तपाईको सानो सहयोगले यी नानीको पढाई रोकिने छैन ।


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अवस्था नभएको उल्लेख गर्दै विद्यालयमा निवेदन दिएकी छिन् ।अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यनरत छात्रा पुजा खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न नसकिएको र परिवारको आर्थिक अवस्थाले नभ्याएको भन्दै आफुलाई विद्यालयबाट निस्कासन गरिदिन अनुरोध गरेकी हुन् ।

भदौं ५ बाट विद्यालयमा त्रैमासिक परिक्षा सुरु हुने भएकाले सम्पूर्ण विद्यार्थीको नियमित उपस्थितको लागि र परीक्षामा सामिल हुन विद्यालयले सुचित गरेको थियो ।पुजाले घरमा खान खर्चसमेत नभएकोले विद्यालय जान कापी कलम नहुँदा विद्यालय जान छाड्नु परेको निवेदनमा उल्लेख गरेकी छिन ।

उनी गाउँको विद्यामन्दिर आधारभुत विद्यालयकाे कक्षा ५ सम्म अध्ययन गरी अगाडीको अध्ययनको लागि जामुनाखर्क माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन् । उनको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाे र अध्ययनको लागि उचित वातावरण नभएको जानकारीसहितको निवेदन वडाका अध्यक्ष कृष्ण बहादुर बानियाँलाई पठाएर आवश्यक सहयोग गर्न अनुरोध गरिएको विद्यालयको प्रधानअध्यापक सोमनाथ ढुंगानाले बताए ।घरमा आमा नबस्ने र बुबाले पनि सहयोग नगर्ने भएपछि उनी विद्यालय जान छाडेकी थिइन् ।

उनको घरमा एक असक्त हजुरवुवा र दुई भाइ बहिनी छन् । उनीहरूकाे दैनिकी हजुरबुवाकाे भरमा चलिरहेकाे छ । वडा अध्यक्ष बानियाँले वडाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्न बालबालिकाहरुलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको बताउँदै खत्रीको समस्याकाे समाधानका लागि पहल भइरहेको बताएका छन् ।

प्रधानाध्यापक ढुंगाना, स्कुलका शिक्षक, वडाध्यक्ष बानियाँसमेतको पहलमा उनले अहिले त्रैमासिक परीक्षा दिन थालेकी छिन् पूजाले । ५ गतेदेखि शुरू भएको परीक्षा दिन नियमित आइरहेकी छिन् । तथापि घरको आर्थिक अवस्था नसुध्रने हो भने उनको चुल्हो जतिबेलै निभ्न सक्छ । र, भोकै स्कुल आउन सक्दिनन् ।

“त्यसैले सबैसँग हातेमालो गरेर उनको उच्च शिक्षासम्मको ढोका खोलिदिन पाए आफैँ गरेर खान्थिन्,” सहयोगको अनुरोध गर्छन् प्रअ ढुंगाना ।

(विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगाना ९८५७६२२२१५ मार्फत् बालिकालाई सीधा सहयोग गर्न सकिनेछ ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com