अमेरिकामा एक महिनादेखि बेपत्ता नेपाली युवा मृत फेला


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

अमेरिकाको क्यालिफोर्नियाबाट गत ११ पुसमा  बेपत्ता नेपाली युवक मृत भेटिएका छन् । क्रिसमस इभिनिङका दिन क्यालिफोर्नियाको सन्नीभेलस्थित हाइल्यान्डर अपार्टमेन्टबाट निस्किएका २५ वर्षीय कुशल शर्मा मृत भेटिएको खबर प्रहरीले १९ माघमा परिवारलाई दिएको हो ।

कुशल शर्मा एउटै अपार्टमेन्टमा बस्ने एक म्याक्सिकन युवकलाई हात हालेर आमाबुबासँग झगडा गरी तेस्रो तलाबाट निस्किएका थिए । म्यक्सिकनले प्रहरीमा उजुरी गरेपछि उनी केहीबेरमै अपार्टमेन्टको भुइँतलाबाट पक्राउ परेका थिए ।

दुई दिनसम्म पनि घर नफर्किएपछि उनका आमाबुबा प्रहरी चौकी पुगे । प्रहरीले पक्राउ परेकै राति कुशललाई छाडेको जवाफ दिएको थियो । त्यसपछि सम्पर्कमा नरहेका उनको मृत्युको खबर १९ माघमा मात्रै प्रहरीले दिएको हो ।

बेपत्ता भएको एक महिनापछि मृत्युको खबर दिएको प्रहरीले कुशलको मृत्यु भने १२ पुसमै भएको जनाएको छ । एनबिसी बे एरियाका स्थानीय अनलाइनका अनुसार ४२६ नम्बरको साउथबोन्ड काल ट्रेनकाे ठक्करबाट उनको मृत्यु भएको हो । उनी ट्रेन ट्रयाकमा विनाअनुमति प्रवेश गर्दा ज्यान गएको बताइएको छ ।

सान्फ्रान्सिस्कोबाट सान होजे जाँदै गरेको ट्रेनले स्कट ब्लुबर्डदेखि ५ सय मिटर दक्षिण सान्टा क्लारामा उनलाई ठक्कर दिएको समाचार छ । ट्रेनको ट्र्याकमा प्रवेश गर्न र त्यहा“बाट बाटो काट्न पाइँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com