पशुपालकको कथामा बनेको चलचित्र ‘गोपी’को टिमलाई भेटे कृषि मन्त्रीले


प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले फिल्म ‘गोपी’को टिम सँग भेट्दै फिल्मप्रति आफ्नो ऐक्यवद्धता जनाएको भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले ‘गोपी’का कलाकार तथा निर्माता निर्देशकसँग भेट गरेर फिल्मप्रति ऐक्वद्धता जनाएका छन् । दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनालले आफू पनि कला पारखी भएको बताउँदै फिल्मले सान्दर्भिक विषय उठाएको भन्दै फिल्म निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए ।

‘म नेपाली फिल्मको नियमित दर्शक हुँ । हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा पनि नेपाली फिल्म हेर्ने गर्छु । धेरै फिल्ममा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु,‘उनले भने, ‘तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरें । यस्ता फिल्म ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा ‘गोपी’ बनेकाले मन्त्रालय फिल्मसँग सहकार्य गर्न तयार रहेको पनि बताए । ‘नीति नियम के छन् त्यो हेरेर तपाईंहरुलाई खबर गरुँला । तर, फिल्मप्रति मन्त्रालय सकारात्मक भएको जानकारी गराउँछु,’ मन्त्री खनालले भने ।

निर्देशक दीपेन्द्र लामाले फिल्मले श्रमको सम्मानमा जोड दिएको बताए । ‘कृषिमा भविष्य छैन भनेर लाखौं युवा विदेशमा गएर त्यही काम गरिरहनु भएको छ । त्यतिको मेहनत यही गर्ने हो भने यहाँ पनि कम आम्दानी छैन है भन्ने सन्देश फिल्मले दिन खोजेको छ,’लामाले भने, ‘ फिल्म हेर्दा पशुपालन गरिरहेका लाखौं मानिसले आफ्नै कथा हेरेको महसुस गर्नुहुन्छ ।’

कृषि मन्त्रीको निमन्त्रणमा फिल्मको गोपीको तर्फबाट कलाकारहरू बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल सहभागी थिए । अभिनेत्री सुरक्षा पन्तले मौलिक फिल्ममा सरकारको चासो गाढा हुनु पर्ने कुरामा जोड दिएकी थिइन् भने अभिनेता बिपिन कार्कीले ‘गोपी’ जस्ता मौलिक फिल्ममा सरकारको सहयोगले थुपै्र मौलिक फिल्म बन्ने वातावरण सिर्जना हुने कुरामा जोड दिएका थिए ।

प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको फिल्म माघ १८ बाट देशभर प्रदर्शन हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com