मलेसियामा सबैभन्दा धेरै नेपाली ज्यान गुमाए
प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार
एक वर्ष भित्र वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा ज्यान गुमाउने नेपाली मध्ये सबैभन्दा धेरै मलेसियामा २ सय ८८ नेपालीले ज्यान गुमाएका छन्। कार्यक्षेत्रमा मेसिनले चेपिएर, सडक दुर्घटना, आक्रमण, महामारी तथा आत्महत्या गरी धेरै नेपालीले ज्यान गुमाएका छन्।
वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४÷७५ मा विभिन्न देशमा समेत गरी कुल ८ सय २१ नेपाली कामदारले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाइसकेका छन्। ज्यान गुमाएका ८ सय २१ कामदार मध्ये ८ सय जना पुरुष र २१ जना महिला रहेको तथ्यांकमा उल्लेख छ।
मलेसियापछि साउदी अरबमा पनि रोजगारको क्रममा मृत्यु भएका कामदारको संख्या उस्तै विकराल छ। साउदीमा २ सय ३ नेपाली कामदारले ज्यान गुमाएका छन्। कतारमा १ सय २३ नेपाली कामदारले ज्यान गुमाएका छन् भने युएइमा ९४ जना, कुबेतमा २६ जना, दक्षिण कोरियामा २२ जना, बहराइनमा ९ जना, ओमानमा ,ओमानमा ५ जना, जापानमा २ जना इजिप्ट, पोल्याण्ड, अफगानिस्थान, जर्मनी, माल्दिप्स, सिसेल्स, भियतनाम, र जोर्डनमा १÷१ जना नेपाली कामदारले ज्यान गुमाएका छन्।
वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका मध्ये अलपत्र परेका शवहरुलाई नेपाल झिकाउने व्यवस्था गर्दै आएको बताएको छ। बेवारिसे बनेका शवलाई समेत सम्बन्धित ठेगाना पत्ता लगाई ठेगानासम्म पुर्याउँदै आएको बोर्डले जनाएको छ।
वोर्डले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका परिवारका सदस्यलाई आर्थिक सहायता प्रदान गर्दै आएको जनाएको छ। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने व्यक्तिका परिवारलाई आर्थिक सहाएता स्वरुप ७ लाख नगद प्रदान गर्दै आएको छ ।
ज्यान गुमाउने तथा अंगभंग र जटिल रोगले आक्रमण गरेको व्यक्तिको छोराछोरीलाई समेत सरकारले शैक्षिक सहायता स्वरुप छात्रवृति प्रदान गर्दै आएको छ । मृतकका छोराछोरीको शैक्षिक सहायताको लागि प्राथमिक तहको शिक्षा अध्ययनको लागि वार्षिक ८ हजार र माध्यामिक तहको अध्ययनको लागि बोर्डले वार्षिक रु १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको बोर्डकी प्रवक्ता पवित्रा घिमिरेले बताइन्।
वैदेशिक रोजगारको क्रममा ज्यान गुमाउनेहरुको संख्या दिनानु दिन बढ्दै गइरहेको छ। ज्यान गुमाउनेमा पुरुषको संख्या महिलाको तुलनामा अत्याधिक छ । पैसा कमाउने र परिवार पाल्ने सपना लिएर विदेशिएका युवाहरु बाकसमा फर्किनु निकै दर्दनाक विषय बनेको छ। धेरै नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन्। तर पनि वैदेशिक रोजगारीको लागि विदेशिने नेपालीको संख्या पनि झनझन बढ्दो क्रममा छ।