देश दोहन गर्ने राजनीतिका चार प्रवृति

स्पष्ट रुपमा भन्दा यहाँ ४ थरी प्रवृति बोकेका राजनीतिक पार्टीहरु छन् , पहिलो : देशको श्रोत साधन दोहन गर्नेे, नदी नाला र स्थापित कलकारखाना बेचेर खाने । दोश्रो : डन, गुण्डा र माफिया पालेर कालो धन जम्मा गरेर खाने । तेश्रो : जनतालाई डर त्रास, धम्की देखाएर भोटको राजनीति गर्ने र चौथो : धर्मको आडमा राजनीतिक नामको पसल खोल्ने ।

नारायण राज पाण्डे  / नेपालमा प्रजा परिषद्ले राणा शासन विरुद्ध पहिलो राजनीतिक आन्दोलन सुरु गरे । त्यो आन्दोलन विभिन्न कालखण्ड पारगर्दै २०७२ सालमा जनतालेआफ्नो संविधान आफै लेखेपछि राजनीतिक क्रान्ति औपचारिक रुपमा पूरा भएको छ ।यो राजनीतिक परिवर्तनकालागि ७०/८० वर्ष आन्दोलन गरियो । ती आन्दोलनले उठाएका धेरै राजनीतिक मागहरु २०७२ सालमा घोषणा भएको संविधानमा समेटिन पुगेको छ । यो कालखण्डमा धेरै ठूला राजनीतिक परिवर्तन भए, पटक–पटक व्यवस्था परिवर्तन भए र कैयौँ सरकार आए, गए । राजनीतिक अधिकार र स्वतन्त्रता प्राप्त भयो तर, जनताले के पाएँ त ?

समाजका जटिल समस्या समाधान हुन सकेको छैन । भौतिक पूर्वधारको विकासको गति कछुवा चालमा छ । देशको अर्थतन्त्र गिर्दो अवस्थामा छ । देशमा रोजगारी नपाएर जिवन गुजाराको लागि युवा शक्ति मुग्लान पस्नु परेको छ । जुन ढंगले राजनीतिक परिवर्तन भयो त्यो अनुसार जनताको जीवनस्तर उक्सनु पर्ने थियो त्यो पटकै हुन सकेको छैन । जनताकोत्याग, तपस्या र बलिदानबाट राजनीतिक सफलता प्राप्त भएता पनि उनीहरुको जीवनस्तर झनपछि झन् ओरालो लाग्दै गाएको छ ।

हाम्रा तत्कालिन नेताहरु राजनीतिक क्रान्तितिर बढी केन्द्रितभए, राष्ट्रको सम्वृद्धि र विकास तिर पर्याप्त ध्यान दिएनन् । राजनीतिक परिवर्तनका लागि ७०/८० वर्ष लाग्यो । आर्थिक उन्नति अत्यन्तै कम भयो । त्यसो हुनुको मुख्य दोषी अहिलेका पुराना पार्टी र नेताहरु नै हुन । त्यसो भए नेपालमा विकासको सम्भावना नै छैन त ? त्यसो होइन, नेपालमा प्रसस्त सम्भावनाहरु छन् ।

जलश्रोतको हिसाबले हेर्दा हामीसँग राम्रो सम्भावना छ । तर, जनताले लोडशेडिङ्गकोमार खेप्नु परेको छ, सिंचाई नहूँदा जनताका खेतबारी बाँझै छन् र जनताले पानी पिउन पाएका छैनन् । जलश्रोत छ, सरकारले पर्याप्त मात्रामा सिचाईँ, बिउँबिजन र बजारको व्यवस्था गर्न नसकेकाले खाद्यान्न आयत गर्नु परेको छ । केही वर्षअघि नेपालबाट खाद्यान्न विदेशमा निर्यात हुन्थ्यो तर, अहिले गाँउगाँउमा विदेशबाट झिकाएको चामल खानु परेको छ । यसरी हेर्दा देशमा जलश्रोत पर्याप्त हुनुको के अर्थ रह्यो र? जडिबुटी जति पनि छ भनिन्छ, जनता सिटामल खान नपाएर मर्नु परेको छ, विदेशबाट अरबौँको औषधि आयत हुन्छ ।

