तिहारको आज दोस्रो दिन कुकुर तिहार : के छ धार्मिक मान्यता ?


प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलबार

कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज दोस्रो दिन कुकुर तिहारको रुपमा कुकुरलाई पूजा गरी मनाइँदै छ ।

कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ ।  यस दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ । कुकुरले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिने विश्वास गरिनुका साथै यसलार्इ भैरवको बाहन पनि भनिन्छ।

आजको दिन कुकुरलाई मीठा, मीठा परिकार खान दिएको खण्डमा यमराजको ढोकामा द्वारपालकारुपमा बस्ने श्याम र सबल नामका कुकुरहरुले यमलोक जाँदा सजिलैसँग बाटो छोडिदिने धार्मिक विश्वास रहँदै आएको छ ।

परापूर्वकालमा वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको हिन्दुहरुमाँझ धार्मिक विश्वास रहँदै आएको छ । विशेषगरी तिहारको दोश्रो दिनमा पूजा गरिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरकारुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग नलाग्ने विश्वास समेत गरिन्छ ।

साथै, यसैदिनको बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने प्रचलन समेत रहँदै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com