राजनीतिमार्फत सामाजिक कार्यमा आनन्द बिष्ट

– अरुणा रायमाझी

सिनेमाको हिरो बन्ने इच्छा

सानैदेखि आनन्द बिष्टलाई सिनेमाको हिरो बन्ने इच्छा थियो । उनमा फिल्मको यतिधेरै प्रभाव पर्यो कि हिरोको नक्कल गर्नथाले । लामो कपाल र हिरोकै स्टाईलमा लुगा लाउन थाले । यतिमात्र होइन,अध्यायनको लागि भारतको देहरादुन पुगेका उनी जिम र क्लव जान थाले । जसरी हुन्छ, उनलाई सिनेमाको हिरो नै बन्नु थियो ।

दिनहरु बित्दै गए । पढाई चलिरहेकै थियो ।

कुरा २०४६ सालको हो । उनी त्योबेला नेपाल विद्यार्थी सँघको देहरादुन शाखामा काम गर्न थालेका थिए । २०४६ सालको जनआन्दोलनमा भारतमा अध्यायनरत नेपाली विद्यार्थीहरुले भारतमा रहेको नेपाली दुतावास घेराउ गरे । आनन्द पनि दुताबास घेर्न दिल्ली पुगेका थिए । त्यसपछि उनको सपना मोडियो । हिरो बन्न पालेको कपाल काटेर राजनीतिको बाटोतिर अगाडि बढे ।

विगत सुनाउँदै भने ‘हिरो बन्ने कलिलो उमेरको चाहना थियो । नेपालभारतको बोर्डर नजिक भएर पनि होला, हिन्दी सिनेमाको छाप निकै परेको । जब मेरो उमेर परिपक्क बन्दै गायो त्यसपछि पर्दाको लागि होइन, समाजको लागि केही गर्नुपर्छ भन्ने सोच आयो ।’

२०४६ सालको जनआन्दोलनले मोडेको यात्रा

दुताबास घेराउपछि राजनीतिमा मोडिएको उनको यात्रा अहिलेसम्म जारी छ ।

उनी भन्छन् ‘२०४६ सालको आन्दोलनमा मेरो उमेर सानै थियो । त्योबेला म सहभागीको हिसाबले अन्दोलनमा सरिक भए । नेतृत्वगर्ने अरु नै थिए ।’ जब समाजको बारेमा बुझ्ने भए र सोच्न थाले । त्यसपछि उनमा फिल्मको होइन, समाजका लागि काम गर्ने चाहना बढ्यो ।

राजनीति गर्ने ब्यक्तिलाई के काम गर्नुहुन्छ भनेर सोध्यो भने, मिनेट भरमा जवाफ आउँछ ‘राजनीति गर्छु ।’ यसको मतलब मानिसहरु राजनीतिलाई पेशा बनाइरहेका छन् । तर, केही ब्यक्तिहरु राजनीति पेशा होइन, समाजसेवा हो, भन्दै दिलो ज्यानदिएर लागिरहेका छन् । त्यसमध्येको एउटा नाम हो, आनन्द बिष्ट ।

राजनीतिमार्फत समाजसेवा

समाजबाट के लिन पाइन्छ भन्दा पनि  आफूले सकेको समाजलाई दिनुपर्छ भन्छन् । उनले सामाजिक क्षेत्रमा गरेको आर्थिक र भौतिक सहयोगको हिसाब गर्ने हो, भने लामो लिष्ट तयार हुन्छ ।

उनले अहिले दुर्गम गाउँमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आर्थिक रुपमा सहयोग गर्दै आएका छन् । खसोखाससँग कुरागर्दै उनले भने –‘मानिसका लागि सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो, त्यसपछि शिक्षा । अनि मात्र समाजको विकास हुन्छ । त्यसैले मैले, स्वास्थ्य  र शिक्षामा सकेको सहयोग गर्दै आएको छु ।’

डोटीको गाउँमा जन्मेका आनन्दले गाउँलेको अबस्था कस्तो छ, भन्ने कुरा बुझ्न कुनै दस्ताबेज, समाचार वा फिल्ममा देखाउने कथा हेर्न र पढ्न पर्दैन । उनी अमेरिका बसेपनि समय मिलाएर जनताको घरआगनमा पुगेकै हुन्छन् ।

