ग्राण्डीले रातारात सम्झौता गरी लुकायो एउटा गम्भीर घटना, पीडित परिवारलाई फिर्ता गर्यो ९ लाख


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएको र रातारात सम्झौता गरी साम्य पारेको गम्भीर खुलासा भएको छ ।    उपचारमा लापरबाही गरी पटक पटक बदनाम भइरहेको ग्राण्डीमा दुर्घटनाबाट घाइते भई उपचारका लागि पुगेका धादिङका एकजना बिरामीको उपचारमा भएको गम्भीर लापरबाहीका कारण शुक्रबार राति निधन भएको थियो । मृतकका आफन्तले अस्पताल परिसरमा आन्दोलन सुरु गरेपछि अस्पतालले शनिबार बिहान लापर्बाही स्वीकार गर्दै सम्झौता गरेर उपचारमा लागेको खर्च ९ लाख ५० हजार फिर्ता गरेको छ भने मृतकको सन्तानलाई भविष्यमा रोजगारी दिने गरी सम्झौता गरेको छ ।

के भएको थियो ? असोज ११ गते बेलुका काठमाडौंको रानीवनमा कार दुर्घटनामा परेका धादिङका ३९ वर्षीय रमेश दनैलाई तत्काल ग्राण्डी अस्पताल पुर्याइयो । उनको बाँया खुट्टाको तिघ्राको जोर्नी (हिप जोइन्ट) फुस्किएको भन्दै शल्याक्रिया गरिएको थियो । हालै ग्राण्डीका डेपुटी मेडिकल डाइरेक्टर नियुक्त भएका डाक्टर बिनोद बिजुक्छेको टोलीले असोज १२ गते शनिबार दिउँसो गरेको अपरेसन सफल भएको जानकारी गराइयो । शनिबारै बिरामीको होस आइसकेको थियो भने उनी क्रमशः सामान्य बन्दै थिए । आइतबार र सोमबार बिरामीको फिजियोथेरापी पनि गरिएको थियो । बिरामीको खाना र दिशा पिसाव पनि सामान्य भइरहेको थियो । तर, अचानक सोमबार बेलुकी ११ बजेदेखि समस्या देखियो । बिरामीलाई स्वासप्रस्वासमा अप्ठेरो भयो र तत्काल आईसीयूमा पठाइयो । डाक्टरहरुले मिर्गौला र मुटुमा समस्या आएको जवाफ दिए ।

दुर्घटनाको कारण भएको आन्तरिक रक्तश्रावले यस्तो भएको जानकारी गराइयो । यद्यपी दुई दिनअघि शल्याक्रिया गर्नुअघि सबै सामान्य अवस्थामा नै थियो । त्यसयता दिनमा तीन पटक बिरामीको अवस्थाबारे डाक्टरहरुले जानकारी दिने र बिरामीलाई टाढैबाट हेर्न सकिने बनाइयो । हरेक पटक डाक्टरको ब्रिफिङमा बिरामीको अवस्था सुधार भइरहेको र छिट्टै निको हुने आश्वासनमात्र दिइएको थियो । बिरामीका आफन्तले यहाँ नसके भारत लगेर भएपनि उपचार गर्ने प्रस्ताव पनि गरेका थिए । तर, ग्राण्डीले पठाउन नमिल्ने भन्दै रोकेको थियो ।   बिहीबार राति जे भयो बिहीबार साँझ ६ बजेको डाक्टरी ब्रिफिङमा पनि डाक्टरहरुले बिरामीको अवस्था सुधार भएको जानकारी दिएका थिए ।

त्यसअघि बुधबार टाउकोको सिटीस्क्यान गर्न लाग्दा बिरामीलाई गाह्रो भएको देखेका आफन्तले केहि गडबडीको आशंका गरिसकेका थिए । बिरामीको अवस्था सुधारोन्मुख रहेको ब्रिफिङ पाएर खुसी भएका आफन्तको खुसी चार घण्टा पनि टिकेन । राति ११ बजे ग्राण्डी प्रशासनले प्रहरी बोलाएर बिरामीका आफन्तलाई जानकारी गराए कि ‘तपाईंको मान्छे अब रहनुभएन ।’ बिरामीलाई मृत घोषणा गर्नुअघि नै दुई ट्रक प्रहरीले अस्पताल परिसर घेरा हालेर ‘सुरक्षा’ दिइसकेका थिए । यसबाट के बुझ्न सकिन्छ भने आफ्नो लापरबाही बाहिर आउने र आफन्तले बिरोध गर्ने डर अस्पताल प्रशासनलाई पहिल्यै थियो ।

