दाम्लो फुकाउनेलाई दश हजार रुपैयाँ !
प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार
बाँधेका चौपायाको दाम्लो फुकाएबापत पनि रकम दिनुपर्छभन्दा अनौठो लाग्ला । तर, दुप्चेश्वर गाउँपालिका १, घ्याङफेदीस्थित चेताङमा त्यसै गरिएको छ ।
किलोमा बाँधिएका पशुचौपाया शुक्रबारदेखि खान नपाएर मर्लान् भन्ने डरले गाउँपालिकाले रकम दिएर पनि तिनीहरूलाई बचाउन त्यस्तो उपाय सुझाएको हो । दाम्लो फुकाउन गाउँपालिकाले १० हजार रुपैयाँ दिएको छ ।
दोर्जे शेर्पा र दावा शेर्पाले पालेका भैंसी र गाई फुकाउन जान सक्ने कोही नभएपछि त्यसो गरेको थियो । दुवैतिर ठूलो पहिरो र बीचमा गोठ बाँकी रहेपछि त्यहाँ गएर दाम्लो फुकाएर आउनेलाई १० हजार रुपैयाँ दिने गाउँपालिकाले घोषणा गरेको थियो । आइतबार स्थानीय २ युवाले लाङटाङ राष्ट्रिय निकुञ्जको घनाजंगलबीचको भीर गोठमा बाँधिएका ती बस्तु फुकाएका थिए ।
४ दिनदेखि भोकै ती गाईबस्तु दाम्लो फुकाएपछि वरिपरि पलाएका घाँसपात खाएर बसेका छन् । ‘पहिरोमा ढुंगा झरिरहेको छ,’ गाउँपालिका प्रमुख योविन्द्रसिंह तामाङले भने, ‘बस्तुभाउ त्यसै मर्न दिनु त भए नि ।’ शुक्रबार मात्रै दोर्जेको भैंसी ब्याएको थियो । उनले आफैं पुगेर पहिरो वारिबाट पाडो नाचेको देखेको बताए । घाँसपात गर्न गएका दोर्जे दम्पती पहिरो गएपछि बिचल्लीमा परेका थिए ।
सेनाको हेलिकप्टरले उनीहरूलाई बिहीबार साँझ मात्र उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो । तर, उनीहरूले त्यहाँ बाँधिएका भैंसी र गाईका दाम्लो फुकाएर हिँड्न बिर्सेछन् । ‘पहिरो छिचोलेर जान सक्ने अवस्था थिएन,’ तामाङले भने, ‘दाम्लो फुकाएपछि भएका घाँसपात खाएर बाँच्लान् भनेर दाम्लो फुकाउनेलाई इनामको व्यवस्था मिलाइएको हो ।’
चेताङगाउँभन्दा माथिबाट बुधबारदेखि पहिरो जान थालेको हो । पहिरो बढ्दै गएपछि स्थानीय बासिन्दाको बिचल्ली भयो । पहिरोले ११ घर बगायो । ३३ घर क्षतिमा पुगेको छ । ३४ घरपरिवारलाई डेढ घण्टाको दूरीमा रहेको घेवारडाँडामा राखिएको छ । स्थानीय प्रशासन र गाउँपालिका मिलेर १७ घर खोजेर उनीहरूलाई राखिएको हो । कान्तिपुरमा खबर छ ।