ह्यारी भण्डारी : पर्वतमा सरकारी स्कुलदेखि अमेरिकी राज्यसंसदसम्मको संघर्षपूर्ण यात्रा


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

– किशोर पन्थी / अरुणा रायमाझी

‘पहाडबाट निस्केको पानीले,कहिल्यै सोध्दैन, समुन्द्र कहाँ पर्छ भनेर ! उसले आफ्नो बाटो आफै बनाउँदै समुन्द्र भेट्न जान्छ ।’ झण्डै एकघण्टा लामो कुराकानीको क्रममा ह्यारीले निकै दार्शनिक पारामा भने ।

वास्तवमा यो कुरा अमेरिकाको मेरिल्याण्ड राज्यसंसदमा चुनाव जित्ने नेपाली अमेरिकन ह्यारी भण्डारीको जिवनमा मेल खान्छ । जसले अमेरिकामा यो स्तरको चुनाव जित्ने पहिलो नेपाली अमेरिकन बनेर इतिहास कायम गरेका छन् ।

उनी अमेरिकामा नै जन्मे हुर्केका दोश्रो पुस्ताका नेपाली होइनन् । नेपालमा नै सरकारी स्कुल र सरकारी विश्वविद्यालयमा पढेर केही बर्ष अगाडिमात्र अमेरिका आएका पर्वत जिल्लाका एक संघर्षशिल युवा हुन् ।

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनका साथमा ह्यारी ।

एसएलसीसम्म पर्वतमा

पहाडी जिल्ला पर्वतको काखमा हुर्केका ह्यारी सामान्य किसान परिवारमा जन्मेका थिए । उनको बाल्यकाल पर्वतकै डाँडापाखामा बित्यो । उनले गाउँकै सरकारी विद्यालयमा अध्ययन गरे ।

गाउँको सरकारी स्कुलबाट एसएलसी पास गेरका ह्यारी जेहेन्दार विद्यार्थी थिए । पढाईमा तेजिला ह्यारीले पटकपटक कक्षा जम्प गरे । कक्षा ६ बाट एकै पटक कक्षा ८ मा भर्ना गरियो उनलाई ।

हरेक दिन विद्यालय पुग्न उनलाई झण्डै १ घण्टा नै लाग्थ्यो ।

विहानै खानाखाएर निस्केपछि एकैपटक बेलुका खानाखान घरमै आउनुपर्ने बाध्यता थियो । लाहुरे बुबाले भारतबाट कमाएर ल्याएको पैसाले स्कुलको छाना टालेको देखेका ह्यारीले शिक्षाको महत्व राम्रोसँग बुझेका थिए । त्यसैले उनले बाल्यकालदेखि नै खुब मिहिनेत गरेर पढे ।

एसएलसीपछि पोखरा

एसएलसीमा राम्रो नम्बर लिएर पास गरेका ह्यारी उच्चशिक्षा हाँसिल गर्न पर्वतबाट पोखरा ओर्लिए । त्यहाँ पनि उनी सरकारी क्याम्पसमा भर्ना भए । नेपाली साहित्यमा उत्तिकै रुची भएका उनी विश्वको साहित्य बुझ्न अँग्रेजी साहित्यमा भर्ना भए । कलेज पढ्दै गर्दा खर्च धान्नका लागि खाली समयमा उनले स्कुलमा पढाउन थाले ।

‘जिवन संघर्षपूर्ण नै हुन्छ । सुन्दा सामान्य लाग्ला,तर त्योबेला गाउँबाट बजारमा आउनु पनि ठूलै संघर्ष गर्नुपर्दथ्यो ।’ समाजिक काममा सधै अगाडी रहने ह्यारी भन्छन् ‘अरुलाई सहयोग गर्न पाउँदा,मनमा छुट्टै आनन्द आउँछ । यो भित्रिमनले महसुस गर्ने कुरा हो, तपाईलाई कसरी सुनाउँ ।’

पोखरा पछि उनी अध्ययनको शिलशिलामा काठमाडौं आए । काठमाडौंमा उनले आफ्नो पढाईलाई जारी राखे । साथै स्कुलहरुमा पनि पढाए । उनी त्यहाँ दुईवटा प्राइभेट स्कुलमा प्रिन्सिपल समेत भए ।

‘मेरो पहिलो उदेश्य अप्ठ्यारोमा रहेका, दुःखीहरुलाई सहयोग गर्ने थियो । स्तर अनुसारको सहयोग गर्दै आएको छु । प्राईभेट स्कुलको प्रिन्सिपल हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुलाई निशुल्क शिक्षाको लागि सहयोग गरें ।’ ह्यारी भन्छन् ।

मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा ८ नम्बर डिस्ट्रिक्टबाट बिजय भएका ह्यारी भण्डारीले आफ्नो विगत सम्झँदै सुनाए ‘प्राइभेट स्कुल पढेको होइन । गाउँको सरकारी स्कुल पढेँ । अन्य नेपाली विद्यार्थीले जस्तै,मैले पनि अंग्रेजी घोकेरै पास गरेको हुँ । अंग्रेजी साहित्यमा मास्टर्स डिग्री पनि सरकारी कलेजबाटै गरे । तर, यो मुकाम हाँसिल गर्न अथक परिश्रम गरेको छु । नेपालको सरकारी स्कुलको अवस्था तपाईलाई थाहा नै छ ।’

नेपालका सरकारी स्कुल र कलेजको भौतिक सुविधा र पढाईको स्तर हेर्दा लाग्छ, ह्यारी बहुप्रतिभाशाली ब्यक्ति थिए । उदेश्य प्राप्तिका लागि कडा मेहनत गर्नुको साथै अनुशासित ह्यारी अमेरिकाको राज्यसंसदमा झण्डा गाड्न सफल भएका छन् । यो नेपालीहरुको लागि गौरवपूर्ण क्षण हो ।

अमेरिकामा रातभर ग्यास स्टेशनमा

असफलता झेल्न नसक्नेहरु सफलतको हकदार बन्न सक्दैनन् भन्ने मान्यता राख्ने ह्यारीको बिगत चुनौतिपूर्ण नै थिए । मनमा विश्वास र कामप्रति दृढसंकल्प भए, चाहेका धेरै कुरा आफ्नो पोल्टोमा पर्दछन् भन्ने उदाहरण बनेका छन्,अहिले ।

सन् २००५ मा अमेरिकामा कार्यपत्र प्रस्तुत गर्ने सिलसिलामा अमेरिका आएका ह्यारी,नेपाल फर्किएनन् । यतै बसे । सुरुमा ग्यास स्टेशनमा रातभर काम समेत गरे । रातको समयमा काम गर्दा समेत उनी कविता लेख्ने गर्दथे ।

ग्यास स्टेशनमा काम गर्दा समेत आफूलाई कुनै हिनताबोध नभएको बताउँछन् उनी । आफू आफ्नो लक्ष्यमा स्पष्ट भएकाले जस्तोसुकै काम गर्दा पनि हिनताबोध नभएको उनको भनाई छ ।

नेपालको पढाईले अमेरिकामा अध्यापन

ह्यारी २०११ मा अमेरिकन नागरिक बने । नेपालमा १३ वर्ष शिक्षक पेशामा रहेर काम गरेका उनले पछि अमेरिकामा पनि अध्यापन पेशा नै रोजे ।

अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका ह्यारी हरेक बिषयलाई नजिकबाट अध्यायन र अनुसन्धान गर्ने कुरामा सधै अगाडि थिए । काम गर्दै जाँदा उनलाई पुरानै पेशामा फर्कने इच्छा जाग्यो ।

ह्यारीलाई राम्रोसँग थाहा थियो, नेपालको सरकारी स्कुल र कलेजको पढाईले अमेरिकाको शिक्षण पेशामा जानु सजिलो छैन । तर,उनलाई आफूप्रति पूर्णविश्वास थियो ।

त्योबेला ह्यारीलाई सहयोग गर्ने कोही थिएन । तर, आफैलाई आफैले सम्झाउँदै, अगाडि बढे । हरेक चुनौतिको सामाना गर्नसक्ने उच्च मनोवल आफै तयार गर्दथे । मनमा दृढविश्वास र अठोट भए सबै काम संम्भव हुन्छ भन्ने बुझेका ह्यारीले गुगलको सहारा लिए ।

अमेरिकामा शिक्षक बन्नका चालिने प्रोसेसका बारेमा धेरै कुरा गुगलबाटै थाहा पाए । सानैदेखि आफुले सोचेको कुरा पूरा नहुँदासम्म दिनरात एक बनाएर काम गर्ने स्वभावका ह्यारी, यहाँ पनि त्यही गरे । जसरी पनि उनी शिक्षण पेशामा फर्कन चाहन्थे । सबै प्रोसेस पुरा गरेर लाइसेन्स लिन परिक्षा दिए । पास पनि भए । जब पढाउन पाउने लाइसेन्स हात पर्यो, त्यसपछि बल्ल सुरुभयो उनको अर्को संघर्ष ।