जंगल प्रसस्त छ तर,विदेशबाट फर्निचर र चौकोसका काठ ल्याउनु परेको छ । जलवायुको हिसाबले पनि हाम्रो देश राम्रो मानिन्छ । हावापानीले दिए पनि हामी देशमा उत्पादनगर्दैनौँ, अमेरिकाबाट ल्याएको स्याउ र भारतबाट आएको केरा मन पराएका हुन्छौँ । यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ?

दिन प्रतिदिन नेपाली जनशक्ति रोजगारीको लागि विदेश पलायन भएको छ । तर अहिले निर्माण र कृषि मजदुरको लागि समेत भारतिय जनशक्तिमा भर पर्नु परेको छ । यस्तो हुनु राज्यको लागि ठूलो घाटा हो ।तर, सरकारले यी कुरामा ध्यानै दिएको छैन ।
यदि देशमा भएको सम्पत्तिलाई मात्र सदुपयोग र राम्रो व्यवस्थापन गर्न सकेको भए हाम्रो जीवनस्तर विकसित राष्ट्रको भन्दा कम हुने थिएन । विकास हुन नसक्नुको पहिलो कारण तत्कालिन नेता र राजनीतिक दलहरुको असक्षमता, अकर्मण्यता र राजनीतिलाई सेवाभन्दा पेसा र व्यवसायको रुपमा अंगाल्ने बाहेक राष्ट्रिय स्वार्थको लागि कुनै काम हुन सकेन ।

नयाँ संविधान त आयो तर राज्यसत्ता पूरानै नेता र पार्टीको हातमा पुगेको छ । संविधानमा रहेका राम्रा नीति र कार्यक्रम पनि कार्यान्वयन नहुने सम्भावना बढी रहेको पाइन्छ । यसले देश अल्पविसित हुँदै जाने खतरा पनि उत्तिकै बढेको छ ।

राजनीतिक क्रान्तिपछि देशमा गणतन्त्र आयो, निरंकुश राजतन्त्र फालियो तर, एउटा राजाको ठाउँमा ४/५ वटा रजौटाहरु देशले पाल्नु पर्ने बाध्यता रहेको छ । तीनै रजौटाहरुको एकाधिकार सिण्डिकेट सत्ताबाट देश चलेको छ । जसले गर्दा गलत राजनीतिक संस्कारको विकास हुँदै गएको छ । अदालतले भ्रष्ट्राचारी भनेर सजाय भोगेका नेता राजनीतिक पार्टीभित्र बहुमत भोटबाट बिजय भएको तितो यथार्थ हाम्रो सामु छ । यो भन्दा कुसंस्कार राजनीतिमा अरु के हुन सक्छ ?

पुरानो नेता र पार्टीमा देशको विकास गर्ने इच्छा शक्ति, नियत र उनीहरुको सामाथ्र्य छँदैछैन भन्दा फरक पर्दैन । अब यिनिहरुसंग आर्थिक सम्वृद्धि र देश विकाश गर्छु भन्ने नैतिक आधार पनि बाँकी छैन ।

स्पष्ट रुपमा भन्दा यहाँ ४ थरी प्रवृति बोकेका राजनीतिक पार्टीहरु छन् , पहिलो : देशको श्रोत साधन दोहन गर्नेे, नदी नाला र स्थापित कलकारखाना बेचेर खाने । दोश्रो : डन, गुण्डा र माफिया पालेर कालो धन जम्मा गरेर खाने । तेश्रो : जनतालाई डर त्रास, धम्की देखाएर भोटको राजनीति गर्ने र चौथो : धर्मको आडमा राजनीतिक नामको पसल खोल्ने । नेपाली जनता कोही पनि पुराना राजनीतिकपार्टीसंग सन्तुष्ट छैनन् । यिनिहरुबाट देश विकास नहुने प्रमाणित भैसकेको छ । यति हुँदा पनि जनताले उनीहरुलाई नै भोट दिन बाध्य भएका छन् किन भने यी दलको अर्को विकल्प थिएन ।

