‘आउनुहोस्, विदेशबाट सिकेको सिपलाई देशमा लगाऔं’ : श्रृंखला खतिवडा, मिस नेपाल २०१८


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

कम्युनिष्ट परिवारमा जन्मे हुर्केको छोरी श्रृंखला खतिवडाले मिस नेपाल २०१८ को ताज लगाईरहँदा, उनले मात्र होइन, उनका बुबा आमाले समेत विरोधको सामना गर्नु पर्यो । बिगतलाई फर्केर हेर्ने हो भने मिस नेपाल प्रतियोगिता कम्युनिष्ट पार्टी निकटका महिलाहरुको विरोध गर्ने मुख्य चाड जस्तै थियो । सायद त्यही कारण उनको परिवारले विरोधको सामाना गर्नु परेको हुनुपर्छ । प्रतियोगिता स्थलबाहिर महिला अधिकारका अनगिन्ति नाराबाजीले गुञ्जदा रिर्पोटिङ गरेको अहिले जस्तो लाग्छ । तर, समयसँगै उनीहरुले मिस नेपालको महत्व बुझ्दै गएर होला, श्रृखलाको साथमा उभिए ।

राजनीतिक कुरा आफ्नो ठाउँमा होला तर यसरी नेपालकै प्रतिनिधित्व गर्दै विश्वसामु आफ्नो र नेपालको नाम उच्च राख्न श्रृखलाले गरेको मेहनत प्रसंशनीय छ । मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल श्रृंखलाले मल्टिमिडया अवार्ड र मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जितेकी थिइन् । यतिमात्र होइन, उनी एउटा बौद्धिक क्षमतावान युवा पनि हुन् । उनी धेरै कुरामा अब्बल र मिहिनेती छन् । उनले आर्किटेक्ट इन्जिनियरमा १० सेमेस्टरमध्ये चार र पाँच सेमेस्टरमा नेपाल टप गरेकी थिइन् । भनेपछि हामीले सहजै अनुमान लगाउन सक्छौँ उनको क्षमता र मिहिनेत । उनलाई बौद्धिक र सालिन मिस नेपालको रुपमा ब्याख्या गरिन्छ । उनीसँग खसोखास सम्पादक अस्मिता खड्काले गरेको कुराकानी :

अहिले केमा व्यस्त हुनुहुन्छ ?

मिस नेपाल २०१८ को अवधि सकिनै लागेको छ । मिस नेपालका आयोजकले आयोजना गर्ने काम र भविश्यमा गर्ने कामको योजनामै ब्यस्त छु । सामाजिक क्षेत्रबाट सम्मानको लागि बोलाउनु हुन्छ । अवस्था हेरेर जाने गरको छु । अहिले चेपाङ बस्तिमा बनाउन सुरु गरेको हस्पिटलमै केन्द्रित छु । अबको दुई महिनाभित्र पुरा गर्ने लक्ष्य लिएका छौँ । त्यसै अनुसार काम भएको छ ।

युवाहरु विदेशीने क्रम रोकिएकै छैन,यसले देश निर्माणमा कस्तो असर पार्ला जस्तो लाग्छ ?

ब्रेन र मसल बाहिरिएपछि देश त खत्तम हुन्छ । यसमा राज्यले मात्र होइन, हामी सबैले बेलैमा सोच्नुपर्दछ । यसले सामाजिक र मानसिक रुपमा समेत नराम्रोसँग असर पुर्याएको छ । श्रीमान पैसा कमाउन विदेश, श्रीमतीहरु गाउँमा एक्लै । बालबालिका बुबाको साथमा खेल्न पाएका छैनन् । बृद्ध बाआमा, छोराको बाटो कुरिरहेका हुन्छन् । गाउँको बारी बाँझै छ । युवा गाउँमा छैनन् ।