सपरिवार ह्यारी ।

यहाँको संस्कार र संस्कृतिसँग घुलमेल भएर पढाउनु सामान्य कुरा थिएन । जिवनमा नयाँ र चुनौतिपूर्ण काम गर्न रुचाउने ह्यारीका लागि सुनौलो अवसर थियो । यो अवसर गुमाउन चाहाँदैन्थे । मेहनतको अगाडि, पहाड मैदान बन्छ । ‘मनै मनमा गन्थन गर्दै आफैलाई भन्थे, जित्नुभन्दा पहिला हतास गर्ने ठूला—ठूला बाधा अड्चनहरुको सामाना गर्नुपर्दछ, बल्ल सफलता हात पर्नेछ ।’

सुरुमा अमेरिकाको कुनै पनि युनिभर्सिटी नपढेका उनले नेपालको सर्टिफिकेटले अमेरिकाको कलेजमा पढाउन थाले । भन्छन् ‘सही समयमा सही निर्णय लिने आट गर्ने मान्छे सफल हुन्छ ।’ उनी यहाँसम्म आउनुका पछाडि कडा मेहनत र अथक प्रयासनै हो ।

नेपालको पहाडी युवा । त्यो पनि सरकारी स्कुल र कलेज पढेको मान्छे । अमेरिकनहरुको शिक्षक बन्नु चानचुन कुरा होइन ।

ह्यारी पुरै इमान्दारीताका साथ शिक्षण पेशामा लागे र अमेरिका बस्नुको मुख्य उदेश्यलाई पच्छाउन थाले । समय बित्दै गयो । ह्यारी अमेरिकी राजनीतिमा प्रवेश गरे । राजनीति क्षेत्रमा पनि उनले इमान्दारीता र आफ्नो क्षमतालाई राम्रोसँग प्रस्तुत गर्न सफल भए । जसको कारण उनले राज्यसंसदको लागि टिकट पाए । पहिलोपटक पराजित हुँदापनि उनी थाकेनन् । निरन्तर लागिपरे । अन्तत चुनाव जिते । र इतिहास कायम गर्न सफल भए ।

‘नेपालको क्षमता अमेरिकामा कामलाग्छ’

नेपालका सर्टिफिकेट विदेशमा काम लाग्दैन भन्नेहरुसँग सहमत छैनन् उनी । उनले भने‘नेपालमा पढेका हरेक कुरा विदेशमा काम लाग्छन् । यहाँको नियम मान्नुपर्छ ,त्यो फरक विषय हो । तर, आफ्नो कामलाई निरन्तरता दिनुभयो भने सफलता अवश्य मिल्छ । त्यसको लागि कम्र्फट जोनबाट बाहिर आउनै पर्छ ।’ ‘तर, बिडम्वनाको कुरा अहिले नेपालबाट राम्रो प्राइभेट कलेज पढेर आएका नेपाली दाजुभाई समेत कम्र्फट जोनमा बाँचिरहेका छन् । यसरी त कुनै कुरा काम लाग्दैन ।’

ह्यारी अगाडि थप्छन् ‘मैले केही मानिसहरुको बुझाईमा समस्या देखेको छु । नेपाल छोड्दैमा हाम्रो परिचय बदलिदैन । बाहिर बसेर नेपालको सरकारले के गर्यो वा गरेन भन्दैमा समय खेर फाल्नुभन्दा पनि हमीले देशको उन्नत्तिको लागि के गर्नसक्छौँ त्यसमा ध्यान दिन जरुरी छ । हरेक काम गर्दा सकारात्मक सोचाइ लिएर बढ्नु पर्दछ ।’

आफू को हुँ र कहाँबाट आएको हुँ भन्ने कुरा कसैले पनि जिवनमा भुल्न नहुँने बताउँदै भने ‘नेपाली अमेरिकन राजनीतिज्ञ हुनुमा मलाई गर्व छ । तर, म को हुँ ? कहाँ बाट आएको हुँ ? भन्ने बिर्सिए भने मेरो अस्तित्व रहन्न । आफ्नो पहिचानलाई अझै संरक्षण गरेर लैजाने मेरो अर्को, मिसन हो ।’ ‘आफ्नो जन्मभूमिलाई संसार भर चिनाउने मौका मिलेको छ । म यसको भरपूर प्रयोग गर्नेछु ।’

‘अपरिचत माटोमा नयाँ बिऊ झांगिन केही समय लाग्छ’

‘नविनताको खोजीमा, अपरिचत माटोमा नयाँ बिऊ झांगिन केही समय लाग्छ । त्यो मर्दैन । अहिले बिउँ रोप्यौं भने विस्तारै झांगिदै जान्छ । यसको अर्थ हाम्रा भावी सन्ततीहरुले यसको फल खानपाउने छन् । मेरो प्रयास त्यही हो ।’

