गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: धावन मार्गको पिच सुरु


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पिच गर्ने काम मंगलबारदेखि सुरु गरिएको छ । नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बेल्चा चलाएर यसको थालनी गरेका हुन् ।

४ वटा मेसिनरी गाडीसहित करिब ८० मजदुर मंगलबारदेखि खटिएका छन् ।

विमानस्थलको महत्त्वपूर्ण काममध्येको एक धावनमार्ग पिच गर्ने काम सुरु गर्दै मन्त्री अधिकारीले वर्षदिनभित्र विमानस्थल निर्माण पूरा हुने दाबी गरे । उनका अनुसार धावन मार्गको पिच ठेकेदार कम्पनीले ४ महिनामा सक्ने प्रतिबद्धता जनाएको छ ।

‘यस हिसाबमा ६ महिनाभित्र राष्ट्रिय परीक्षण उडानको सुरु गर्नेछौं,’ उनले भने, ‘धावनमार्ग सकिनासाथ निर्माण अन्तिम चरणमा पुग्नेछ ।’ भौतिक निर्माणमा बाँकी सबै काम एकसाथ अगाडि बढाउने भएकाले अबको निर्माण छिटो हुने उनले बताए ।

‘ठूलो मिहिनेतसाथ विमानस्थल निर्माणमा देखिएका विवाद र चुनौती पन्छाएका छौं, काममा तीव्रता, जिम्मेवारीपन र जवाफदेहिता बढाएका छौं,’ मन्त्री अधिकारीले भने, ‘रकम, मेसिन र सामग्री तीनै कुरा पर्याप्त छन् । यसकारण पनि अब तोकिएकै समयमा विमानस्थल तयार हुन्छ ।’

एसियाली विकास बैंक (एडीबी) को ६ अर्ब २२ करोड ५१ लाख अनुदानमा ७ सय ८७ बिघामा विमानस्थल निर्माण भइरहेको छ । अहिलेसम्म धावनमार्ग पिचको काम सुरुसँगै प्रशासनिक भवन, कन्ट्रोल टावर, यात्रु आगमन कक्ष र प्रस्थान कक्षतर्फको भौतिक निर्माणको काम झन्डै ७५ प्रतिशत सकिएको छ । विमानस्थल वरपर तारबार गर्ने, नाली निर्माण गर्ने, ओभरहेड पानी टयांकी निर्माण गर्ने काम धमाधम चलिरहेको छ । तीनतिरबाट रन–वे र टयाक्सी–वे जोडने कामसमेत सुरु भइसकेको छ ।

विमानस्थल निर्माण आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले अब भौतिक निर्माणको करिब २५ प्रतिशत काम मात्रै बाँकी रहेको बताए । तीव्र गतिमा काम भइरहेकाले बाँकी भौतिक निर्माणको काम आगामी जुनभित्र पूरा गर्ने उनले बताए । निर्माणमध्येको करिब २० प्रतिशत काम मेसिनरी जडानको छ ।

निर्माण सकिनासाथ ती स्थानमा मेसिन जडानको काम एकसाथ गर्ने आयोजनाको लक्ष्य छ । ‘ठेकेदार कम्पनीले आवश्यक उपकरणसहित दक्ष जनशक्ति थपेको छ,’ अधिकारीले भने, ‘परामर्शदाता र सरकारको समेत नियमित सहजीकरणले काममा तीव्रता आएको छ ।’

सन् २०१७ को डिसेम्बरमा सक्ने लक्ष्यसहित सन् २०१५ को जनवरीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गरिएको थियो । त्यसमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ग्लोबल टेन्डरमार्फत ठेक्का लिएको थियो । सुरुको वर्षबाटै मुख्य र स्थानीय ठेकेदारबीच विवाद थियो ।

त्यसपछि मधेस आन्दोलन, नाकाबन्दी र भूकम्पको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको थियो । पछिल्लोपटक सन् २०१९ को जुन २८ सम्म निर्माणको म्याद थपिएको छ । विमानस्थलमा त्यतिबेलासम्म भौतिक निर्माणका सम्पूर्ण काम सक्ने लक्ष्य छ । ‘निर्माणको सुरुमा राष्ट्रिय उडानको परीक्षण गरिनेछ,’ मन्त्री अधिकारीले भने, ‘सन् २०१९ को अन्तिमबाट अन्तर्राष्ट्रिय परीक्षण उडान नै सुरु गर्नेछौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com