भिसाको भार


प्रकाशित मिति : पुस १५, २०७३ शुक्रबार

गत जुनमा अमेरिकी भिसा प्रणालीमा आएको प्राविधिक समस्या पछि संसारभरका प्रायसबै अमेरिकी कन्सुलेट कार्यालयहरुमा आवेदकहरुले भिसाका अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन कुर्नुपर्ने अवधि अप्रत्यासित रुपमा बढेको छ । जसका कारण गैरआप्रवासी भिसाका लागि आवेदन दिनेहरु मारमा परेका छन् ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासमा गैरआप्रवासी भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउनका लागि कुर्नुपर्ने अवधि अहिले दुईहप्ताको रहेको छ । अर्थात् कुनै व्यक्तिले अमेरिका आउनका लागि गैरआप्रवासी भिसाका लागि आवेदन दिइसकेपछि अन्तरवार्ताका लागि दुईसातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । गत जुनमा अमेरिकी भिसा प्रणालीमा समस्या आउनुभन्दा अगाडि काठमाडौंमा रहेको अमेरिकी दूतावासमा बढीमा दुईदिनमा नै भिसा अप्वाइन्टमेन्ट उपलब्ध हुने गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयको फिंगर प्रिन्ट संकलन गर्ने मुख्य कम्प्युटरमा नै समस्या आएपछि गत जुनमा झण्डै डेढ साता विश्वभरका अमेरिकी कन्सुलेट कार्यालयहरुले अमेरिकी भिसा जारी गर्न सकेका थिएनन् । भिसाका लागि आवेदनदिनेहरुको चाप बढिरहने तर कन्सुलेटले भिसा अन्तरवार्ताका लागि बोलाउन नसक्ने स्थीति आएपछि अन्तरवार्ताको मिति कुर्नुपर्ने अवधि लम्बिदै गएको हो । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने यो अवधि झण्डै एकमहिनासम्म पुगेको थियो । तर अहिले क्रमशः त्यो अवधि कम हुँदै गएको छ । गत सातासम्म काठमाडौंमा रहेको अमेरिकी दूतावासमा गैरआप्रवासी भिसाका लागि कुर्नुपर्ने अवधि तीनसातासम्म रहेपनि अहिले त्यो चाप केही घटेर दुईसातामा झरेको छ ।

भिसा प्रणालीमा आएको समस्यापछि अन्तरवार्तापछि पनि विश्वभरका कन्सुलेटहरुले भिसा प्रिन्ट गर्न सकेका थिएनन् । भिसा प्रोसेसिङमा समेत निकै लामोसमय लागेका थियो । तर अहिले भिसा प्रोसेसिङको समयअवधि भने सामान्य अवस्थामा पुगिसकेको छ । कन्सुलेट कार्यालयहरुले अन्तरवार्ता लिइसकेपछि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले तुरुन्तै भिसा प्रोसेसिङ गर्न थालेको डिपार्टमेन्ट अफ स्टेटका अधिकारीले खसोखासलाई जानकारी दिएका छन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सकी अधिकारी बेथ फेननले डिपार्टमेन्ट अफ स्टेटका उच्च अधिकारीलाई उदृत गर्दै खसोखाससँग भनिन्– ‘गत समरमा आएको प्राविधिक समस्याका कारण हाम्रा कन्सुलर पोष्टहरुले भोग्नुपरेको समस्यापछि अहिले आवेदकहरुले अन्तरवार्तापछि भिसाका लागि कुर्नुपर्ने अवधि साधारणतया सामान्य अवस्थामा आइसकेको छ । अझैपनि अन्तरवार्ताका लागि धेरैजसो आवेदकहरुले कुर्नुपर्ने अवधि भने तीनसातासम्म रहेको छ । तर हाम्रा सबै दूतावासहरु र कन्सुलेटहरुसँग नियमित अन्तरवार्ताको मितिसम्म पर्खन नसक्ने र आकस्मिक रुपमा यात्रा गर्नुपर्नेहरुका लागि प्रकृयाको व्यवस्था रहेको छ । त्यो प्रकृया हरेक दूतावास वा कन्सुलेटको वेवसाइटमा प्रकाशित गरिएको हुन्छ ।’

