सिके राउत ‘अन्डरग्राउन्ड’


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

असोज ३ लाई ‘कालो दिन’का रुपमा मनाउने भन्दै एक महिना अघिदेखि सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेका सिके राउत भूमिगत भएका छन् । प्रहरीले तीन दिनदेखि राउतको खोजी गरे पनि भेटिएका छैनन् ।

संविधान दिवस पारेर ३ असोजमा १२ बजे धनुषा, सिरहा, महोत्तरीका युवालाई जनकपुरमा भेला गरेर संविधानविरोधी दिवस मनाउने राउतको तयारी छ । त्यही दिन २ नम्बर प्रदेश सरकार, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पनि संविधान दिवसलाई कालो दिन मनाउने भनेपछि फोरममा विवाद छ भने अन्य दल कालो दिन मनाउने तयारीमै छन् ।

२ नम्बर प्रदेशको राजधानी जनकपुरमा राउतले जनशक्ति प्रदर्शन गर्दा कतै मधेसवादी दलहरुमाथि नै आक्रमण हुन सक्छ कि भन्ने आशंका सुरक्षा निकायको छ । राउतले केन्द्रीय सरकार मात्र होइन, प्रदेश सरकार र मधेसवादी दलका नेताहरुविरुद्ध पनि आफ्नो समूह तयार पारेको छ । ‘मधेसलाई धोका दिनेहरु’ भनेर मधेसवादी नेताहरुविरुद्ध जनमत निर्माण गरिरहेका राउतको कार्यक्रम रोक्न प्रहरीलाई मधेसवादी दलहरुकै ‘गोप्य निर्देशन’ पनि छ ।

असोज ३ आउनै लाग्दा जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी प्रशासनले राउत फेला पर्न सक्ने स्थान पहिचान गरेर खोजी पनि गरेको छ तर राउत भेटिएका छैनन् । भारतीय सीमाका गाउँमा राउतले कार्यकर्तालाई फौजी तालिम दिइरहेको सूचना पनि प्रशासनमा छ ।

प्रहरीले राउतको जनकपुरमा सिके राउतको पुरानो घर भएको स्थान माछा बजार, भ्रमपुरा चोक, राउत बस्न सक्ने सम्भावित स्थानमा सुरक्षा कडा पारेको छ । राउतका कार्यकर्ताको पनि निगरानी गरिएको छ । तर राउत फेला परेका छैनन् । राउतले फेसबुकमा भने आफ्ना गतिविधि अपडेट गरिरहेको पाइएको छ । प्रहरीले सादा पोशाकमा पनि राउत र उनका कार्यकर्ता खोजी गरिरहेको छ । संविधान दिवसका दिन कुनै अप्रिय घटना नहोस् भनेर प्रहरीले आफ्नो उपस्थिति अरु बलियो बनाएको छ । ‘सकेसम्म राउतलाई नियन्त्रणमा लिने तयारीमा छौँ, गतिविधि नहोस् भनेर एलर्ट छौँ,’ एक प्रहरी अधिकृतले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com