छोरीको जन्मदिनमा अमेरिका निवासी विनोद शाहबाट गरिब बालिकाको शिक्षामा १० लाख सहयोग

अमेरिकाको न्युयोर्क निवासी डाक्टर विनोद शाहले आफ्नी छोरी राधिका शाहको १६ औं जन्मदिनको अवशरमा नेपालमा शिक्षाबाट वञ्चित गरिब बालिकाहरुको शिक्षाका लागि १० लाख रुपैया सहयोगको घोषणा गरेका छन् । उनले यो सहयोग आफ्नी छोरीको जन्मदिनको उपहारका रुपमा घोषणा गरेका हुन् ।

अमेरिकामा मेडिकल प्राक्टिस गरिरहनुभएका शाह अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिनमा एसिस्टेन्ट प्रोफेसर समेत हुन् । डाक्टर विनोद शाह लामो समयदेखि समाजसेवामा सकृय रहदै आएका छन् ।

को हुन् विनोद शाह ?

२०१९ सालमा धनुषाको भुतही पटेर्वा गाविसमा बुबा असर्फी शाह र आमा रामसती देवी शाहका पाचौं छोराको रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएका डा. शाहका ५ दाजुभाई र २ जना दिदीबहिनीहरु रहेका छन् ।

गाउकै स्थानीय विद्यालयमा प्राथमिक स्तरको शिक्षा हासिल गरेपछि डाक्टर शाहले जनकपुरको सरस्वती हाइस्कुलमा माध्यामिक स्तरको शिक्षा हासिल गरे । त्यसपछि आरआर क्याम्पस जनकपुरमा आइएस्सी गरेपछि शाह बिएस्सीमा अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना भए । त्यती नै बेला उनले त्रिभुवन विश्वविद्यालयको जुलोजी ल्याबमा मासिक ५१३ रुपैया तलब लिएर ६ महिना काम समेत गरे ।

त्रिचन्द्रमा भर्ना भएको केही महिनापछि नै शाह एमबीबीएस अध्ययनका लागि बंगालादेश गए । बंगालादेशको ढाकामा एमबीबीएस अध्ययन पूरा गरिसकेपछि उनले २ वर्ष पोष्ट ग्रयाजुयट तालिम र अर्थोपेडिकमा तीनवर्षे डिप्लोमा समेत गरे । बंगालादेशमा अध्ययन गर्दा शाहले रेडियो बंगालादेशमा समाचार वाचनको काम समेत गरे । बंगालादेशको पढाइ सकेर शाहले जनकपुरमा फर्केर आफ्नै क्लिनिक खोले भने अञ्चल अस्पतालमा जागिर समेत खाए ।

युवा अवस्थादेखि नै सामाजिक कार्यमा र अरुलाई सहयोग गर्नमा रुची राख्ने डाक्टर शाहले बंगालादेशमा अध्ययनकै क्रममा पनि बाढीपीडितहरुलाई सहयोग गर्न पुग्थे । त्यो बाहेक बंगालादेशमा एमबीबीएस अध्ययनका लागि पुग्ने नेपाली विद्यार्थीहरुलाई पनि उनले सक्दो सहयोग गरे । बंगालादेशमा रहेका नेपाली विद्यार्थीहरुको संगठनमा पनि काम गरे उनले । अध्ययन सकेर जनकपुरमा फर्किसकेपछि पनि उनले निशुल्क स्वास्थ्य शिविर चलाउने गर्थे । युनिसेफबाट संचालित नगर मेडिकल क्लीनिकमा पनि उनले स्वयम्सेवकका रुपमा काम गरे । नेपालमा रहदा काम गरेको क्षण सम्झदै उनी भन्छन् –“सर्लाहीमा बाढी आउदा हामीलाई उद्धारका लागि हेलिकप्टरबाट एउटा बस्तीमा झारियो । सुरुमा हामी आत्तियौं, पछि बाढीपीडितहरुलाई सकेजति सहयोग गर्यौं । ”

