प्रहरी प्रमुखमा सर्बेन्द्रका ९ महिना, अपराध नियन्त्रणदेखि प्रहरीको स्तरोन्नतीसम्म २१ सफलता


प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार

सर्बेन्द्र खनालले नेपाल प्रहरीका प्रमुखका रुपमा जिम्मेबारी सम्हालेको ९ महिना पुग्दैछ । यो अवधिमा खनालको नेतृत्व आइसकेपछि नेपाल प्रहरीले कैयन महत्वपूर्ण उपलब्धीहरु पनि हासिल गरेको छ । कतिपय सन्दर्भमा आलोचना खेप्नु परेपनि खनालको नेतृत्वमा नेपाल प्रहरीले गरेका उपलब्धीहरुलाई कम आँकलन गर्न मिल्दैन ।

९ महिनाको अवधिमा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको कार्यकालमा के कस्ता कामहरु भए ? केही महत्वपूर्ण उपलब्धीहरुलाई खसोखासले लिपीबद्ध गर्ने प्रयास गरेको छ ।

१, यो अवधिमा झण्डै ४३ किलो अवैध सुन बरामद भएको छ । सुन तस्करहरुका लागि स्वर्ग बन्दै आएको नेपालमा तस्करीको सुन बरामद हुन थालेपछि तस्करहरुको मनोवल गिरेको छ ।

२, खनाल नेतृत्वमा आइसकेपछि प्रहरीले १ सय ५२ थान साना ठूला अवैध हतियार बरामद गरेको छ । विभिन्न अपराधका लागि प्रयोग हुने त्यस्ता हतियारका साथमा २ सय ८३ राउण्ड गोली समेत बरामद गरिएको छ । साथमा एकसय ५० जना संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको छ । यदि यी हतियार र संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सक्षम नभएको भए अपराधीहरुले त्यस्ता हतियारहरु अपराधकर्ममा लगाउने निश्चित थियो ।

३, यो अवधिमा लामो समयदेखि फरार ७३२ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । यसअगाडि उनीहरु अपराध गरेर खुलेआम घुम्दै आएका थिए । जसका कारण अपराधीहरुको मनोवल बढेको थियो । तर लामो समयदेखि फरार रहेका उनीहरु पक्राउ पर्नुले अपराधीहरुको मनोवललाई कमजोर बनाएको छ ।

४, लागु औषध नियन्त्रणमा पनि प्रहरीले राम्रै सफलता हासिल गरेको छ । यो अवधिमा झण्डै २७ सय ५९ किलो गाँजा, ५२८ किलो चरेस, ६ किलो हेरोइन, ११ किलो अफिम बरामद गरेको छ भने त्यसमा संलग्न २८३६ जनालाई पक्राउ गरेको छ । १८२६ जनाबिरुद्ध मुद्दा समेत दायर गरिएको छ । यसरी लागु औषध नियन्त्रणमा प्रहरीले हासिल गरेको सफलता साँच्ची प्रशंसनीय रहेको छ । यही अवधिमा प्रहरीले झण्डै १२ लाख ५० हजार लिटर मदिरा नष्ट गरेको छ । यस्तो मदिराबाट कैयनको ज्यान समेत जाने गरेकोमा प्रहरीको यो सकृयताले कैयनको ज्यान बचेको छ ।

५, प्रहरीले विभिन्न अपराधमा संलग्न, शंकित र अभियुक्त अपराधीहरुको खोजतलासका निम्ति इन्टरपोल मार्फत १४ वटा रेड नोटिस र १६ वटा डिफ्युजन नोटिस जारी गरेको छ । इन्टरपोलबाट सुचनाको आधारमा नेपालभित्र अपराध गरेर फरार रहेकाहरुमध्ये स्वदेशभित्रैबाट ५ जना र विदेशबाट ५ जना पक्राउ गरी नेपाली ल्याउन सफल भएको छ ।

