सचिवले किन गरे झुटो दाबी ? चीनमै बनेको पाइयो विद्युतीय बस


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ । यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा भाषण गर्दै बस भारतमा बनेको दाबी गरेका थिए

उनले ती बस चीनमा बनेका हुन् भनेर रुजु गर्न नमानेपछि आफूलाई सरुवा गरेको आरोप लगाएका थिए । सचिव देवकोटा हालै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेड चीनमा बनेका पाँचवटा विद्युतीय बस अहिले नक्सालस्थित ग्यारेजमा थन्काइएका छन् । देवकोटासहितका अधिकारीले बसमा प्राविधिक कमजोरी भएको भन्दै सञ्चालनमा ल्याउन इच्छा नदेखाएपछि बस थन्किएका हुन् ।

मन्त्रालयले अगस्ट २१ २०१८ मा भैरहवा भन्सार कार्यालयलाई लेखेको पत्रमा चीनबाट आयात गरिएका बसको भन्सार चुक्ता गरिएको जनाइएको छ । यस विषयमा सचिव देवकोटासँग सम्पर्क गर्दा उनले बोल्न अस्वीकार गरे। उनले मन्त्रालयसँग सम्बन्धित विषयमा अब आफ्नो कुनै चासो नरहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com