तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप


प्रकाशित मिति : ३१ भदौ २०७५, आइतबार

बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक पटक बलात्कार गरेको बताएकी हुन् ।

बम्जनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन् । धर्मगुरु बम्जनको गुम्बामा उनी आनी बन्न गएकी थिइन । पत्रकार सम्मेलनमा बोल्दै ती किशोरीले २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको बताइन् ।

बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारको विषयमा पीडा लुकाउनु हुँदैन भन्ने आवाज उठे पछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको उनले बताइन् ।

‘म माथि पटक पटक गुरुले बलात्कार गर्नु भयो, यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनु भयो र मैले उजुरी हाल्न सकिनँ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com