दिलीप अपराधी होइनन् भन्दा गोली हानियो, सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो ।

आन्दोलनमा गोली लागेर घाइते भएका २० वर्षीय युवा अर्जुन भण्डारा १९ दिनदेखि बेहोस छन् । गोली लागेर अत्यधिक रक्तस्राव भएपछि उनले खुट्टा नै गुमाउनुपरेको छ । अस्पताल ल्याउन ढिला भएको र कोषहरू मरिसकेकाले चिकित्सकले खुट्टा काटेर फाल्नुपरेको उनका दाइ योगेन्द्रले बताए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियू ४०८ नम्बर बेडमा उनको उपचार भइरहेको छ । अहिलेसम्म ३० पिन्ट रगत दिइसकिएको छ ।

‘१९ दिन भइसक्यो अझै भाइको होस आएको छैन । डाक्टरले एउटा खुट्टा पनि काटे । अब त यहाँ हुन्न टिचिङ लैजाउ भनेका छन् ।

दिमागमा असर पुगेको छ भन्छन् । त्यहाँ आइसियू बेड खाली नभएकाले लान सकिएको छैन,’ दाइ योगेन्द्रले भने, ‘प्रहरीले निर्दोषलाई बलात्कारी र हत्यारा भनेर समातेको विरोध गर्दा मेरो भाइले गोली खानुपर्‍यो । अब त हत्यारा र बलात्कारी भनिएका पनि छुटे । अपराधी कहाँ छ, सरकारले खोज्न सकेको छैन ।’

भीमदत्त नगरपालिका–१ भाँसीका १६ वर्षीय उमेश देउवा पनि घाइते भएका थिए । उनको अवस्था पनि सहज भएको छैन । हात र खुट्टामा गोली लागेका उनको शिक्षण अस्पतालको ४१४ नम्बर बेडमा उपचार भइरहेको छ । उनको गोली लागेको हात चल्दैन ।

चिकित्सकले ७/८ महिना अस्पताल बस्नुपर्ने हुन सक्छ भनेको उनका बुवा यज्ञ देउवाले बताए । सरकारले उमेशको उपचार खर्च मात्र निःशुल्क गरेको, तर खाना खर्च नदिएकाले समस्या परेको उनले बताए ।,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com