दशैँमा हवाई टिकट : भाडा महङ्गो तिर्नुपरेको यात्रुहरुको गुनासो


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

नेपालीहरुको प्रमुख चाडपर्वहरुमा हवाई भाडादर उच्च रहने गरेको छ । प्रमुख पर्वहरुमा अरु बैलाको भन्दा हवाइ भाडा महङ्गो तिर्नुपरेको यात्रुहरुको गुनासो छ । यता, विमान कम्पनीहरूले भने सधैँ सस्तो टिकट दिन नसकिने भन्दै आफ्नो बचाउ गरेका छन् ।

व्यस्त हुने समयमा सस्तो दरको टिकट बन्द गर्ने अन्तर्रा्ष्ट्रिय प्रचलन रहेको वायुसेवा सञ्चालक सङ्घको भनाइ छ । सडकको दुरवस्थाका कारण बसयात्रा पनि कठिन हुने हुँदा खासगरी ठूला चाडका बेला हवाईयात्रा गर्नेको सङ्ख्या पछिल्ला वर्षमा ह्वात्तै बढेको पाइन्छ । यस वर्षको दशैँ, तिहार र छठका बेला आन्तरिक हवाईयात्रुको सङ्ख्या डेढ लाखको हाराहारी हुने अनुमान छ । तर अरू बेला ग्राहक तान्न सस्तो दरका टिकट बेच्न प्रतिस्पर्धा गर्ने निजी विमान कम्पनीहरूले यही बेला ’नर्मल फेयर’ अर्थात् सबैभन्दा उच्च मूल्यका टिकट मात्र बेच्न आपसी सहमति गरेको ग्राहकहरूको गुनासो पाइन्छ ।

तर सस्तो टिकट बेच्ने नबेच्ने कम्पनीको इच्छामा निर्भर हुने विमान कम्पनीको भनाइ छ । हवाईटिकटको मूल्य नागरिक उड्डयन मन्त्रालय, प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालको सहमतिमा निर्धारण हुन्छ । निजी हवाईजहाज सञ्चालकहरूको संस्था वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले यात्रुको चाप बढी भएका बेला भाडा वृद्धि हुने अन्तर्रा्ष्ट्रिय प्रचलन नै रहेको बताउँछन् । अहिले नेपाल वायुसेवा निगम र पाँचवटा निजी विमान कम्पनीले देशका मुख्य शहरमा आन्तरिक उडान गर्दै आएका छन्। सरकारी वायुसेवाले भने पहाडी क्षेत्रको उडानमा छुट दिने गरेको छ । विमान कम्पनीहरूका अनुसार गत वर्ष दशैँताका झन्डै एक लाखले हवाईयात्रा गरेकोमा यो वर्ष त्यो सङ्ख्या डेढ लाख पुग्ने अनुमान छ। पछिल्ला वर्षहरूमा सडकको खराब अवस्था अनि औसत नेपालीको आम्दानी बढ्दै गएकोले हवाईयात्रुको सङ्ख्यामा वृद्धि भइरहेको बताइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com