६, विदेशी उच्चपदस्थ पाहुनाहरु नेपाल भ्रमणमा आउँदा कुनै अप्रिय घटना हुन नदिई शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी सफल भएको छ । पाकिस्तानका राष्ट्रपति शाहिद खकान अब्बासी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नेपाल प्रहरीले मिलाएको सुरक्षा प्रबन्ध विशेष उल्लेखनीय छ । त्यस्तै भदौमा सम्पन्न बिमस्टेक सम्मेलन र मंसीरमा सम्पन्न एशिया प्यासेफिक सम्मेलनमा प्रहरीले मिलाएको शान्ति सुरक्षा पनि प्रशंसनीय रह्यो ।

७, सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिण्डिकेट हटाउने नेपाल सरकारको निर्णयको विरोधमा बन्द , हड्ताल जस्ता आन्दोलन समेत भए । प्रहरीले त्यस्तो व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न सफल भयो । जसका कारण सिण्डिकेट हटाउने निर्णय कार्यान्वयन हुनसक्यो ।

८, अविरल वर्षाका कारण भक्तपुर ठिमी नगरपालिका ५ र राधेराधे क्षेत्र वरपर डुबानमा परी फसेकाहरुलाई उद्दार गरी सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सफल भयो । यसरी उद्दारका काममा सफलता हासिल गर्दा नेपाल प्रहरीले सबैतिरबाट वाहवाह पाउन सफल भयो ।

९, नेपाल प्रहरीका सबै इकाईहरु कतिपय पछिल्ला कानुनबारे अपडेट नहुँदा समस्या पैदा हुने गरेको छ । यो अवस्थामा मुलुकी अपराध ऐन २०७४, फौजदारी कार्यविधि ऐन २०७४ , फौजदारी कसुर ऐन २०७४ सम्बन्धी पुस्तकहरु ३ हजार थान कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट माग गरी नेपाल प्रहरीको तल्लो युनिट प्रहरी चौकीसम्म पुग्ने गरी वितरण गरिएको छ ।

१०, प्रहरी नायव उपरिक्षकको कमाण्डमा ४ सदस्यीय टोली गठन गरी गत बर्ष अनुगमन नभएका अपराध अनुसन्धान गर्ने १ सय २३ इकाइको स्थलगत अनुगमन गरिएको छ । मानव अधिकार सम्बन्धि विषयगत तालिम र प्रशिक्षण प्रदान गरिएको छ । लैगिक हिंशा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि अन्तरगत अनुशिक्षण संचालन गरिएको छ । नेपालको अुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको प्रथम प्रादेशिक सम्मेलन सम्पन्न गरिएको छ । यस्ता गतिविधिले नेपाल प्रहरीको क्षमता र अनुभव विकाश गरेको छ ।

११, राजस्व संकलनको क्षेत्रमा पनि प्रहरीले राम्रो सफलता हासिल गरेको छ । खनाल प्रहरी प्रमुख भएयता प्रहरी कल्याण कोषबाट उपत्यका र बाहिर संचालित पेट्रोलपम्पबाट संकलित ६० लाख ८० हजार कर दाखिला गरिएको छ । त्यस्तै ८ लाख ९१ हजार ३ सय ७ जनालाई गरिएको ट्राफिक कारवाहीबाट ५७ करोड ७ लाख १७ हजार ५ सय राजस्व संकलन भएको छ ।

१२, विभिन्न प्रकारका चलखेलका कारण लामो समयदेखि अबरुद्ध सरुवा बढुवा लगायका प्रशासनिक कार्यहरु पनि खनालको पहल र नेतृत्वमा सुचारु गरिएको छ । जनपदतर्फ १२५० र प्राविधिकतर्फ १ सय ४७ नयाँ नियुक्ती गरिएको छ । त्यस्तै जनपदतर्फ ४८६७ र प्राविधिक तर्फ ३७३ जनाको बढुवा गरिएको छ । बढुवामा आएको अवरोधका कारण गिरेको प्रहरीको मनोवल उच्च बनेको छ ।

यो अवधिमा ३१ हजार ८ सय ७ जना जनपदतर्फ र २३१० जना प्राविधिक तर्फका प्रहरीको सरुवा र पदस्थापन भएको छ । विभिन्न तरिकाले लामो समय घरपाई मिलाएर खानेहरु, फाइदा हुने क्षेत्रमा खटिने भ्रष्टहरु लगायतलाई यो सरुवाले तह लगाएको छ ।

