अमेरिकी मध्यावधी चुनाव : सत्तारुढ पार्टीले सिट गुमाउने इतिहास
प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार
अमेरिकाको मध्यावधी चुनावको एउटा इतिहास छ, जसमा प्राय राष्ट्रपतिको पार्टी अर्थात् सत्तारुढ पार्टीले चुनावमा सिनेट र प्रतिनिधिसभामा सिटहरु गुमाउने गरेको छ । मंगलबार हुने चुनावमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले सिट गुमाउन सक्ने विश्लेषकहरुको भनाई छ ।
सन् २०१४ को मध्यावधी चुनावमा ओबामा राष्ट्रपति थिए, त्यतीबेला उनको डेमाक्रेटिक पार्टीले हाउसमा १३ र सिनेटमा ९ सिट गुमाएको थियो । सन् २०१० को मध्यावधी चुनावमा पनि ओबामाको डेमोक्रेटिक पार्टीले हाउसमा ६३ र सिनेटमा ६ सिट गुमाएको थियो ।

त्यस्तै सन् २००६ को मध्यावधी चुनावमा बुसको रिपब्लिकन पार्टीले हाउसमा ३० र सिनेटमा ६ सिट गुमाएको थियो । तर सन् २००२ मा भने बुसको रिपब्लिकन पार्टीले हाउसमा ८ र सिनेटमा २ सिट थपेको थियो ।
१९९८ मा क्लिन्टन राष्ट्रपति भएको बखत डेमोक्रेटिक पार्टीले हाउसमा ५ सिट थपेको थियो तर सन् १९९४ मा क्लिन्टनकै पालामा भने हाउसमा ५२ र सिनेटमा ८ सिट गुमाएको थियो ।
त्यसअगाडिका हरेक चुनावमा सन् १९५८ सम्म नै सत्तारुढ पार्टीले हाउसमा सिटहरु गुमाएको इतिहास छ । यद्यपी सिनेटमा भने १९६२ मा केनेडी राष्ट्रपति हुँदा, १९७० मा निक्सन राष्ट्रपति हुँदा र सन् १९८२ मा रेगन राष्ट्रपति हुँदा सत्तारुढ पार्टीले सिटहरु थपेको इतिहास छ ।






