काबुल आक्रमणमा ११ नेपाली भएको पुष्टि


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको छ । घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ ।

जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

मृतक १० मध्ये ४ विदेशी रहेको बताइए पनि नेपालीको भने ज्यान गएको छैन ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन । घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।

अफगान अधिकारीहरूका अनुसार, बुधबारको कार बम विस्फोटपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

अफगानिस्तानमा नेपालीहरु निसानामा परेको यो पहिलो घटना भने होइन । यसअघि काबुलको एक आक्रमणमा १२ नेपाली मारिएका थिए । नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान खुला नगरे पनि त्यहाँ ठूलो संख्यामा नेपाली छन् । यद्यपि, यकिन तथ्यांक भने छैन । कार्यरतमध्ये केही सुरक्षा क्षेत्रमा संलग्न रहेको बताइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com