अब त्यो बाध्यताको अन्त्य भएको छ । देशमा विकल्प सहितको नयाँ राजनीतिक पार्टी उदाउँदै छ । पुरानो पार्टीको जड्ताबाट देशलाई मुक्त बनाउँदै विकासको खाका लिएर नयाँ शक्ति नेपालको उदय हुँदैछ ।
कतिपय मानिसहरु पुरानै ठाउँ र सोचबाटमाथि उठ्न नसक्ने र नखोज्ने प्रवृत्तिका हुन्छन् । मनमा काम गर्ने इच्छा हुँदाहुँदै पनि बाहिर आउन हिचकिचाउने गरेको पाइन्छ । दुनिया २१ औं शताब्दिमा पुग्दासम्म पनि बाउबाजेको बिर्ता रुँगेर देशको विकास सम्भव छैन भन्ने कुरा उनीहरुले बुझ्न जरुरी छ ।

समय अनुसार गतिशिल हुन सकिएन भने न त पार्टी सफल हुन्छ न त नेता नै । त्यो सम्भावना पुराना पार्टीहरुमा जिर्ण छ ।
उनीहरुले देशलाई चारैतिरबाट लुछेर खोक्रो बनाएका छन् । त्यो भवसागरबाट देशलाई निकालेर समृद्ध बनाउने कुरा निकै चुनौतिपूर्ण रहेको छ । समस्या पाइला पाइलामा छन् । तर, समस्यादेखि डराएर पछि हटेर पुरानो थोत्रो गाडी चढेर पार लागिदैन भन्ने हामी सबैले बुझ्नु पर्दछ ।
थोत्रो इन्जिन भएको जहाजमा चढेर समुन्द्र पार हुँदैन । आफूसँगै जहाज पनि डुब्छ । त्यसकारण थोत्रो र पुरानो इन्जिन भएको जहाजबाट ओर्लिएर अब नयाँ जहाजमा चढौं, अनि मात्र आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छ, जुन उद्देश्य नयाँ शक्ति नेपालले नयाँ योजना र नयाँ विचार बोकेर आएको छ ।

अवकासको छाप

धेरै मानिसको प्रश्न, राजनीति बारे केही ज्ञान नभएकोअवकास प्राप्त फौजी मान्छे किन राजनीतिमा लागेको?भन्ने सुुन्नमा आउँछ । यसमा मेरो जवाफ सरल छ । म अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्तमहानिरिक्षकहोत्यसको साथै म सचेत नेपाली नागरिक पनि हो । आफ्नो मातृभूमिको उन्नति र प्रगातिमा योगदान गर्ने दायित्व मेरो पनि रहन्छ ।

देशको अल्पविशित अवस्था र कमजोर अर्थतन्त्र, वेरोजगार,श्रमशक्तिको विदेश पलायन र राजनीतिमा मौलाउँदै गएको कु–संस्कारलाई हातबाँधेर टुलुटुलु हेरेर बस्नु र अरुको आलोचना मात्र गर्नु देश र जनतालाई धोखा दिनु हो । यस्तो गर्न एउटा सचेत नागरिकलाई नैतिकताले पनि दिँदैन । अर्को कुरा राजनीतिक भनेको अहिलेकै जस्तो देश लुटेर खाने, गुण्डा पालेर संरक्षित हुने, जनतालाई डर, धम्की दिएर भोट लिने, भ्रष्टाचार गर्ने र ठगी खाने पेशा हो भने हामीले राजनीतिमा जानेको छैन । हाम्रो बुझाईमा त राजनीतिक भनेको लोक कल्याणकारी कार्य गर्ने, जनाताको जीवनस्तर बढाउने, भौतिक पूर्वाधार तिव्र गतिमा निर्माण गर्ने, देशलाई आर्थिक सम्वृद्ध बनाउने लगायत स्वाभिमानी नेपाली भएर बाँच्ने वातावरण सृजना गर्ने सेवामूलक कार्य हो भन्ने बुझेका छौँ ।

