नैकाप चोकमा भेटियो किशोरीको बेवारिसे यस्तो सामान भेटियो । स्थानीय आतंकित …


प्रकाशित मिति : आश्विन १२, २०७५ शुक्रबार

नैकापको व्यस्त चोकबाट विष्णुदेवी मन्दिर जाने बाटोको छेउमा एकाबिहानै कपडा र ब्याग देख्दा बटुवाहरु झसँग भए । नियालेर हेर्दा कलेज पढ्ने किशोरीको सर्ट, पाइन्ट, टाइ र ब्याग रहेछ । देख्नेहरुले नजिकै रहेका प्रहरीलाई खबर गरे

प्रहरी आएर हेर्दा ब्यागमा लिपिस्टिक र गाजल मात्रै भेटियो । टाईमा ज्ञानकुञ्ज कलेज भनेर लेखिएको रहेछ । त्यहीबेला ज्ञानकुञ्ज कलेजकै बस नैकाप चोकमा आइपुग्यो । प्रहरीले बस रोकेर चालकलाई बोलाए । चालकले कपडा र ब्याग हेरे ।

‘यो त हाम्रै कलेजको ड्रेस हो, यो चोकबाट चारजना गाडी चढ्ने गरेकोमा दुईजनालाई बिहानै कलेज पुर्याएँ, अरु दुईजना चाहिँ आएनन् । अरुबेला पनि सबै सधैं आउँदैनन्’ गाडी चालकले भने । त्यसपछि उनले कलेजमा फोन गरेर नैकापबाट आउनेमध्ये को–को आएका छैनन् बुझ्नु भने ।

कलेजमा सोधीखोजी भैरहँदा चोकमा भिड थपिंदै गयो । ‘हैन यो देशमा के मात्रै हुन लागेको ? छोरी चेली कसरी जोगाउने होला ?’ एकजना अधवैंशे महिलाले भनिन् ।

‘छोरी स्कुल नपुग्दासम्म र स्कुलबाट नफर्किएसम्म पिर मात्रै हुने भयो’ छोरीलाई स्कुल पुर्याउन हिँडेकी अर्की महिलाले भनिन् ।

‘हैन मान्छेलाई झाडीतिर फालेका छन् कि’ अर्की महिलाले शंका गरिन् ।

‘आ केही भएको होइन, यो केटी नै खराब हुनुपर्छ, नत्र कलेज जाँदा लिपिस्टिक बोक्नुपर्छ त ? जे जे लाउने हो घरमै लाउँछन् नि, मान्छे नै उस्तै हो । यहाँसम्म कलेजको लुगा लगाएर आई, अनि अर्को लुगा लगाएर कोसँग कता गई’ अर्की महिलाले अर्कै आशंका गरिन् ।

सबैले आ–आफ्नै तरिकाले आशंका गरे । त्यहीबेला छेउको पसलका मान्छे आइपुगे । उनले भने, ‘यो केही पनि होइनन्, मान्छेलाई झुक्याउन भनेर कुन चाहिँ उल्लुले यसो गरेको हो । पहिले पनि यहाँ यस्तै यस्तै गरेर धेरैले दुःख दिन्थे ।’

उनले भनेको पो हो कि जस्तो पनि केहीलाई लाग्यो । तर कुरो के हो भनेर त बुझ्नै पर्यो । पहिलेदेखि नै रहेका दुईजना प्रहरीले सोधीखोजी गरिरहे । तीन घण्टासम्म पनि केही पत्तो लागेन । अन्तिममा थाहा भयो, मानसिक सन्तुलन ठीक नभएका मान्छेले कपडा राखेर गएका रहेछन् ।

त्यस क्षेत्रबाट कोही पनि किशोरी हराएको भन्ने सूचना नआएको र भेटिएको कपडा चौकीमा रहेको बलम्बु प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com