नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

नेपाल एयरलाइन्सले जापान उड्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विमान उडान अनुमति(एओसी) पाएको छ । एयरबसको ए३३० सिरिजको वाइड बडी जहाजबाट काठमाडौं-ओसाका उडान गर्ने तयारी गरिरहेको राष्ट्रिय ध्वजाबाहकले प्राधिकरणबाट अनुमति पाएको हो ।

निगमका सहायक प्रवक्ता नवराज कोइरालाले ए३३० वाइड बडी जहाजले काठमाडौं-ओसाका उडानका लागि उड्डयन प्राधिकरणबाट एओसी पाएको जानकारी दिनुभयो । निगमले करीब आठ महीनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरीद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।

नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गर्नुभयो । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ ।

निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ । निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान शुरु गर्न करीब एक महीना लाग्ने जनाएको छ । त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यासहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए-३३० जहाज, दुई न्यारो बडी ए-३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com