ट्रम्पले गरे बीबीसीविरुद्ध मानहानि मुद्दा दायर, अरबौँ डलर क्षतिपूर्ति माग
प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन्।
ट्रम्पले सन् २०२१ को जनवरी ६ मा दिएको आफ्नो भाषणलाई ‘पानोरमा’ डकुमेन्ट्रीमा सम्पादन गरिएको विषयलाई लिएर बीबीसीविरुद्ध मानहानि मुद्दा दायर गरेका हुन्। फ्लोरिडा अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्।
बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो। यद्यपि, बीबीसीले क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो र मानहानिको दाबीमा कुनै आधार नभएको बताएको थियो।
तर, ट्रम्पको कानुनी टोलीले बीबीसीले उनका शब्दहरू “जानाजानी, दुर्भावनापूर्ण र भ्रामक तरिकाले परिवर्तन गरेको” आरोप लगाएको छ। मुद्दा दायर गरिएको विषयमा बीबीसीले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
कागजातअनुसार ट्रम्पले प्रसारकविरुद्ध मानहानिको आरोप र फ्लोरिडाको व्यापार अभ्याससम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेका हुन्।
ट्रम्पले गत महिना नै बीबीसीविरुद्ध मुद्दा हाल्ने योजना बनाएको बताएका थिए। २०२४ को अमेरिकी राष्ट्रपति चुनावअघि बेलायतमा प्रसारण भएको ‘पानोरमा’ डकुमेन्ट्रीमा आफ्नो जनवरी ६ को भाषण सम्पादन गरिएको तरिकालाई लिएर उनले आपत्ति जनाएका थिए।
ट्रम्पले बीबीसीले धोका दिएको र आफ्नो मुखबाट निस्केका शब्दहरूलाई परिवर्तन गरेको आरोप लगाएका थिए।
जनवरी ६ को भाषणमा ट्रम्पले वासिङ्टनमा भेला भएका समर्थकहरूलाई क्यापिटलतर्फ हिँड्न र “साहसी सिनेटर तथा सांसदहरूलाई हौसला दिन” बताएका थिए।
भाषणमा उनले “अन्तिमसम्म लड्ने” बताएका थिए। तर, कार्यक्रममा देखाइएको उनको भाषणमा फरक ढंगबाट प्रस्तुत गरिएको दाबी उनले गर्दै आएका छन्।