१३, प्रहरीको क्षमता विकाशका लागि विभिन्न तालिमहरु समेत संचालन गरिएका छन् । २४१२ जनाले स्वदेशमै आधारभूत तालिम र ५९७३ जनाले उन्नत तालिम पाएका छन् भने २३४ जनालाई अनुशिक्षण दिइएको छ । विभिन्न संघ संस्थाबाट १५२८ जनाले तालिम पाएका छन् । यो अवधिमा १३७ जनाले विदेशमा तालिम पाएका छन् । यसरी विभिन्न तालिम पाउने प्रहरीहरु १८ हजार २ सय ८४ जना रहेका छन् । यही अवधिमा १५ वटा नयाँ पाठ्यक्रम निर्माण र ९ वटा पुराना पाठ्यक्रम परिमार्जन गरिएको छ ।

१४, सर्बेन्द्र खनालको नेतृत्वमा गलत काम गर्ने कैयन प्रहरीलाई कारवाही गरिएको छ । ४६ जनालाई प्रहरीलाई नोकरीबाट हटाउनेसम्मको कारवाही भएको छ भने ७३९ जनालाई विभिन्न प्रकारका कारवाहीहरु गरिएको छ । राम्रोकाम गर्नेहरुलाई भने पुरस्कृत समेत गरिएको छ । यसरी पुरस्कृत हुनेहरु १२७३ जना रहेका छन् । नराम्रो काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिदा नराम्रो काम गर्नेको मनोवल घटेको छ भने राम्रो काम गर्नेको मनोवल बढेको छ ।

१५. खनालको नेतृत्वमा कैयन नीतिगत कार्यहरू समेत भएका छन् । गृहमन्त्रालय (मन्त्रिस्तरीय) निर्णय अनुसार अपराध अनुसन्धान कार्य योजना साउनेदखि कार्यान्वयनमा आएकोमा त्यसका लागि ८ करोड १४ लाख बजेट निकासा गराइएको छ । लैगक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०७२ लाई परिमार्जन गरी लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि, २०७५ निर्माण गरिएको छ ।

त्यस्तै महिला तथा बालबालिका सेवा केन्द्र रणनीतिलाई परिमार्जन गरी महिला तथा बालबालिका सेवा केन्द्र रणनीति, २०७५ निर्माण गरिएको छ । प्रहरी प्रधान कार्यालय परिसर भित्र रहेका सबै विभाग निर्देशनालय तथा महाशाखाबाट छुट्टा छुट्टै लेखा सञ्चालन हुँदै आइरहेकोमा आर्थिक वर्ष ०७५,०७६ को श्रावणबाट प्रहरी प्रधान कार्यालयको एक मात्र लेखा सञ्चालन गरी एकद्वार नीति अवलम्बन गरिएको छ ।

त्यस्तै संघीय प्रहरी इकाइ कार्यालयको र साईबर व्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यादेश निर्माण गरी सोअनुसार कार्यारम्भ गरिएको छ । साईबर व्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना संचालन नियमावलीको मस्यौदा तर्जुमा गरी स्वीकृतिको लागि पेश गरिएको छ ।

संघीय प्रहरी ऐनको मस्यौदाको लागि नेपाल प्रहरीको तर्फबाट राय पेश गरिएको छ भने नेपाल प्रहरीको सर्वेक्षण तथा अनुगमन समिति गठन गरिएको छ । त्यस्तै ६५०० जना प्रहरी कर्मचारीको दरबन्दी र २६९ वटा प्रहरी युनिटको माग गरिएको छ ।

१६, खनालको नेतृत्वमा कैयन संरचनागत कार्यहरू समेत भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार विभिन्न प्रहरी इकाईहरूको स्थापना तथा स्तरवृद्धिका लागि ३,१०१ दरबन्दी निकासा गरिएको छ । त्यस्तै विभिन्न प्रहरी कार्यालयहरूबाट १,४४६ जनाको दरबन्दी प्रादेशिक संरचना अन्तर्गतका कार्यालयहरूमा समायोजन गरिएको छ ।

