्ताङ म्याक्स गाडीको उत्पादन नै बन्द हुन पुगेको तथ्यलाई बराइलीले स्मरण गरे ।

आफूले बनाएको कारलाई बुटवलमा सञ्चालित राष्ट्रिय औद्योगिक प्रदर्शनीमा राख्दा मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि र राज्यका विभिन्न निकायका अधिकारीहरुले हेरेर बुझेपनि कुनै प्रोत्साहन र ठोस सहयोग नपाएको उनको गुनासो छ ।

सरकारले पनि विद्युतीय सवारीको प्रवर्द्धन गर्ने बताएपनि आफूले कतैबाट हौसला नपाएको उनले बताए । ‘राज्यले नपत्याउँदा त कहिलेकाहिँ विदेश पलायन हुन मन लाग्छ,’ उनले भने ।

आफू जस्तै काठमाडौंका कार्की थरका एक युवकले पनि करिब २५ लाख खर्च गरेर विद्युतीय कार बनाउँदै गरेको आफूले जानकारी पाएकाले उनीसँग भेटेर छलफल गर्ने इच्छा रहेको बराइलीले खुलाए ।

अटो मोबाइल्स मेकानिक्स विषयमै उच्च शिक्षा अध्ययनका लागि सहयोग माग्न प्रदेश ५ सरकारका मन्त्रालयमा धाएपनि उपेक्षा गरेर फर्काइँदा विदेश पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बराइलीले खुलाए । ‘घरमा आमा र म मात्रै छौं, एउटा दाइ पनि विदेशमा छन्, पैत्रिक पनि सम्पत्ति छैन, भाडाको घरमा बस्नुपर्दा आर्थिक अभावले चाहे जस्तो सिर्जना गर्न र आविस्कार गर्न सकेको छैन,’ बराइलीले भने, ‘राज्यले देशभित्र रहेका प्रतिभा चिनेर उनीहरुलाई संरक्षण गरी स्वदेशमै केही गर्ने वातावरण नबनाएसम्म रेमिट्यान्स र ट्याक्सले देशको दिगो विकास र समृद्धि हुँदैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com