पशुपति क्षेत्रका संरचनाको पुनर्निर्माणमा प्राधिकरणले सहयोग गर्ने
प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/09/D7F95053-9892-4831-97E5-B892AC327152-780x405.jpeg?fit=780%2C405&ssl=1)
भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालसहितको टोलीसँगको छलफलपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोष अन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुननिर्माण गर्नुपर्ने संरचना र प्रवलीकरण गर्नुपर्ने संरचनाको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताउनुभयो ।
उहाँले धार्मिक र पुरातात्विक सम्पदाको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर ढकालले बजेट हुँदाहुँदै पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको बताउनुभयो ।