क्यालिफोर्नियाको सिमानामा १२ माइल पर्खाल निर्माणको काम तीब्र पारिने


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले क्यालिफोर्निया नजिकको अन्तर्राष्ट्रिय सिमानामा साढे १२ माइलको पर्खाल निर्माणको कामलाई तीब्र पार्न वेभर जारी गरेको छ । सान डिएगो क्षेत्रमा अवरोध निर्माण गर्नका लागि फेडरल रजिस्टरमा सुचना समेत प्रकाशित गरिसकिएको छ ।

अमेरिकी संसदले होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीलाई सिमा सुरक्षा मिसनका सन्दर्भमा निश्चित अधिकारहरु दिएको र त्यही अधिकारको प्रयोग गरेर पर्खाल निर्माणको काम तीब्र पारिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यसअगाडि अमेरिकी सेनाले सान डिएगो क्षेत्रको सिमानामा गाडी छिर्नमा अवरोध सृजना गर्ने प्रकारको १४ माइल लामो पर्खाल हस्तान्तरण गरिसकेको छ । अमेरिकाको सान डिएगो क्षेत्र कागजपत्रविहिनहरु प्रवेश गर्ने व्यस्त नाकाका रुपमा लिइन्छ ।

सान डिएगोको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा एसाइलम गर्नेहरुलाई अमेरिकाकाले अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाउन सुरु गरिसकेको छ । आर्थिक बर्ष २०१८ मा मात्र सान डिएगो क्षेत्रमा गैर कानुनी रुपमा सिमा पार गर्न खोज्ने ३८ हजारलाई पक्राउ गरेको थियो । चालु आर्थिक बर्षमा त्यस क्षेत्रमा साढे १८ हजारलाई पक्राउ गरिसकिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १ हजार माइल लामो पर्खाल सिमानामा लगाउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसका लागि अहिलेसम्म अमेरिकी संसदमा भिडन्त जारी छ ।

अमेरिका र मेक्सिको सिमाना १९३३ माइल लामो छ । जसमध्येको ६५४ माइल एरियामा पहिले नै विभिन्न प्रकारका पर्खालहरु निर्माण गरिएका छन् । अहिले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निर्माण तीब्र पार्नका लागि वेभर जारी गरेको १२ माइल त्यहीमध्येको सेकेण्डरी पर्खाल हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com