सरकारी शटडाउनपछि अमेरिकामा रोजगारीको पुनरागमन, तर बेरोजगारी दर चार वर्षकै उच्च
प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार
अमेरिकी श्रम बजारले गत महिना अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको देखिएको छ । अमेरिकी सरकार शटडाउनका कारण परेको असरबाट केही हदसम्म सुधार देखिएको आधिकारिक तथ्याङ्कले जनाएको छ ।
मंगलबार सार्वजनिक गरिएको बहुप्रतीक्षित प्रतिवेदनअनुसार अक्टोबरमा करिब १ लाख ५ हजार रोजगारी गुमेका थिए भने नोभेम्बरमा ६४ हजार रोजगारी थपिएका छन् । नोभेम्बरको रोजगारी वृद्धिदर धेरै अर्थशास्त्रीहरूले अनुमान गरेको करिब ४० हजारभन्दा बढी हो ।
यद्यपि, समग्र बेरोजगारी दर भने निरन्तर बढ्दै गएको छ । नोभेम्बरमा बेरोजगारी दर ४ दशमलव ६ प्रतिशत पुगेको छ, जुन पछिल्ला चार वर्षयताकै उच्च स्तर हो । यसले अमेरिकी अर्थतन्त्रको अवस्थाबारे चिन्ता बढाएको छ ।
अगस्ट र सेप्टेम्बर महिनाका रोजगारी वृद्धिसम्बन्धी अघिल्ला अनुमान पनि संशोधन गरी घटाइएका छन् । अगस्टमा ४ हजारले घट्ने भनिएको संख्या संशोधनपछि २६ हजार पुगेको छ भने सेप्टेम्बरमा १ लाख १९ हजारले बढ्ने भनिएको अनुमान घटेर १ लाख ८ हजारमा सीमित भएको छ ।
सामान्यतया मासिक रूपमा सार्वजनिक हुने रोजगारी तथ्याङ्कहरू ४३ दिनको सरकारी शटडाउनका कारण ढिलो प्रकाशित भएका हुन् । यस अवधिमा संघीय सरकारी रोजगारी अक्टोबरमा १ लाख ६२ हजार र नोभेम्बरमा ६ हजारले घटेको छ ।
यसैबीच, अमेरिकी श्रम तथ्याङ्कको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न थालेका छन् । श्रम तथ्याङ्क ब्युरो (बीएलएस) ले सरकारी शटडाउनका कारण अक्टोबरको पूर्ण तथ्याङ्क सार्वजनिक हुन नसक्ने र नोभेम्बरको तथ्याङ्क ढिलो हुने जनाएको थियो ।
फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले बीएलएसका तथ्याङ्कहरूलाई सरकारी शटडाउनको असर हट्दासम्म “सन्देहको नजरले” हेर्नुपर्ने चेतावनी दिएका छन् ।
यसैबीच, अमेरिकी रोजगारी बजार कमजोर हुँदै गएको संकेत पनि देखिएको छ । एडीपीका अनुसार निजी क्षेत्रका रोजगारदाताहरूले अक्टोबरमा ४७ हजार रोजगारी थपेपछि नोभेम्बरमा करिब ३२ हजार रोजगारी कटौती गरेका छन् ।
सरकारी शटडाउनका कारण ढिलो गरी सार्वजनिक गरिएको सेप्टेम्बरको प्रतिवेदनमा अमेरिकाले १ लाख १९ हजार रोजगारी थपेको उल्लेख भए पनि सो महिनामा बेरोजगारी दर ४ दशमलव ३ प्रतिशतबाट बढेर ४ दशमलव ४ प्रतिशत पुगेको थियो, जुन सन् २०२१ यताकै उच्च स्तर हो ।






