अमेरिकामा छोराले आत्महत्या गरेपछि नेपालमा आमा बेहोस, अन्त्येष्टीका लागि आर्थिक अभियान


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

अमेरिकाको क्यालिफोर्नियामा नेपाली विद्यार्थी गणेश तिवारीले आत्महत्या गरेको खबरले उनका आमा र दिदी बेहोस भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । गत बिहिबार २४ बर्षीय गणेश तिवारीले आफू सुत्ने कोठामा आत्महत्या गरेका थिए ।

तीनजना दिदीहरुपछि जन्मिएका गणेशको परिवारमा आएको खुशी त्यतीबेला गायब भएको थियो जतिबेला नेपालमा चलिरहेको जनयुद्धका बेलामा गणेशका बुबा गायब बने । तर पनि गणेशकी आमाले ऋणधन गरेर उनलाई अमेरिका पढ्न पढाएकी थिइन् । तर अमेरिका आएको २ बर्षमा नै गणेशले आत्महत्या गरेपछि परिवारमा सहनै नसकिने बज्रपात भएको छ ।

अमेरिका आइसकेपछि गणेशले आमा र उनका भाईलाई सक्दो सहयोग गर्दै आएका थिए । तर विस्तारै उनमा मानसिक समस्या आएपछि आत्महत्याको बाटो रोज्न पुगेका थिए । गणेशको शव अहिले अमेरिकाको क्यालिफोर्नियामा नै रहेको छ । उनको शव नेपाल झिकाउनका लागि परिवारको आर्थिक स्थीति राम्रा नभएकाले गणेशको दाहसंस्कार र परिवारलाई सहयोगका लागि आर्थिक संकलन अभियान संचालन गरिएको छ । संकलित रकमबाट शवको दाहसंस्कार गरिने र बाँकी रकम नेपालमा रहेको परिवारको सहयोगका लागि पठाइने जनाइएको छ ।

गोफण्डमीको लिंकमा गएर सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

सन्नी सगरमाथा सोसाइटीका तर्फबाट ५० हजार डलरको लक्ष्यसहित गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिएको छ । जसबाट अहिलेसम्म साढे ५ हजार डलर संकलन भइसकेको छ ।

क्यालिफोर्नियाको सन्नीभिलमा बस्दै आएका तिवारीले आत्महत्या गर्नु अगाडि आफूले आत्महत्या गर्न लागेको कुरा साथीलाई फोनमा बताएका थिए । तर साथीले ठट्टा सोंचेपनि फोनमा कुरा गरेपछि तिवारीले आत्महत्या गरेका थिए ।

दिउसो अबेरसम्म पनि नउठेपछि अपार्टमेन्टमा बस्ने साथीहरुले ढोका फोरेर हेर्दा उनले आत्महत्या गरेको भेटिएको थियो । उनका साथीहरुका अनुहार पहिले पनि उनले आत्महत्या गर्न चाहेको कुरा बताउँदै आएका थिए ।

सन् २०१६ को अगस्तमा विद्यार्थी भिसामा अमेरिकामा आएका उनले मिनिसोटा युनिभर्सिटीमा पढ्दा पढ्दै क्यालिफोर्निया गएका थिए । क्यालिफोर्नियामा उनले ग्यास स्टेशनमा काम गर्दै आएका थिए ।

अमेरिकामा नेपाली विद्यार्थीहरुले आत्महत्या गर्ने दर निकै डरलाग्दो रहेको छ । गतबर्ष बाल्टिमोरमा २३ बर्षीय विद्यार्थी प्रसिद्ध कँडेलले आत्महत्या गरेका थिए । त्यस्तै गत सेप्टेम्बरमा सान फ्रान्सिस्कोमा नेपाली विद्यार्थी संजित भट्टले पुलबाट हामफालेर आत्महत्या गरेका थिए । त्यस्तै गत अगस्तमा टेक्सासको डालसमा २२ बर्षीय नेपाली विद्यार्थी सुरज गमलले आत्महत्या गरेका थिए ।

पढाईको चाप र डिप्रेशनका कारण अमेरिकामा नेपाली विद्यार्थीहरुले आत्महत्या गर्दै आएको रेकर्ड छ । विद्यार्थी बाहेक अन्य नेपालीहरुले पनि अमेरिकामा आत्महत्या गर्दै आएको लामो फेहरिस्त रहेको छ ।

न्युयोर्कको रिजउडमा बस्ने दाङका एक युवाले आफू बसेको घरको तीन तलाबाट हामफालेर आत्महत्या गरेका थिए । दलाललाई लाखौं रकम बुझाएर मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिरेका उनले अमेरिका पस्न गरेको दुःख पनि बिर्सिएर आत्महत्या सजिलो माने । सन् २०१४ मा नोभेम्बरमा क्यालिफोर्नियामा काठमाडौंका अर्का युवाले पुलबाट हामफालेर आत्महत्या गरे । सानफ्रान्सिस्कोमा रहेको गोल्डेनगेट पुलबाट हाम फालेर उनले आत्महत्या गरेका थिए । टेक्सासमा बस्दै आएका उनले सानफ्रान्सिस्को विमानस्थलबाट ओर्लेर सिधै पुलमा पुगेर हाम फालेका थिए ।

सन् २०१३ को सेप्टेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका २४ वर्षीय अर्का युवाले न्युयोर्ककै लङ आइल्याण्ड सिटी इस्ट रिभरमा आत्महत्या गरेका थिए । पाँचवर्ष अमेरिकामा विताएपनि उनले अगाडी बाटो देखेनन् र आत्महत्या नै रोज्न पुगे । सन् २०१३ को जुनमा अमेरिकाको लुजियानमा नेपाली विद्यार्थीले आत्महत्या गरे । २० वर्षीय विद्यार्थी उनले लुजियानामा आफू बस्ने कोठामा आत्महत्या गरेका थिए । सन् २०१२ को अगस्त २४ मा ३७ वर्षीयाले अमेरिकाको मेरिल्याण्डमा झुण्डिएर आत्महत्या गरे । २६ लाख रुपैया खर्च गरेर दलालमार्फत मेक्सिको हुदै अमेरिका आएका उनी डिप्रेशनका विरामी रहेको बताइएको थियो । ६ महिना लगाएर अमेरिका आएका उनले डेढवर्षमा पनि आफ्नो ऋण तिर्न नसकेको अवस्थामा आत्महत्या गरेका थिए ।

त्यस्तै सन् २ हजार १७ को अन्तिममा मिसिसिपीका एक विद्यार्थीले पनि तालको नजिकै झुन्डिएर आत्महत्या गरे । कलेजको समस्याले तनावमा रहेका उनले कामबाट सिधै गएर आत्महत्या गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com