समाजवादी फोरममा तीव्र ध्रुवीकरण


प्रकाशित मिति : मंसिर २२, २०७३ बुधबार

संघीय समाजवादी फोरम नेपालले वर्तमान समयमा संविधानमा रहेका अधिकारको संस्थागत एवं कार्यान्वयन गर्नुपर्ने संविधानविपरीत निर्णय गरेको भन्दै नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । तीनकुनेस्थित फोरमको कार्यालयमा पुगेर मंगलबार नौ नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

यो घटनासँगै फोरममा तीव्र ध्रुवीकरणको संकेत पाइएको छ । तराई–मधेसमा अन्य मधेसवादी पार्टीबाट नेता–कार्यकर्ता भित्र्याउने अभियानमा लागेका अध्यक्ष उपेन्द्र यादव आफ्नै पार्टीका नेतालाई पार्टीमा राख्न भने असमर्थ बनेका छन् । वर्तमान समयमा संविधानमा प्राप्त उपलब्धि संस्थागत एवं कार्यान्वयन गर्दै आर्थिक समृद्धितिर जानुपर्नेमा पार्टी नेतृत्वले ध्यान नदिएको आरोप परित्याग गर्ने नेताहरूले लगाएका छन् ।

बहुल राष्ट्रियतायुक्त नेपालको जातीय सद्भाव कायम गर्दै सामाजिक र राजनीतिक रूपमा एकताबद्ध भई अघि बढ्नुपर्ने आजको अपरिहार्यता रहेको फोरम परित्याग गर्नेमध्येका एक राजेन्द्र खनालले बताए । ‘नेपाली जनताको पटक–पटकको ऐतिहासिक जनआन्दोलनहरूद्वारा प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक र समोशीकरणको सफल कार्यान्वयन गर्दै आर्थिक समृद्धितिर जानुपर्ने आवश्यकता रहेको छ,’ खनालले राजधानीसँग भने, ‘अहिले संविधानको व्यावहारिक कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्न आवश्यकता र औचित्यका आधारमा संशोधन गर्दै जान सकिने सबल पक्ष रहँदारहँदै राजनीतिक स्वार्थको निम्ति पार्टीले संविधान संशोधनलाई समेत अस्वीकार गरिरहेको छ ।’

पार्टीका उपमहासचिव अभिषेकप्रताप शाहले मधेस प्रदेश टुक्र्याएर अलग राज्य बनाउने अभिव्यक्ति दिँदा समेत पार्टी नेतृत्वले कारबाही नगर्नुले सिंगो मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन र संघीयताको सफल कार्यान्वयनमाथि नै प्रश्न चिह्न खडा भएको अर्का नेता टोपबहादुर ओलीले बताए । यस्तै, पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संकीर्ण सोचका साथ पार्टी सञ्चालन गरेको, जथाभावी आफ्नो स्वार्थसँग सहमत हुन नसक्ने नेता तथा कार्यकर्तालाई कारबाही गरी निष्कासन गर्ने शृखंला नरोकिएको र कार्यकर्तालाई नोकरसरह व्यवहार गर्ने कारणले पार्टी परित्याग गर्नुपरेको उनीहरूले जनाएका छन् । पार्टी परित्याग गर्नेहरूमा खनाल, ओलीका साथै वीरेन्द्रबहादुर बोगटी, हेमन्त माण्डव्य, ओमकृष्ण प्रसाईं, प्रकाश अधिकारी, शंकर रोकामगर, मानबहादुर धामी र बलवीर नेपाली छन् । उनीहरू पार्टीका विभिन्न पदमा रही क्रियाशील रहेका थिए ।

यता फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टी परित्यागबारे आफूलाई जानकारी नभएको बताएका छन् । पार्टीको नीति, विचार एवं सिद्धान्तविपरीत काम गर्नेलाई पार्टीले कारबाही गर्ने उनले बताए । यस्तै, महेन्द्रराय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष अलाउद्दिन अन्सारीले पनि पार्टी परित्याग गरेका राजधानीमा खबर छ । अन्सारीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको जनाएका हुन् । उनले आफू घरायसी काममा व्यस्त रहेकाले पार्टीलाई समय दिन नसकेका कारण पार्टी परित्याग गरेको जनाएका छन् ।

यसैगरी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरी फोरम लोकतान्त्रिक परित्याग गरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी प्रवेश गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका चौधरीले सोमबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममार्फत नयाँ शक्तिमा प्रवेश गरेका हुन् । चौधरीसँगै फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य सलाहुद्दिन मुसलमान, जी आउरलगायत नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com