नेपाली भाषा कक्षाका विद्यार्थीलाई अब न्युयोर्कमा निशुल्क नृत्य सिकाइने


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

युनाइटेड शेर्पा एसोसिएसन अमेरिका (शेर्पा किदुग) ले न्युयोर्कको उडसाइडमा नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई अब न्युयोर्कमा निशुल्क नृत्य सिकाउने भएको छ । यसै हप्तादेखि दिउसो साढे २ बजेदेखि पौने ४ बजेसम्म निशुल्क नेपाली नृत्य सिकाउने किदुगले जनाएको छ ।

नृत्य कक्षा सुरु भएपछि भाषाकक्षाको तालिकामा भने केही परिवर्तन भएको छ । अब दिउसो १ बजेदेखि सबा २ बजे सम्म र ४ बजेदेखि ५ बजेसम्म भाषा कक्षा संचालन गरिने भएको छ । भाषा कक्षामा सहभागीहरुलेमात्र निशुल्क नृत्य सिक्न पाउनेछन् ।

किदुगले नेपाली भाषा सिकिरहेका बालबालिकाहरुलाई प्रत्येक हप्ता कक्षा नबिराई पठाउन अभिभावकहरुलाई अनुरोध समेत गरेको छ ।

अमेरिकाको न्युयोर्कमा पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संगीत सिकाउने उद्देश्यले किदुगले लामो समयदेखि नेपाली भाषा र संगीत कक्षा संचालन गर्दै आएको छ ।

अमेरिकामा रहेका पछिल्लो पुस्ताका नेपालीहरुले नेपाली भाषा बोल्न र लेख्न नजान्ने समस्या रहेको र नेपाली संस्कृतिबाट पनि उनीहरु टाढा बन्दै गइरहेको अवस्थामा नेपाली भाषा र संगीतकक्षा फलदायी हुँदै आएको छ ।

न्युयोर्कमा सुरु हुने भयो नेपाली भाषा र संगीतकक्षा

पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृतिबाट नजिक राख्न आफूहरुले यो पहल गरेको र यसबाट नेपाली भाषा सिक्न चाहने विदेशीहरुले समेत फाइदा लिन सक्ने युनाइटेड शेर्पा एसोसिएसन अमेरिका (शेर्पा किदुग) का अध्यक्ष उर्गेन शेर्पाको भनाई छ ।

अहिले अमेरिकामा पछिल्लो पुस्ताका बालबालिकाहरु आफ्नै घरमा अँग्रेजी नजान्ने हजुरबा हजुरआमा वा कतिपय बुबाआमासँग नै नेपाली भाषामा कुरा गर्न नजान्ने अवस्था रहेको छ । जसका कारण एउटै परिवारभित्र पनि संचारको समस्या हुँदै आएको छ । नेपाली भाषा बोल्न जानिहाले पनि लेख्न नसक्ने समस्या अधिकांश बालबालिकाहरुमा रहेको छ । यो भाषा कक्षाबाट उनीहरुले अत्यन्तै छिटो आधुनिक शैलीमा नेपाली भाषा सिक्दै आएका छन् ।

शेर्पा किदुगले एकदशकदेखि नै शेर्पा भाषा, संस्कृति र बौद्ध दर्शनका बारेमा नियमित कक्षाहरु संचालन गर्दै आएको छ । बालबालिकाहरुलाई शेर्पा भाषा, संस्कृति र बुद्ध धर्मको ज्ञान दिन सुरु गरिएको कक्षा पनि अहिले तेश्रो बर्षमा चलिरहेको छ । त्यो बाहेक सकर क्लबबाट पनि कैयन बालबालिकाले प्रशिक्षण लिएका छन् ।

शेर्पा किदुग अमेरिकाको बास्केटबल प्रतियोगिता, सोनाम लामा ‘म्यान अफ दि म्याच’

मुसहर वस्तीको लागि किदुगको सहयोग

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com