गाउँले जीवनलाई नजिकबाट बुझेका आनन्दले भने ‘संविधानसभादेखि प्रदेशसभाको निर्वाचनका   समयमा करिब चार महिना जनतासँग साक्षात्कार गर्ने मौका मिल्यो। यसले डोटीको अवस्था बुझ्न झनै सजिलो भयो । राज्यले शिक्षा निशुल्क भनेको छ तर, स्कुल जाने बच्चा गाईगोठाला छन् । स्वास्थ्य क्षेत्रको अवस्था त्यस्तै छ । समयमा उपचार नपाउँदा महिला दिदी बहिनीहरु गर्भवति अवस्थामा अकालमा ज्यान गुमाउनु परेका कैयन घटना छन् । यी घटनाले मलाई निकै पोल्यो, मनमनै अठोट गरेँ सकेजति आर्थिक सहयोग गर्नेछु । गर्भवति दिदी बहिनीले एम्बुलेन्स नपाएर ज्यान गुमाउनु नपरोस् भनेर भर्खरमात्र दुईवटा एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेर आएको छु ।’

शिक्षाको उज्यालोबाट बञ्चित बालबालिको शिक्षा तथा स्कुल, क्याम्पसको शैक्षिकस्तर उन्नतिका लागि उनले सामूहिक मात्र होइन, ब्यक्तिगत रुपमा पनि आर्थिक सहयोग गर्दै आएका छन् ।

शिक्षा र स्वास्थ्यमा योगदान

डोटीको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग गरेको बताउँदै भने ‘समाजको लागि केही गर्नुपर्छ भन्ने चाहना हुनेहरुलाई प्रोत्साहन गर्ने गरी सहयोग गरेको हुँ । मेरो विचारमा एउटा ब्यक्तिले धेरै गर्नु पर्दैन, आफ्नो गाउँ र ठाउँमा सकेको आर्थिक, भौतिक सहयोग जे जति सकिन्छ गरौँ । विकासको लागि ठूलो सहयोग गर्नु पर्दैछ । सबै औंला जोड्दा मुठ्ठी बने जस्तै हो ।’

डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले पाएकोे एम्बुलेन्सका लागि उनले विशेष पहल गरेका थिए, जसमा अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे । गाउँ पालिकालाई हस्तान्तरण गरेका एम्बुलेन्स ३२/३२ लाख पर्ने भएपनि भन्सार छुटको कारण ११/११ लाखमा खरिद गरेको जानकारी दिए । उनले भने ‘एउटा एम्बुलेन्स गौरीराज जोशीले आमाको नामबाट किनिदिनुभएको हो । भने अर्को एम्बुलेन्सको लागि ११ जना मित्रहरुले सहयोग गर्नुभएको थियो ।’

डोटीको गडसेरामा बाल्यकाल बिताएका आनन्दले कक्षा ३ सम्म अध्यायन गरेको महेन्द्र आधारभूत विद्यालयलाई ब्यक्तिगत रुपमा एकलाख एकाउन्न हजार रुपैयाँ सहयोग गरेका छन् । ‘स्कुलमा सरकारी कोटा नहुँदा अभिभावकले पैसा उठाएर शिक्षकलाई तलब दिँदै आउनु भएको छ । त्यसमा केही टेवा पुग्छ कि भनेर सहयोग गरेको हुँ’ उनले सुनाए ।

त्यसैगरी उनले नवोदय उच्चमाबिमा एकलाख एघार हजार,डोटीकै सरस्वती प्राविलाई एकाउन्न हजार, दिदी बहिनीले निर्माण गर्न लागेको सामुदायिक भवनको लागि एक लाख, सेती महाकाली बहुमुखी क्याम्पसको लागि एकाउन्न हजार, शिवपुर स्कुल,घण्टेश्वर स्कुल,मन्दिर निर्माण लगायतको सामाजिक काममा सुभेच्छा सहित आर्थिक सहयोग गरेको सुनाए ।

जेहेन्दार र गरिब बालबालिकाहरुलाई निशुल्क पढ्ने ब्यवस्था समेत मिलाएका छन् । गाउँबस्तीमा हुर्किरहेका देशका कर्णधार शिक्षाको उज्यालोबाट बञ्चित हुनु परेको कुरा सुनाउँदै भने ‘बालबालिका भनेका भोलिका देश निर्माता हुन । तर, गरिबको कारण स्कुल जानु पर्ने बालबालिका खेतबारीमा काम गर्नुपर्ने र गाईबाख्रा लिएर वन जानुपर्ने वाध्यता देख्दा मलाई मात्र होइन, समाजको लागि केही गर्नुपर्छ भन्ने सोच राख्नेको पीडाले मनमुटु दुख्नुपर्छ ।’