कृषी प्रधान देश भनेका छौँ, एक दुई ठाउँमा नमुना बाहेका अरु खास केही छैन । यसरी हेर्दा, देश सबैतिरबाट खोक्रो बन्दै गएको छ । युवा बिदेश जानबाट रोकिएन भने दिर्घकालिन रुपमा देश विकासमा निकै ठूलो असर पर्छ । भौतिक पूर्वाधर निर्माणको लागि मात्र होइन, सामाजिक र मानसिक रुपमा पनि यसले नकारात्मक असर पारिरहेको छ ।

समाजमा हुनेखाने र हुँदाखाने बीचको रेखा कोरिएको छ, पैसा हुने अष्ट्रेलिया र अमेरिका, नहुनेहरु खाडी मुलुक जानुपर्ने ? यसले हाम्रा बालबालिका मात्र होइन, समाजलाई समेत असर गरेको छ ।
विस्तारै देशप्रतिको जिम्मेबारी बिर्सदै जान्छौँ । अहिले त बच्चाहरुलाई पनि आभिभावकले विदेश जाँदा कुन विषय पढ्यो भने सजिलो हुन्छ भन्नेबाट सोच्न थालेका छन् । यसरी त देश कहिल्यै बन्दैन । बनाउने त तपाई हामीले मिलेर हो ।

तर राज्यले नयाँ नयाँ देशहरुसँग श्रम सम्झौता गरिरहेको छ । एउटा युवाको हिसाबले यसबारेमा के भन्नुहुन्छ ?

देशमा रोजगारी छैन । तत्कालीन रुपमा रोजगार सृजना गर्नु ठीकै हो । रेमिट्न्सले देश पनि चल्ला,तर यसले दिर्घकालिन रुपमा निकै ठूलो असर गर्ने छ । सरकारले अन्य मुलुकहरुसँग श्रमसम्झौता मात्र होइन, स्वरोजगारको लागि नयाँ नीति योजना ल्याएको छ । त्यसको खासै प्रचार हुँदैन । तर, श्रम सम्झौताको बारेमा मात्र मिडियामा हेडलाइन बन्छ ।

सरकारले कृषिको लागि र अन्य उधोग सञ्चालनको लागि दिएको अनुदानका बारेमा प्रचार नै हुँदैन । यसको मतलब पूर्ण छ भन्न खोजेको होइन, रोजगारको लागि धेरै योजना र नीतिहरु बन्न सक्ने ठाउँहरु छन् । राज्यले जसरी हुन्छ देशमै रोजगारी सृजना गर्नेगरी योजना बनाईदिए हुन्थ्यो जस्तो लाग्छ ।

चाहेर पनि देश फर्कन नसकिरहेका युवाहरुलाई केही सन्देश छ कि ?

म त भन्छु ,नेपालमा केही भएकै छैन । यहाँको माटोमा, हावामा र पानीमा पैसा छ । विदेश जानु पर्दैन । खाली त्यसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने नयाँ तरिकाले सोचेर  काम गरे पुग्छ ।
नेपालमा आएर जागिर पाउन गाह्रो होला तर, विजनेस सुरु गर्नुहुन्छ भने धेरै अवसरहरु छन् । तपाईसँग भएको क्षमतालाई देशमा लगाएर कुनै विजनेस सुरु गर्नुभयो भने आफूमात्र होइन, अन्य युवाहरुलाई पनि रोजगारी दिन सक्नुहुन्छ ।

सबैले त भन्न मिल्दैन, तर अधिकांस नेपाली दाजुभाई, दिदी बहिनीहरुले विदेशमा लेबरकै काम गर्ने हो । केही राम्रो पोष्टमा रहेर काम गर्नुभएको पनि छ । तर त्यो संख्या निकै न्यून छ । लेबरमात्र काम गर्दा हाम्रो क्षमताको प्रयोग हुँदैन । पैसा कमाईन्छ तर आफ्नो रचनात्मक इनपुट हुने ठाउँ हुँदैन । विस्तारै आफूभित्र भएको क्षमतामा ह्रास हुँदै जान्छ ।

