नेपालगञ्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक प्रक्रिया सुरु


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

नेपालगञ्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक प्रक्रिया सुरु भएको छ । नेपालगञ्जबाट बुद्ध एयरले भारतको राजधानी नयाँ दिल्ली उडान सुरु गर्दैछ । नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले अन्तर्राष्ट्रिय उडानका लागि थप टर्मिनल निर्माणका लागि आन्तरिक तयारी सुरु गरिएको जानकारी दिनुभयो ।

नेपालगञ्जमा हाल एउटा मात्रै टर्मिनल रहेकोमा नयाँ दिल्ली उडान हुने भएपछि अन्तर्राष्ट्रिय टर्मिनल निर्माण गर्नुपर्ने निर्देशक ठाकुरले बताउनुभयो ।
अन्तर्राष्ट्रिय उडानसँगै काठमाडौँ उडानमा समेत टर्मिनल प्रयोग गर्न सकिने उहाँको भनाइ छ । थप गर्न लागिएका पाँचवटा पार्किङसँगै सबै सातवटा पार्किङ पश्चिममा भएका कारण सोही स्थानमा दोस्रो टर्मिनल बनाउने नागरिक उड्डयन कार्यालयको तयारी छ तर नेपाल एयरलाइन्सले ३५ वर्षदेखि भोगचलन गर्दै आएको भन्दै अदालतमा मुद्दा दायर गरी स्टे अर्डर पाएपछि काम रोकिएको छ । नेपाली सेनाले क्यान्टिन खाली गरिसकेको अवस्थामा एउटै मन्त्रालय अन्तर्गतका कार्यालय भएका कारण समस्या समाधानका लागि मन्त्रालयको ध्यानाकर्षण गरिसकिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक ठाकुरले बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडान भन्ने बित्तिकै आन्तरिक भन्दा टाढा हुनुपर्दछ, निर्देशक ठाकुरले भन्नुभयो, अहिले थप टर्मिनलका लागि डिजाइन र लागत अनुमान तयार हुँदैछ । करिब दुई महिनाभित्र सुरुवाती प्रक्रिया पूरा गरेर टेन्डर आव्हान गर्ने तयारी गरिएको निर्देशक ठाकुरले बताउनुभयो । प्रिफेब टर्मिनलका लागि सरकारले हाल एक करोड बजेट छुट्याएकोमा लागत खर्च भने इस्टिमेट आएपछि मात्रै एकिन हुनेछ ।
सबै संरचना र तयारी पूरा गर्न सकेमा अबको करिब एक वर्षभित्र नेपालगञ्ज–दिल्ली उडान सुरु हुन सक्ने निर्देशक ठाकुरले बताउनुभयो । दिल्ली उडान संवेदनशील भएका कारण भारतीय पक्षले यहाँको सुरक्षा लगायतको अध्ययन गरेर स्वीकृति दिएपछि उडानको समय निर्धारण हुन्छ । त्यस्तो स्लट पाएपछि मात्रै अन्तिम निर्णय हुने निर्देशक ठाकुरले बताउनुभयो ।

हाल नेपालगञ्जबाट रात्रीको समय मात्रै दिल्लीमा स्लट पाइएकाले समस्या सहजीकरणका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीको ध्यानाकर्षण गराइएको छ ।
अन्तर्राष्ट्रिय उडान हुनासाथ भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालयसँगै सुरक्षाको पनि चासो हुने गर्दछ । यसैगरी एक्सरे मेसिन, सीसीटीभी खरिद लगायतमा प्रक्रिया पूरा गरी खरिद गर्नसमेत समय लाग्ने हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com