Follow @khasokhasmag

काठमाण्डु भुइँचालोमा मृत्यु भएका र काजकिरिया समेर गरिसकेको ‘जीवन’ पोखरामा भेटिएपछि…


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाण्डुमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो ।

विसं २०७२ वैशाख १२ गते काठमाण्डुको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी सम्पर्कविहीन भए । भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनी लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उनका ठूलोबुबा हरि बूढाले राससलाई जानकारी गराए ।

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएका उनका ठूलो बुबाले भने, ‘पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे ।’ जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाण्डुको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोवार बन्द गरेर पोखरा आएको उनले बताए ।

उनका अनुसार छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु परेको छ भने बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् । उमेर सानो भएका कारण व्रतबन्ध नभएको र साना बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोेछोरा जीवनको काजकिरिया गरिएको उनले बताए ।

फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए । पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पु¥याउने धामीको धोको छ ।

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतिक्षारत छन् । जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ उनका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजाको खोजीमा भौँतारिरहेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com