देशमा भिजनरी युवाहरुको कमी छ । उद्यम चलाउन चाहने युवाहरुको लागि चारैतिर अबसर छ ।विकसित मुलुकमा हरेक कुरामा ठूलो प्रतिस्पर्धा हुन्छ तर नेपालमा जे गरे पनि नयाँ प्रयोग नै हुन्छ । हामी युवाहरुले बौद्धिक हिसाबले सोच्यौ भने आफूले मात्र लिने होइन,रोजगार दिन पनि सकिन्छ । आउनुहोस्, विदेशबाट सिकेको सिपलाई देशमा लगाऔं ।

श्रृखलाले देशको पहिलो महिला प्रधानमन्त्री बन्छु भनिन् भन्ने हल्ला निकै चल्यो, बास्तविकता के थियो ?

कुरा धेरै अगाडिको हो । कुनै एउटा मिडियामा कुरा गर्दै जाँदा, ‘उहाँले सोध्नु भएको थियो, श्रृखलाकोे सबैभन्दा ठूलो रहर के हो ?’ त्यसमा मैले नेपालको प्रधानमन्त्री बन्ने रहर छ भनेको थिए । मैले अहिलेसम्म प्रधानमन्त्री मै बन्छु भनेको छैन । रहर त हुन्छ नि । त्यसैलाई कसैले सकारात्मक रुपमा लेख्नुभयो । कसैले नकारात्मक रुपमा लेख्नुभयो । मैले एक पटक भनेको थिएँ, मिडियाले हजारौँ पटक भन्दा सबैतिर फैलियो । सायद, राजनीतिक परिवारमा हुर्केको भएर होला, मिडियामा यो कुराले प्राथमिकता पायो । तर, जो कोही भएपनि महिला प्रधानमन्त्री बनेको हेर्ने रहर बाँकी नै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा के—के कुरा राख्ने मौका मिल्यो ?

प्रधानमन्त्रीज्यूको समय कस्तो हुन्छ हामीले बुझ्नु पर्छ । छोटो समय भेटेको थिएँ । भेटमा पर्यटन क्षेत्रको विकास र निर्मला हत्याकाण्डका बारेमा कुरा राखेको थिएँ । बाँकी मुद्धा उहाँसँग पुर्याउनको लागि आप्नो सल्लाहकारसँग समन्वय गराईदिनुभएको छ ।

दाइजोको कारण नेपाली महिलाले ज्यान गुमाईरहेका छन् ? यसलाई रोक्न के गर्नु पर्ला जस्तो लाग्छ तपाईलाई ?

यी केसहरु मिडियाले नल्याएको भए गाउँका कुरा गाउँमै हराएर जाने थिए होला । यो सामाजिक अपराध हो । यसमा कानुन बलियो हुनुपर्छ । दाइजो लिने र दिने दुबैलाई तत्काल कार्वाही हुनुपर्छ । चलिआएको चलन बाबुआमाले दिए भनेर नजरअन्दाज कसैले गर्नु हुँदैन । दाइजोको कारण महिलामाथि हिंसा भैरहेको छ भन्ने थाहा छ तर, समाजिक सदभाव विग्रन्छ भनेर हो वा के हो मानिसहरु चुपचाप हुन्छन् । त्यसैले सबैभन्दा पहिला जनचेतना जगाउन जरुरी छ ।

दोस्रो, महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्यो । अहिले पनि कति ठाउँमा दाईजो विरुद्ध लड्ने चेतनाको विकास महिलामा भएको छैन । आर्थिक रुपमा बलियो नहुँदासम्म महिलाले बोल्न सक्ने अवस्था पनि हुँदैन । अन्याय सहनु पर्ने बाध्यता हुन्छ । आर्थिक रुपमा बलियो, भए आफूमाथिको अन्यायविरुद्ध बोल्ने आँटआउँछ ।
महिलामाथि हुने हरेक हिंसाको अन्त्य गर्न, राज्य र महिला अधिकारको क्षेत्रमा काम गर्ने सबैले महिलालाई कसरी हुन्छ आर्थिक रुपमा बलियो बनाउने योजनानै ल्याउनु पर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com