देश र जनतालाई अप्ठयारो परेका बेला आफ्नो सबै काम छोडेर, अमेरिकाबाट पटक पटक सहयोग बोकेर नेपाल आउनेमा आनन्द अग्रपंक्तिमा नै छन् ।

विनासकारी भूकम्पको पिडामा छटपडिएका जनताको घाउमा मलम लगाउन उनी अमेरिकाबाट सहयोग बोकेर नेपाल पुगे । जनसम्पर्क समितिको  पहलमा जम्मा भएको ७५ लाख राज्यको कोषमा जम्मा गरिदिए भने खाद्यन्न आफै वितरण गरे । यसैगरी उनकै टिमले जनसम्पर्क समिति मार्फत काठमाठौमा एउटा विद्यालय निर्माण गर्नुका साथै १० जना भूकम्प पिडित बालबालिका पढाई रहेका छन् ।

आफूले भेट्दा १२ कक्षा पास गरेका ति विद्यार्थीले अहिले गिरिजा प्रसाद कोइराला मेरोरियल केलेजबाट मार्टस डिग्री पास गरेको सुनाए । उनले खुशी हुँदै भने ‘मेरो चारवर्षे कार्यकालको यो सबैभन्दा राम्रो काम हो । जिवनको सबैभन्दा सुखद क्षण पनि हो ।’

पार्टी र सामाजिक क्षेत्रमा उत्तिकै क्रियाशील आनन्द अमेरिका आएको २१ वर्ष भयो । अमेरिका आएदेखि उनी नेपाली कांग्रेसमा रहेर राजनीति र समाजसेवामा क्रियाशील छन् ।

गडसेराबाट अमेरिकासम्म

२०२९ सालमा डोटी गडसेराको धुपारीमा जन्मेका आनन्द स्व. पिता दान वहादुर विष्ट र कमलादेबी विष्टका सातौँ सन्तान हुन् । बाल्यकालका केही वर्ष डोटी बिताएका आनन्दको परिवार बसाई सराई गरेर २०३६ सालमा कैलाली आयो ।

कैलालीमा पढ्नको लागि उनलाई यो सुनौलो अवसर थियो । धनगडीबाट एसएलसी पास गरेका आनन्दले ११ र १२ कक्षाको अध्यायन भने भारतको देहरादुनबाट पुरा गरेका थिए । बाँकी पढाईका लागि उनी काठमाडौँ आए । काठमाडौँको शंकरदेव क्याम्पसबाट एमबीए गरेका उनी १९९८ मा अमेरिकातिर लागे ।

शुरुका दिनहरु सम्झदैँ भने ‘अमेरिका टेकेको अर्कोदिन ज्याक्सन हाईटमा घुम्दै जाँदा एउटा पसलमा लेखेको थियो, ‘यहाँ कामदारको आवश्यकता छ’ । त्यो देखेपछि पसलमा गएर आफै कुरा गरें । पर्सिपल्टदेखि काम सुरु गरे । हप्तामा ६ दिन काम गरेको २२५ डलर पाउँथे । दिनमा १० घण्टा खट्नु पर्दथ्यो । सुरुका केही महिनासम्म पैसा बचत गर्न हिडेरै काम गर्ने ठाउँमा पुग्दथे । बस्नेदेखि काम गर्ने ठाउँसम्म पुग्न ट्रेनमा एक डलर २५ सेन्ट लाग्दथ्यो ।’ त्यही पनि खर्च गर्न मनले मान्दैनथ्यो ।

आनन्द अमेरिका बसेको २१ वर्षभयो तर अहिलेसम्म अमेरिकी नागरिकता लिएका छैनन् । ‘आजको मितिसम्म अमेरिकी नागरिकता लिएको छैन, लिने विचार पनि छैन । म नेपाली नागरिकता बोकेर देशकै सेवा गर्ने हो । यसको मतलब अरु नेपाली दाजुभाईले लिनु हुँदैन भन्ने पटकै होइन । देशको सेवा संसारको जुनकुनाबाट पनि गर्न सकिन्छ ।’

गणतन्त्रको आन्दोलनमा लाग्दा ग्रिनकार्ड ढिलो

जिवनमा सातै रंगसँग जुधेर यो मुकाम हाँसिल गरेका आनन्दले २०६२/२०६३ को जनआन्दोलनका बेला संसारभर नेपालमा लोकतान्त्रिक ब्यावस्था ल्याउन जनता जागेका छन् भन्ने आवाज सुनाउन अमेरिकामा रहेको नेपाली राजदुताबास घेराउ  गर्न पुगेका थिए । जसका कारण उनको ग्रिनकार्ड थप दुईबर्ष ढिलो भयो ।  उनले आफ्नो परिवारबाट ९ वर्षसम्म छुटिएर बस्नु पर्यो ।