त्यसैले त आफन्त लगायत मानिसको चाप कम हुने समय पारेर उसले मृत घोषणा गरेको थियो । त्यतिमात्र होइन अस्पतालले गरेको अर्को त्रुटी भनेको बिरामीको मृत्यु भएको जानकारी गराइसकेपछि पनि आफन्तलाई उपचार खर्चबापतको रकम भन्दै पैसा डिपोजिट गर्न उर्दी जारी ग¥यो । चार घण्टाअघि सुधारोन्मुख रहेको ब्रिफिङ पाएका बिरामीका आफन्त आक्रोशित बने । उनीहरुको मुख्य असन्तुष्टि भनेको उपचार प्रक्रिया र बिरामीको अवस्थाका बारेमा आफन्तलाई साही जानकारी नदिनु नै थियो । त्यसपछि अस्पतालको चरम लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा होहल्ला गरे भने शव नबुझ्ने अडान लिए । मेडिकल डाइरेक्टरकै मानवता मरेपछि…. ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर हुन्, हाडजोर्नी सर्जन डाक्टर चक्रराज पाण्डे । उच्च तहमा बसिसकेपछि सबैलाई समान व्यवहार गर्ने र अप्ठेरो स्थितिलाई सहजतातर्फ लैजाने जिम्मेबारी उनैको हुन्छ ।

तर, उनले उल्टो गरे । राति १ बजे अस्पताल प्रशासन र बिरामीका आफन्तबीच पहिलो चरणको वार्ता भयो । वार्ताका क्रममा बिरामीका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको र गल्ती स्वीकार गर्नुपर्ने अडान कायम राखे । आफन्त गुमाउनुको पीडामा उनीहरुको माग स्वभाविक पनि थियो । तर, मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पीडितलाई झनै पीडा दिने अभिव्यक्ति दिए । त्यसले माहोल अझै बिगारिदियो । आफूहरुले कुनै गल्ती नगरेको बरु पुलिस प्रशासन, मेडिकल काउन्सिल जहाँ जान मन लाग्छ गएर उजुरी गर्नु भन्ने जवाफ दिएपछि बिरामीका आफन्तले गल्ती स्वीकार गरी क्षतिपूर्ति नदिएसम्म शव नलिने भए । बिहान तीन बजे दोस्रो चरणको वार्ता भयो । नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डाक्टर तीर्थ बुर्लाकोटी समेतको उपस्थितिमा भएको वार्तामा मेडिकल डाइरेक्टर केहि मथ्थर भए तर, उनले आफ्नो तर्फबाट गल्ती भएको स्वीकार अझै गरेनन् ।   बिहान ६ बजे अचानक अस्पतालले बिरामीकी श्रीमती र छोरालाई बोलाएर उपचारमा गल्ती भएको स्वीकारमात्र गरेन माफी माग्दै उपचारमा लागेको खर्च फिर्ता गर्ने र मृतकका सन्तानलाई भविष्यमा रोजगारीमा लगाइदिने गरी सम्झोता गर्ने प्रस्ताव ग¥यो ।

उज्यालो भएपछि अस्पतालमा मानिसको चाप बढ्ने र घटनाले अझै भयानक रुप लिने देखेपछि अस्पतालले सम्झौतापछि मथ्थरको सहज बाटो अपनायो ।   पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अस्पतालको रिपोर्ट मेल खाएन सम्झौतापछि मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा औषधिको ओभरडोजका कारण मिर्गौला ड्यामेज भएको र निमोनियाका कारण निधन भएको उल्लेख छ । यद्यपी पोष्टमार्टमको बिस्तृत रिपोर्ट आउन बाँकी नै छ । तर, अस्पतालले भने दुर्घटनाका कारण भएको आन्तरिक रक्तश्रावका कारण मुटु, फोक्सो र मिर्गौलामा असर परेको जनाएको थियो । बिषाक्त रगत मुटुमा गएर धमनी रोकिएको भनिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com