परपुरुषसँग लागेपछि चार वर्षीय छोराको हत्या
प्रकाशित मिति : माघ २३, २०७५ बुधबार
सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएकी थीइन् ।
‘पति लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित ब्यक्तिसँग फोन सम्पर्क गर्ने गरेको बयानमा खुल्न आएको छ,’ शाहीले भने, ‘अविवाहित हु भनी प्रेम सम्बन्ध कायम राख्न छोरालाई विष खुवाई हत्या गरेको उनले बयानमा भनेकी छन् ।’
गत २८ पुसमा घरमै छोराको हत्या गरेको प्रहरी समक्ष खत्रीले स्वीकार गरेकी हुन् । खत्रीले आफ्नो छोरा समिरलाई बिषादी खुवाएकी थीइन । बिष खुवाएपछि भुत प्रेत लाग्यो भनी उपचारको लागि श्रीनगर तर्फ लैजाँदै गर्दा बाटोमै समिरको मृत्यु भएको थियो ।
छोराको शव जङ्गलमा गाडेको स्थानीयले जानकारी दिएपछि प्रहरीले २९ पुसमा खत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा खत्रीले हत्या गरेको स्वीकारेकी हुन् ।
‘श्रीमान र श्रीमती दुवैले अर्को विहे गरेपछि बच्चाले दुख पाउँछ भनेर घटना घटाएको भन्ने बयान दिएकी छिन्,’ डीएसपी शाहीले भने । एलिशाले कर्तव्य गरी छोरालाई मारेको देखिन आएको भनी माघ २२ गते प्रहरीले जिल्ला अदालतमा पेश गरेको छ ।





