सरकार खुलाउने प्रस्तावबारे प्रतिनिधिसभामा साढे ६ बजे मतदान हुँदै
प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार
तीनसाताका लागि अमेरिकी सरकार खुलाउने प्रस्तावमा प्रतिनिधिसभामा अहिले बेलुका साढे ६ बजे मतदान हुने भएको छ । उक्त प्रस्ताव सिनेटबाट ध्वनीमतका आधारमा पारित भइसकेको छ । प्रतिनिधिसभाबाट प्रस्ताव पारित भएपछि त्यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नेछन् । अनि डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन तीनसाताका लागि अन्त्य हुनेछ । सिनेटबाट निर्विरोध पारित उक्त प्रस्ताव प्रतिनिधिसभाबाट पनि निर्विरोध पारित हुने अपेक्षा गरिएको छ ।
प्रस्तावमा राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि माग गर्दै आएको रकम भने समावेश छैन । तर फरबरी १५ सम्म सिमानामा पर्खाल लगाउने विषय समावेश गरेर सहमति कायम नभए फरबरी १५ पछि पुन सरकार शटडाउन हुनसक्ने ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि ५ दशमवल ७ बिलियन डलर नछुट्याएसम्म कुनै पनि विधयेकमा हस्ताक्षर नगर्ने अडान लिएका थिए । सरकार शटडाउनको ३५ औं दिनमा ट्रम्पले १५ फरबरीसम्मका लागि सरकार शटडाउन अन्त्य गर्ने सम्झौताको घोषणा गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताए ।