अन्ततः देशलाई नेतृत्व गर्ने राजनीतिले नै हो । नयाँ युग सुहाँउँदो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्नुपर्छ भन्ने अभियानमा म पनि छु । जिवनको महत्वपूर्ण उर्जाशील उमेर सुरक्षा निकायमा रही देश र जनताको सेवा र सुरक्षाको निम्ति कटिबद्ध भएर अवकाश भइयो । सुरक्षा निकायमा रहदाँ आदेश पालकको रुपमा देशको सेवक भएर काम ग¥यौँ, अब सृजनशिल होऔँ भनि आफै सहभागि भएर समाजिक सेवा गर्ने पवित्र उद्देश्यले नयाँ शक्ति नेपालमा आबद्ध भएको हो । सेवामा रहँदा सिकेका दक्षता, इमान्दारीता र सेवाभावलाई स्वाधिनता र समृद्ध नेपाल निर्माणमा लगाउनुपर्छ भन्ने उद्देश्य सबैले राख्नुपर्छ ।

सुरक्षाकर्मीमा राजनीतिक चातुर्यताको केही कमि हुन सक्छ तर समर्पणभाव, सेवाभाव, कर्तव्य परायणता, इमान्दारीता र लगनशीलता भरपूर हुन्छ । हो, यीनै गुणलाई देशको विकासमा लगाउनु पर्दछ, जसले देश निर्माणमा ठूलो योगदान पुर्याउने छ ।
हाम्रै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्नुपर्छ भन्ने दृढता र अठोटका साथ प्रतिवद्ध भएर पूर्व सुरक्षाकर्मिहरु पनि देश निर्माणमा लाग्नुपर्छ । नयाँ शक्तिले सुरु गरेको समृद्ध नेपालको योजन पूरा गर्ने अभियानमा लागौँ र भविश्यमा गर्व गरौं ।

अर्को, राष्ट्रिय सुरक्षा ज्यादै संवेदनशील विषय भएकाले मिडिया मार्फत् खुल्ला बहस गर्नु गोपनियताको दृष्टिकोणले उचित हुँदैन । तथापी यो बहुआयामिक र महत्वपूर्ण विषय हो । राष्ट्रिय सुरक्षको अभावमा न लोकतन्त्र, न विकाश न त शान्ति सुव्यवस्था कायम हुनसक्छ ।
राष्ट्रिय सुरक्षा केवल भौगोलिक एवं भौतिक मात्र नभई बहुआयामिक भएकाले परराष्ट्र नीति, आर्थिक नीति, जलश्रोत नीति, यातायात एवं सञ्चार नीति लगायत अन्य विभिन्न क्षेत्रगत नीतिहरु निर्माण गर्दा राष्ट्रिय सुरक्षा नीतिसँग आवद्धता रहने गरी निर्माण गर्नु पर्दछ र तिनीहरुबीच परिपूरक सम्बन्ध रहनुपर्छ ।

राष्ट्रको सार्वभौमिकता र अखण्डताको संरक्षण, राष्ट्रिय एकता, नागरिकको रक्षा, राष्ट्रिय पहिचान र स्वाभिमानमाथिको सुरक्षा खतराबारे बृहद् र बस्तुनिष्ठ विश्लेषण गरेर नेपालको राष्ट्रिय सुरक्षा नीति र रणनीति तथा कार्यक्रमहरुको तर्जुमा गर्नु पदर्छ ता कि बदलिदोे राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेश र सुरक्षा जटिलतासँग सामना गर्न सकियोस् । देशलाई स्वतन्त्र र विकासको उचाइमा पुराउनको लागि सुरक्षाको पाटो सबैभन्दा महत्वपूर्ण हुन्छ ।
(लेखक सशस्त्र प्रहरीका अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com