अमेरिकी विश्वविद्यालयमा गोली चलाएको आरोपमा एकजना पक्राउ


प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार

फोटो:एपी/रासस

अमेरिकाको विश्वविद्यालयमा गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोड आइल्यान्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डसँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन्।

प्रोभिडेन्स शहरमा रहेको ब्राउन विश्वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा नौ जना घाइते भएका थिए। प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै विश्वविद्यालय परिसर र वरपरका क्षेत्रमा जारी गरिएको सावधानी आदेश हटाइएको जनाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान नखुलाइएको भएपनि उनी विश्वविद्यालयको विद्यार्थी भने नभएको बताइएको छ।

प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था स्थिर छ। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

मृत्यु भएका र घाइतेहरूको पहिचान सार्वजनिक गरिएको छैन। तर ब्राउन विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना प्याक्सनले मृतक तथा घाइते सबै विद्यार्थी नै रहेको बताएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्याक्सनका अनुसार करिब २,००० विद्यार्थीलाई रातभर सुरक्षित स्थानमा सारिएको थियो। उनले मृत्यु भएका दुई विद्यार्थीका परिवारलाई विश्वविद्यालयले आवश्यक सहयोग गरिरहेको पनि जानकारी दिइन्।

यसअघि प्रहरीले कालो कपडा लगाएर घटनास्थलबाट टाढा जाँदै गरेको एक पुरुषको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो। भवनमा खोजी गर्दा कुनै हतियार फेला नपरेको प्रहरीले जनाएको छ।

शंकास्पद व्यक्ति होटलबाट पक्राउ परेका थिए। उनी हाल ब्राउन विश्वविद्यालयका विद्यार्थी नभएको पनि स्रोतले जनाएको छ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई “भयानक” भनेका छन्।

गन भायोलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा यस्ता सामूहिक गोलीकाण्डको संख्या ३८९ पुगेको छ। उक्त संस्थाले आक्रमणकारीबाहेक चार वा सोभन्दा बढी व्यक्ति मारिएका वा घाइते भएका घटनालाई सामूहिक गोलीकाण्डको रूपमा परिभाषित गर्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com