जनकपुरमा काम गर्दैगर्दा उनी एउटा निजी तालिमका क्रममा अमेरिकाको बोस्टनमा आए । त्यसपछिका चारवर्ष उनले बोस्टनमा रिसर्चकै क्रममा बिताए । सन् १९९९ मा न्युयोर्क आएका डाक्टर शाहले रेसिडेन्सी तालिमको कोर्स पुरा गरे । जुन तालिमपछि उनले अमेरिकाको डाक्टरको मान्यता पाए । त्यसपछि उनले पीडाको व्यवस्थापनमा फेलोसीप गरे । फेलोसीप सकेपछि उनले एकवर्ष न्युयोर्कको एउटा क्लीनिकमा जागिर पनि खाए । त्यसपछि सन् २००४ मा उनले न्युयोर्ककै अल्बर्ट आइन्स्टाइन युनिभर्सिर्टीमा एसिस्टेन्ट प्रोफेसरको जागिर पाए । युनिभर्सिटीको एउटा विभागमा निर्देशकको जिम्मा समेत पाए उनले । युनिभर्सिर्टीमा काम गर्दा गर्दै उनले सन् २००८ मा न्युयोर्कको योंकर्समा आफ्नै मेडिकल स्थापना गरे ।

अमेरिकामा आइसकेपछि अमेरिका नेपाल फ्रेन्डसीप सोसाइटी, अमेरिकामा नेपालका तराईबासीको संगठन एन्टा, एनआरएन अमेरिका, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका लगायतका संस्थाहरुमा आबद्ध रहेर सामाजिक कार्यमा क्रियाशिल डाक्टर शाहले नेपालका विद्यालयहरुमा छात्रबृत्तिका लागि सहयोग गर्ने, गाउकै सरस्वती हाइस्कुलमा कम्प्युटर ल्याब बनाउन सहयोग गर्ने जस्ता काम गरिसकेका छन् । त्यो बाहेक न्युयोर्कमा पनि सामाजिक कार्यमा उत्तिकै सकृय छन् उनी ।

सामाजिक कार्यमा लाग्दा श्रीमति सुजाता शाहको निकै सहयोग रहेको बताउने शाह भन्छन् –“उनी नभएको भए मैले केही गर्न सक्दिनथें । उनकै सहयोगले म यो स्थानमा पुगेको छु । मैले आफूलाई निकै भाग्यमानी पनि ठान्छु । ”

हुन पनि सन् १९९८ मा विहारको दरभंगामा डाक्टर विनोद शाहले सुजाता शाहसंग परम्परागत विहे गरेपछिका वर्षहरुमा शाहको जीवनमा निकै ठूलो सफलता प्राप्त भएको छ । सुजाता पनि पेशाले डेन्टिस्ट हुन् । पेशा मिल्दोजुल्दो भएकाले पनि शाहलाई श्रीमतिको सहयोग लिन सजिलो भयो । श्रीमतिको सहयोगबाट उनले सामाजिक कार्यमा समय निकाल्न भ्याइरहेका छन् । उनी भन्छन् –“ म केही पाउनका लागि सामाजिक सेवामा लागेको होइन, म त केवल सेवक मात्र हुं । ”

१८ बर्षका छोरा प्रशन्न शाह र १६ वर्षकी छोरी एलिशा राधिका शाहका पिता विनोद शाहले भविश्यमा नेपालमा गएर शिक्षा र स्वास्थयको क्षेत्रमा कृयाशिल हुने योजना बनाएका छन् । उनी भन्छन् –“कसैले पनि सामाजिक सेवा गर्ने हो भने इमान्दारिताका साथ गर्नुपर्छ । प्रलोभन नराखी मानवीयताको सम्मान गर्दै समाजसेवा गर्नु नै महानता हो । ”

शनिबार, भदौ २३, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री