तर आपतकालिन अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउनका लागि या त अमेरिकी सरकारको चासोको विषय हुनुपर्ने या त कुनै जीवन मरणसँग सम्बन्धित कारण हुनुपर्ने अमेरिकी सरकारले स्पष्ट पारेको छ । फेननले डिपार्टमेन्ट अफ स्टेटका उच्च अधिकारीलाई उदृत गर्दै अगाडि भनिन्– ‘इमरजेन्सी अप्वाइन्टमेन्टहरु सामान्यतया जीवन मरणसँग सम्बन्धित आपतकालिन अवस्था वा निश्चित मानवीय चासोको अवस्था वा अमेरिकी सरकारको चासोको विषयमा मात्र स्वीकृत गरिन्छ । आपतकालिन अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि स्वीकृतिको निर्णय गर्ने सबै अधिकार दूतावास र कन्सुलेट कार्यालयहरुलाई छ ।’

अमेरिकी सरकारको भिसा प्रणालीमा बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ । सन् २०१४ को समरमा डिपार्टमेन्ट अफ स्टेटको सफ्टवेयरमा समस्या आएको थियो भने सन् २०१५ को समरमा डिपार्टमेन्ट अफ स्टेटको हार्डवेयरमा नै समस्या आएको थियो । यसपटक भिसा डाटाबेसको हार्डवेयर नै ध्वस्त भएको थियो भने फिंगर प्रिन्टको डाटासमेत ध्वस्त भएको थियो । अमेरिकाको भिसा जारी गर्ने कन्सुलेट कार्यालयबाट अमेरिकी विदेश मन्त्रालयमा औंठाछाप पठाउने हार्डवेयर नै ध्वस्त भएको कारण समेत अमेरिकी सरकारले देखाएको थियो । तर पछि त्यस्ता कैयन डाटाहरु रिकभर गरिएको अमेरिकी सरकारले जनाएको थियो । यद्यपी ह्याकरले अमेरिकी स्टेट डिपार्टमेन्टको कम्प्युटर हार्डवेयरबाट डाटाहरु ह्याक गरेका समाचारहरु पनि संचारमाध्यमहरुमा आएका थिए ।

औंठाछापको रेकर्ड राख्ने हार्डवेयर केही वर्ष पूरानो रहेको र अमेरिकी सरकारले त्यो हार्डवेयरबाट औंठाछाप अन्यत्रै सारेको बताइएको थियो । हार्डवेयर ध्वस्त भएपछि गुमेका औंठाछाप लगायतका रेकर्ड आफूहरुले सेकेण्डरी ब्याकअप प्रणाली र अन्य श्रोतहरु प्रयोग गरेर पुनप्राप्त गरेको र नयाँ हार्डवेयरबाट प्रणाली सुचारु गरिएको अमेरिकी सरकारले जनाएको थियो ।

कुन भिसाको अप्वाइन्टमेन्ट पाउन लागि कति अवधि ?

सामान्यतया सबै खालका गैर आप्रवासी भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन अमेरिकी दूतवास वा कन्सुलेट कार्यालयहरुमा एउटै अवधि लाग्ने गरेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन कुर्नुपर्ने अवधि औषतमा १५ दिन रहेको छ भने विद्यार्थी भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन कुर्नुपर्ने अवधि पनि औषतमा १५ दिन नै रहेको छ । अन्य खालका गैर आप्रवासी भिसाका लागि पनि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन कुर्नुपर्ने अवधि औषतमा १५ दिन नै रहेको छ । यो १५ दिनको अवधिमा कार्यालय दिन बाहेकको विदाको दिन समेत जोडिएको छ ।

