मयूर यातायातका सय ओटा विद्युतीय बस दसैं अगावै
प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार
मयूर यातायातले काठमाडौं उपत्यकालाई दृष्टिगत गर्दैै सुविधायुक्त सय ओटा विद्युतीय बस ल्याउने भएको छ ।
मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले दसैं अगावै सय ओटा विद्युतीय बस काठमाडौं ल्याइने बताए । विद्युतीय बस चीनमा तयार भइसकेको श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिए ।
मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले दसैं अगावै सय ओटा विद्युतीय बस काठमाडौं ल्याइने बताए । विद्युतीय बस चीनमा तयार भइसकेको श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिए ।
‘विद्युतीय बससँगै त्यसका लागि आवश्यक पर्ने चार्जिङ् स्टेसन, प्राविधिक तथा दक्ष कामदारसमेत सबै पूर्वाधार पूरा भइसकेको छ,’ उनले भने, ‘चार्जिङ स्टेसनका लागि कुनै एक उपयुक्त स्थान छनोट गरी कम्तीमा १० देखि १२ ओटासम्म चार्जिङ बुथ राखिने छन् ।’ चार्ज गर्न धेरै समय नलाग्ने उनले बताए । एक पटक चार्ज गरेपछि ३०० किलोमिटरसम्म कुद्ने भएकाले दिनको दुई पटक चार्ज गर्न नपर्ने उनको भनाइ छ ।
ठूला ठूला हाइड्रोमा लगानी गर्ने साथीहरु पनि मयूरको विद्युतीय बसमा लगानी गर्न इच्छुक रहेकाले लगानीको कुनै समस्या नरहेको भन्दै उनले उक्त बसका लागि तीन अर्ब रुपैयाँको प्रोजेक्ट समेत रहेको जानकारी दिए । यस आधारमा हेर्ने हो भने प्रतिबसको मूल्य साढे दुई करोड रुपैयाँ जति पर्ने उनको अनुमान छ ।
श्रेष्ठका अनुसार ती विद्युतीय बस ल्याइएपछि कुन रुटमा सञ्चालन गर्ने भन्ने बिषयमा छलफल हुनेछ । हाल उनले यी बस चक्रपथ र बूढानीलकण्ठ रुटमा चलाउन सकिने बताए । हाल मयूर यातायातका ४४ ओटा ठूला बस सञ्चालमा छन् । केही समयपछि काठमाडौं बाहिर पनि सेवा सञ्चालन गरिने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।