श्रीमती र छोरासँग छुट्टिएर बस्दाको पीडा सुनाउँदै भने ‘राज्य विरुद्ध बोल्यो भनेर नेपालबाट रातदिन श्रीमती र छोरालाई मार्ने धम्की बारम्बार आयो । नेपालबाट आउने ती फोनले मानसिक रुपमा ठूलो यातना सहनु परेको थियो । उनीहरुको जीवन रक्षाको लागि धेरै ठाउँमा सल्लाह लिएँ । उनीहरुलाई अमेरिका ल्याउने अवस्था थिएन ।

शाही कालका अमेरिकाका लागि नेपाली राजदुत केदारभक्त श्रेष्ठले आतंकवादी क्रियाकलापमा संलग्न मान्छे हो भनेर रिपोर्टिङ गरेको कारण मेरो ग्रिनकार्ड सेक्युरिटी क्लीयरेन्सका लागि बर्षौ लाग्यो । मैले ग्रिनकार्ड लिनका लागि नौ वर्ष कुर्नु पर्यो । त्यो समय सम्झदा अहिले पनि मानसिक तनाव हुन्छ ।’

आफैलाई प्रश्न

रोजीरोटीको काम, पार्टीको काम र समाजसेवाबाट बाँकी रहेको समय उनी परिवारसँग बिताउँछन् । तर उनलाई कहिलेकाँही लाग्दो रहेछ कि अमेरिका आएको २१ वर्ष बित्दा पनि मानिसहरुले सोचे जस्तो आर्थिक अवस्था बलियो बनाउँन नसक्दा र परिवारलाई समय दिन नसक्दा कतै श्रीमती र छोराछोरीमाथि अन्याय त गरेको छैन ? उनी भन्छन्, ‘जीवनका केही बसन्त पुरा भएपछि यस्त प्रश्न आफै आउँदा रहेछन् । फेरि सोच्छु, सामान्य खान लगाउन पुगेकै छ ।’

अहिले नेपाली समाजमा नकारात्मक सोच निकै मौलाउँदै गएको पाइन्छ । आफूले समाजको लागि सिन्को समेत नभाँच्ने तर, समाजको लागि राम्रो काम गर्नेलाई निरुत्साहीत गर्नेहरुको भिड ठूलो बन्दै गएको छ । जसको शिकार आनन्द पनि बन्नु परेको छ । भन्छन् ‘राजनीतिमा कहिले काँही नखाएको बिष लाग्ने रहेछ । तर, म को हुँ भनेर चिनेको छु । मेरो लक्ष्य राजनीतिको माध्यमबाट समाजसेवा गर्नु हो । त्यसमै अगाडि बढेको छु । अमेरिकामा पनि मैले राजनीतिक यात्रा शुन्यवाट सुरु गरेको हुँ ।’

कुकुर भुक्छ, हात्ति लम्कन्छ

राजनीतिक जीवनका केही तिता अनुभवहरु सुनाउँदै भने, ‘बाटोमा हात्ती सुरुसुरु हिड्यो भने, कसैले थाहा पाउँदैनन्, दुईचारवटा कुकुर भुक्नुपर्छ ।’ कामभन्दा कुरा धेरै गर्नेप्रति संकेत गर्दैभने, ‘अरुको बिषयमा बोल्नुभन्दा पहिला समाज र मुलुकको लागि आफूले कति योगदान गरेको छु भनेर आफैले, आफैलाई हेर्नुपर्दछ  ।’

आफुले गरेको सहयोगबाट जरुरत मनहरुको अनुहारमा खुशी देख्दा आनन्दलाई ‘आनन्द’ आउँछ रे । उनी भन्छन् ‘जरुरत मनहरुको अनुहारमा खुशी देख्दा लाग्छ, समाजसेवामा लागेर केही गुमाएको छैन । उनीहरुको खुशीले, आत्मसन्तुष्टि मिल्छ । जसले गर्दा, कामको दौरान बाटो हिड्दा भेटिने काँडाहरुले घोचेको बिर्सिदिन्छु । ’

खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँगको कुराकानीमा आधारित । आनन्द बिष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com