तर के र भी भिसाका लागि भने अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन कुर्नुपर्ने अवधि फरक रहेको छ । यी भिसाका लागि आप्रवासी भिसा सरह नै सुविधा प्रदान गरिएको छ । त्यस्तै ए र जी भिसाका लागि भने फरक प्रकृया रहेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसाका लागि अन्तरवार्ता दिइसकेपछि भिसाको प्रकृया एक कार्यालय दिनमा नै पूरा हुन्छ । तर कुनै कुनै भिसाका लागि भने प्रशासनिक प्रकृया लामो लाग्नसक्ने भएकाले भिसा पाउने अवधि केही लम्बिन पनि सक्ने जनाइएको छ । कुनै भिसाका लागि अतिरिक्त प्रशासनिक प्रकृया अपनाउनुपरेमा त्यो प्रकृया सामान्यतया ६० दिनभित्र पूरा गरिने जनाइएको छ ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि १५ दिन रहेपनि भारतको न्यु दिल्लीमा भने १४ दिनमात्र रहेको छ । तर अन्तरवार्तापछि भिसाका लागि काठमाडौंमा १ कार्यालय दिन लाग्छ भने न्यु दिल्लीमा ३ कार्यालय दिन लाग्छ । भारतको मुम्बइमा रहेको अमेरिकी कन्सुलेटमा भिसा अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि १५ दिन रहेको छ भने त्यसपछि भिसाका लागि प्रोसेसिङ अवधि दुई कार्यालय दिन रहेको छ । बंगालादेशको ढाकामा रहेको अमेरिकी दूतावासमा भिसा अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ७ दिन रहेको छ भने भिसाका लागि प्रोसेसिङ अवधि तीन कार्यालय दिन रहेको छ ।

पाकिस्तानको इस्लामावादमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसा अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ९ दिन रहेको छ भने अन्य गैरआप्रवासी भिसा अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि २ दिन रहेका छ । इस्लामावादमा भिसाका लागि प्रोसेसिङ अवधि एकदिनमात्र रहेको छ । अफगानिस्तानको काबुलमा रहेको कन्सुलेट कार्यालयबाट गैरआप्रवासी भिसा अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ३५ दिन रहेको छ भने प्रोसेसिङ अवधि तीन दिन रहेको छ । श्रीलंकाको कोलम्बोमा रहेको कन्सुलेट कार्यालयबाट गैरआप्रवासी भिसा अन्तरवार्ताका लागि कुर्नुपर्ने अवधि ८ दिन रहेको छ भने प्रोसेसिङ अवधि १ दिन रहेको छ ।

‘भिसा अन्तरवार्ताको माग पूरा गराउन कडा मिहिनेत गरिरहेका छौं’

यसैबीच काठमाडौंमा रहेको अमेरिकी दूतावासले जारी गरेको सुचनामा भिसा अन्तरवार्ताको माग पूरा गराउन अमेरिकी दूतावासले कडा मिहिनेत गरिरहेको जनाइएको छ । भिसा आवेदकहरुले अन्तरवार्ताको लागि अप्वाइन्टमेन्टको अवधि अगाडि माग्न थालेपछि अमेरिकी दूतावासले अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि छोट्याउन मिहिनेत गरिरहेको जनाएको थियो । जस अनुशार गत साताको तुलनामा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि एकहप्ता छोट्याएर १५ दिनमा झारिएको छ ।

भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि लामो हुँदा कतिपय व्यक्तिले अमेरिका आउने प्रयोजनपछिमात्र भिसा पाउने गरेका छन् भने कतिपयले अमेरिका आउने प्रयोजन सकिएका कारण भिसा पाएर पनि अमेरिका आउन सकेका छैनन् । अमेरिकामा तय गरिएको कार्यक्रमपछि भिसा पाउँदा कतिपयका लागि अमेरिकाको भिजिटर भिसा अर्थहिन जस्तै बनेको छ । अमेरिकामा तय गरिएको कार्यक्रमपछि पाएको भिसामा त्यही कार्यक्रमका लागि आउन खोज्दा कतिपय व्यक्तिलाई विमानस्थलमा रहेका अध्यागमन अधिकारीहरुले अमेरिका छिर्न नदिई विमानस्थलबाटै फिर्ता पठाउने समेत गरेका छन् ।

खसोखास साप्ताहिकको १ जनवरी २०१५ को अंकमा प्रकाशित कभर स्टोरी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com