७५३ स्थानीय तह मध्ये प्रहरी इकाई नभएका ३० स्थानीय तहमा प्रहरी निरीक्षकको नेतृत्वमा १४ र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १६ इलाका प्रहरी कार्यालय नयाँ स्थापना गरी हरेक स्थानीय तहमा प्रहरी कार्यालय पुर्याइएको छ । ९१ वटा प्रहरी कार्यालयमा इन्टरनेटको बिस्तार समेत गरिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट १६८ जना प्रहरी कर्मचारीहरूलाई प्रदेश संरचना अन्तर्गतको कार्यालयहरूमा समायोजन गरिएको छ भने प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण, प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण, प्रदेश ट्राफिक प्रहरी कार्यालय, प्रदेश प्रहरी विद्यालय, नयाँ थप भएका जिल्लाहरू ( नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) र रुकुम ( पूर्वी भाग ) स्थापना तथा सञ्चालनको लागि दरबन्दी निकासा भएको छ ।

संघीय प्रहरी इकाई कार्यालय सात मात्र कायम गरी अन्य सातलाई प्रदेश संरचना अन्तर्गतका कार्यालयहरू (प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण र प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण) मा समायोजन गरिएको छ । विशिष्टीकृत सेवा प्रदान गर्न साइबर व्यूरो र मानव बेचबिखन अनुसन्धान व्यूरो स्थापनाको लगि नयाँ दरबन्दी निकाशा भएको अनुसार स्थापन गरिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय अन्तर्गतका केही प्रहरी इकाईहरूको स्तरवृद्धि गरिएको छ ।
१७, आर्थिक बर्ष २०७४,०७५ सम्म महालेखा परीक्षकको कार्यालयबाट नेपाल प्रहरीको विभिन्न कार्यालयहरूको नाममा कायम रहेको कुल बेरुजू ६८ करोड ४१ लख ७० हजार रहेकोमा सर्बेन्द्र खनालको कार्यकालमा ५८ करोड, २५ लाख १८ हजार फर्छ्यौट गरिएको छ । प्रहरी प्रधान कार्यालयको विगतका आर्थिक वर्षहरूको झण्डै ७ करोढ बेरुजु महा लेखा परिक्षकको डोर समक्ष सम्परीक्षणको लागि पेश गरिएको छ ।

आईटी बेस मेगा सिटी कम्युनिकेशन नेटवर्कको लागि ५८ करोड ५५ लाख ७५ हजार थप निकासा प्राप्त गरी लेखापढी गरिएको छ भने प्रहरी कारवाही अझ बढी मानव अधिकारमैत्री बनाउन झण्डै ३३ करोड मूल्य बराबरका ७ वटा वाटर क्यानन खरीदको अन्तिम चरणमा रहेको छ ।
लामो समयदेखि खरीद कार्य हुन नसकेका स्केलका सामानहरू खरिद प्रक्रिया सकेर सामाग्री प्राप्त गरेर कर्मचारीहरूलाई वितरण समेत गरिएको छ ।

१८, नेपाल सरकारको नियमित बजेटबाट यो अवधिमा १७ वटा भवन निर्माण सम्पन्न भएका छन् । डिएफआईडीको एमआईपीपी परियोजना अन्तरगत २० वटा भवनहरु प्रहरीलाई हस्तान्तरण गरिएको छ । एडीबीको सहयोगमा सञ्चालित महिला तथा बालबालिका सेवा केन्द्र स्थापना सम्बन्धी परियोजना अन्तर्गत धादिङ, रसुवा, सुर्खेत, सप्तरी, सिराहा, महोत्तरी, प्यूठान र रोल्पा गरी ८ जिल्लाहरूमा महिला तथा बालबालिका सेवा केन्द्र भवनहरूको उद्घाटन गरिएको छ ।