हामीले बुझ्नु पर्दछ कि नेपाली अमेरिकन बच्चाहरुको भविश्य सुन्दर छ । उनले अमेरिकामा रहेका नेपालीहरुको मानसिकतालाई दर्शाउँदै भने ‘केही मानिसलाई लाग्छ हामी खतम भयौँ । त्यो पटकै होइन, अमेरिका ठूलो सम्भावना भएको देश हो । मोती निकाल्न समुन्द्रमा आफै हाम फाल्नुपर्छ ।’

सीएनएनका चर्चित पत्रकार एण्डरसन कुपरका साथमा ह्यारी ।

‘ह्यारीको जीतबाट सिक्नसकिने कुरा’

तपाईको यो जीतबाट नेपालीले के सिक्न सक्छन् भन्ने हाम्रो प्रश्नमा उनले भने ‘आकाशमा चम्केको तारालाई बादलले छेके पनि वा कसैले नहेरे पनि ऊ चम्कीरहन्छ । चम्कने ताराहरुको गुण हो । हामीले बुझ्नु पर्दछ कि नेपाली अमेरिकन बच्चाहरुको भविश्य सुन्दर छ ।’

‘संसारले तपाई के भन्छ, भन्दा पनि तपाई आफ्नो बारेमा के सोच्नु हुन्छ, त्यो महत्वपूर्ण कुरा हो । त्यसको लागि आफुसँग क्लीयर दुष्टिकोण हुनुपर्छ । अमेरिकन राजनीतिमा आउनुपूर्व पटक-पटक हार झेल्ने हिम्मत हुनुपर्दछ ।’

ह्यारीले भने ‘सामान्य जिवन स्तरभएको मान्छे , त्यसमा पनि नेपाली अमेरिकन । आफै सोच्नुस् यहाँसम्म आउन मैले कति मेहनत गरेको होला ?’

अमेरिकी राजनीतिमा नेपाली अमेरिकन आउनु भनेको घनघस्याको उक्कालो चढ्नु जस्तै हो । राजनीतिक यात्राको अनुभव सुनाउँदै भने ‘इमानको भारी बोकेर नम्बे डिक्रिको ठाडो उक्कालोमा चढ्दा, एकदम्मै थकाई लाग्छ, बीचबीचमा त बोकेको भारी पल्टाई दिउँ जस्तो लाग्छ । तर, उदेश्य के हो भन्ने मुख्य हुन आउँछ ।’

अमेरिकन राजनीतिमा नेपाली आउन सक्ने बताउँदै भने ‘यहाँ आरक्षण छैन, सबैले एक अर्कासँग प्रतिस्पर्धा गर्ने हो । उच्च क्षमता चाहिन्छ । शिक्षा र समाज विकासमा सबैभन्दा राम्रो योजना हुनुपर्छ । भित्री आत्मदेखि योजनाबद्ध रुपमा लाग्नुपर्छ । मेहनत गर्नु पर्यो, राजनीतिमा जो कोही नेपाली आउन सक्नुहुन्छ ।’ तर जीत हासिल गर्न हार्नका लागि तयार हुनुपर्छ भन्छन् ह्यारी । उनी भन्छन् ‘जो मान्छे हार स्वीकार्नका लागि तयार हुन्छ, जीत उसैको हुन्छ । ’

बेदलाई साक्षी राखेर सपथ

ह्यारीले संसदभित्र हिन्दु धर्मग्रन्थ वेदलाई साक्षी राखेर सपथ लिए । उनले भने ‘वेद धर्मशास्त्र मात्र होइन,यो त,शिक्षा, प्रतिवद्धता, आत्मविश्वास पनि हो । दोस्रो कुरा, म को हुँ भन्ने कुरा मैले आफूलाई चिन्नुपर्छ । आफूलाई चिन्न सकिएन भने, यो क्षेत्रका सात लाख जनताको पक्षमा वकालत गर्न सकिदैन ।’

उनले आफ्नो जितमा पूर्खाको नाम जोड्दै भने ‘हाम्रा पूर्खाले रचेको इतिहास र कमाएको इज्जतको कारण संसार भर नेपालीलाई मन पराउँछन् । जसको कारण मैले चुनाव जितेको हुँ । मलाई यहाँको जनताले चिनेरै भोट दिएका हुन । प्रतिपक्ष दललाई हराउनको लागि जनताले मलाई राम्रो अनुसन्धान गरेको हुनपर्छ,यत्तिकै भोट दिएका छैनन् ।’

ह्यारीकोे जितले संसार भर नेपालीहरुलाई मन पराउँछन् भन्ने सन्देश दिएको उनको तर्क छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com