लस एन्जलसमा बम विष्फोटको योजना बनाएको आरोपमा ४ जना पक्राउ


प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार

अमेरिकाको लस एन्जलसमा नयाँ वर्षको पूर्वसन्ध्यामा तय गरिएको आक्रमणको योजना विफल पारिएको अधिकारीहरूले दाबी गरेका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा एक चरमपन्थी समूहले आक्रमणको योजना बनाएको उनीहरूको भनाइ छ। तर, यो योजनालाई संघीय निकायहरूले विफल पारेको अधिकारीहरूले बताएका छन्।

एफबीआई र लस एन्जलसका कानुन कार्यान्वयन निकायका अनुसार, ‘प्रोप्यालेस्टिनी र सरकारविरोधी समूह’ को शाखा मानिने ‘टर्टल आइल्याण्ड लिबरेसन फ्रन्ट’ का चार कथित सदस्यलाई दक्षिणी क्यालिफोर्नियाका कम्तीमा पाँच स्थानमा बम आक्रमणको योजना बनाएको आशङ्कामा पक्राउ गरिएको छ।

अधिकारीहरूका अनुसार, ती संदिग्धहरू गत हप्ता लस एन्जलसको पूर्वतर्फको मरुभूमिमा स्वनिर्मित विस्फोटक उपकरण परीक्षण गर्न जाँदै गर्दा पक्राउ परेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफबीआईले उक्त योजना विफल पारेको विश्वास गरेको छ। तर, अन्य सम्भावित संदिग्धहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको जनाएको छ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सम्बन्धित निकायहरूले “अतिवामपन्थी” चरमपन्थीहरूद्वारा गरिन लागेको “ठूलो र भयावह आतङ्कवादी योजना” रोक्न सफल भएको बताएकी छन्।

क्यालिफोर्नियाको केन्द्रीय अमेरिकी जिल्ला अदालतमा दायर अभियोगअनुसार ३० वर्षीया अड्री इलीन क्यारोल, ३२ वर्षीय जाखरी आरोन पेज, २४ वर्षीय डान्टे ग्याफिल्ड र ४१ वर्षीया टिना लाईमाथि षड्यन्त्र र दर्ता नभएको विनाशकारी उपकरण राखेको लगायतका अभियोग लगाइएको छ।

अधिकारीहरूका अनुसार, डिसेम्बर १२ मा उक्त समूह मरुभूमिको तर्फ “विस्फोटक बनाउन प्रयोग हुने प्रारम्भिक रसायन” लिएर गएको थियो। उनीहरूले ती सामग्री प्रयोग गरी बम बनाउन लागेको आशङ्का गरिएको छ।

जासुसी विमानले उनीहरूको गतिविधि खिचेको थियो र त्यसपछि लस एन्जलस एफबीआई स्वाट टोलीले एफबीआईसँग मिलेर चारै जनालाई पक्राउ गरेको जनाइएको छ।

योजनाअनुसार, नयाँ वर्षको पूर्वसन्ध्याको मध्यरातमा लस एन्जलस क्षेत्रमा रहेका दुई अमेरिकी कम्पनीका ‘लजिस्टिक केन्द्र’ भनिएका स्थानहरूमा विस्फोटक उपकरण राख्ने लक्ष्य थियो।

अभियोगपत्रअनुसार, समूहले जनवरी वा फेब्रुअरीमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टका एजेन्ट र सवारीसाधनलाई पाइप बम प्रयोग गरी आक्रमण गर्नेबारे पनि छलफल गरेको थियो।

लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले यो योजना सफलतापूर्वक विफल पारिनु संयुक्त प्रतिक्रियाको शक्तिशाली प्रमाण भएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com