नेपाल प्रहरीमा अटोमेटेड फिंगरप्रिन्ट आइडेन्टीफिकेशन सिस्टम स्तरोन्नतीका लागि युएओपीएस र साफरानबीच सम्झौता भएको छ । डाटासेन्टर निर्माण गरी प्रहरी प्रधान कार्यालय कम्प्युटर निर्देशनालयमा रहेका कोर नेटवर्क लगायतका सिस्टम रिलोकेट गर्ने कार्य भई भदौ ४ मा प्रहरी महानिरिक्षक खनालले उद्घाटन समेत गरेका थिए ।

प्रदेश नं १ को धरानमा आसरा सुधार केन्द्रको लागि भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालनको चरणमा रहेको छ । त्यस्तै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका लागि ७६८ रोपनी १३ आना, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका लागि ८२ बिगाहा ७ कठ्ठा र ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको लागि १० कठ्ठा लगायत विभिन्न प्रहरी एकाइहरूको लागि ठूलो परिमाणमा जग्गा प्राप्त गरिएको छ ।

१९, खनालकै कार्यकालमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय समझदारीहरू भएका छन् । संयुक्त राष्ट्र संघ शान्ति स्थापना मिशन कार्यालयमा प्रहरी महानिरीक्षकको उपस्थितिमा शान्ति स्थापना मिशनमा महिला प्रहरी कर्मचारीहरुको सहभागी संख्या खटिन कुल नफ्रिको २०५ प्रतिशत पुर्याउने प्रतिबद्धता अनुरुप एफपीयु छनौट कार्यदेश २०७५ जारी गरी कार्यन्यवनमा ल्याईएको छ । प्रहरी महानिरीक्षक खनाल र कतारका पब्लिक सेक्युरिटी डायरेक्टर जनरलसंग सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्र कतारमा हस्ताक्षर भयो । उक्त समझदारिबाट संगठित अपराध, आंतङकवाद जस्ता अपराधको न्यूनीकरणमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्समा सम्पन्न भएको अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को वार्षिक साधारण सभामा सहभागी भएर महानिरिक्षक खनालले इन्टरपोलसँगको सम्बन्धलाई अझ मजबुत बनाए ।

२०, सुचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थीत एसियन ओसेयानियन कम्प्युटिंग इन्डस्ट्री अर्गनाइजेशनबाट प्रदान गरिने डिजिटल गभर्मेन्ट अवार्ड नेपाल प्रहरीले पाउन सफल भएको छ । त्यस्तै संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम अन्तरगत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एसिया इन्भायरोमेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ पाउन सफल भएको छ ।

२१ सर्बेन्द्र खनालको नेतृत्वमा समुदाय र प्रहरी साझेदारी अवधारणा लागु गरिएको छ । समुदायप्रहरी साझेदारी कार्यक्रमको मिति कार्तिक ११ मा गृहमन्त्रीले उद्घाटन गरेपछि यो कार्यक्रम देशभर एकसाथ संचालनमा रहेको छ । यसअन्तर्गत मुलुकभरका ७५३ स्थानीय तहहरू मध्ये हालसम्म ७२८ वटा स्थानीय तहसँग सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ भने ३४३१ वटा विभिन्न समितिहरू गठन भैसकेको छ ।

नेपाल प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नको लागि पाठ्यक्रम तयार गरेको छ । दाइजो प्रथा, बाल विवाह, जबरजस्ती करणी, बालश्रम शोषण, साइबर अपराध, मानव बेचबिखन, घरेलु हिंसा लगायतका अपराध विरुद्ध चेतना जगाउन जानकारीमूलक पीएसए निर्माण गरी देशैभरका प्रहरी एकाइहरूबाट प्रसारण गर्न पठाइएको छ ।

काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिकाले १८ वटा सिसिटिभी क्यामेरा जडान गरी नियमित अनुगमनको लागि महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई हस्तान्तरण गरेको छ । त्यस्तै मोरङको सुन्दर हरैचा गाउँपालिकाले आफूलाई संघीय सरकारबाट प्राप्त १ थान सवारीको साधन स्थानीय प्रहरी चौकी गछिया मोरङलाई हस्तान्तरण गरेको छ ।

यसरी सर्बेन्द्र खनाल प्रहरी नेतृत्वमा आइसकेपछि केहीहदसम्म प्रहरी प्रशासनको मुहार फेर्न उनी सफल बनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com